सिट बाँडफाँटमा असन्तुष्टि जनाउँदै कांग्रेस जिल्ला उपसभापति भन्छन्- जहाँ अन्याय, त्यहाँ विद्रोह – Nepal Press

सिट बाँडफाँटमा असन्तुष्टि जनाउँदै कांग्रेस जिल्ला उपसभापति भन्छन्- जहाँ अन्याय, त्यहाँ विद्रोह

कैलाली । सिट बाँडफाँटका विषयमा सत्ता गठबन्धन साझेदार दलहरूबीच केन्द्रमा समस्या सुल्झिँदै जाँदा जिल्लामा विवाद बल्झिँदै गइरहेको छ । सत्ता गठबन्धनको सिट बाँडफाँटले सबैभन्दा धेरै विवाद नेपाली कांग्रेसभित्रै देखिएको छ । कैलाली क्षेत्र नम्बर ३ नेपाली काँग्रेसको भागमा पार्न प्रधानमन्त्री तथा पार्टी सभापति शेर बहादुर देउवासम्म पुगेका कांग्रेस जिल्ला उपसभापति भीम बडूवालले विद्रोहको सङ्केत दिएका छन् ।

आफू जिल्ला उपसभापति भएको र आफ्नै क्षेत्रको विषयमा निर्णय गर्दा पनि नेतृत्वले चासो नदिएको भन्दै सामाजिक सञ्जालमा गुनासो गरेका छन् । उनले आफू अपमानित भएको समेत त्यसमा उल्लेख गरेका छन् ।

‘म जिल्लाको उपसभापति हु नेपाली काँग्रेस कैलालीको । मलाइ जिल्ला भरिको निर्णय गर्दा सोधेन ठिकै छ, हाम्रो नेतृत्वले । तर मेरो क्षेत्र नम्बर ३ को बारेमा पनि एक पटक सोधेको छैन के गर्ने ? कसरी गर्ने ? कोलाई दिने भनेर’ उनले लेखेका छन्, ‘यो त सारै अपमानजनक कुरो हो । ’

उनले आफ्नो क्षेत्रका देखिएको केन्द्रीयताको समेत खुलेर विरोध गरेका छन् । उनले अन्याय भए विद्रोह गर्नेसमेत चेतावनी दिएका छन् । ‘हामीले रातदिन दुःख गरेर, रगत पसिना बगाएर संगठन गर्नुपर्ने तर निर्णय गर्दा माथिकै आदेशमा हुने हो, अदृश्य शक्तिलै नै गर्ने हो भने यो ज्यादती हो कि होइन ? यो अन्याय हो कि होइन ? यो आखिर के हो । मैले मेरा क्षेत्रका साथीहरूलाई के जवाफ दिऊ एउटा कुरो बुझिराख्नुस्’, उनले भनेका छन्, ‘जहाँ अन्याय हुन्छ त्यहाँ विद्रोह हुन्छ ।’

जिल्ला उपसभापति बडूवाल प्रतिनिधि सभातर्फ क्षेत्र नम्बर ३ बाट सिफारिसमा परेका थिए । उनीसहित अर्का उपसभापति खेम चौधरी र गोविन्द राज जोशीको नाम सिफारिस भएको छ । तर, अहिले यो क्षेत्र नेपाली कांग्रेसले पाउने सम्भावना कम भएको छ । यहाँ माओवादी केन्द्रलाई दिन सत्ता गठबन्धनका दलहरू सहमति भइसकेका छन् । अघिल्लो पटक तत्कालीन माओवादी केन्द्रका तर्फबाट उम्मेदवार बनेका गौरीशङ्कर चौधरीले नेपाली कांग्रेसका उम्मेदवार राम जनम चौधरीलाई ४ हजार बढी मतले हराएका थिए । अहिले गौरीशङ्कर चौधरी एमालेमा छन् । उनी क्षेत्र नम्बर ३ मा एमालेको तर्फबाट उम्मेदवार बनेका छन् । कैलाली क्षेत्र नम्बर ३ र २ माओवादी केन्द्रले पाउँदा १,४ र ५ नेपाली कांग्रेसले पाउने भएको छ । कैलालीका ३ क्षेत्र पाउँदा पनि आफ्नो क्षेत्रमा काँग्रेसको सम्भावना रहेको तर, आफूहरूसँग समन्वय नभएको भन्दै बडूवालले विद्रोहको सङ्केत गरेका हुन् । उनले कस्तो विद्रोह भन्ने बारे भने खुलाएका छैनन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर