खगराजले छाडे मुख्यमन्त्रीको दाबी, पृथ्वी सुब्बालाई सहज – Nepal Press

खगराजले छाडे मुख्यमन्त्रीको दाबी, पृथ्वी सुब्बालाई सहज

पोखरा । नेकपा एमालेका नेताद्वय पृथ्वी सुब्बा गुरुङ र खगराज अधिकारीबीच पार्टीमा जिम्मेवारीका विषयमा प्रतिस्पर्धा देखिन्छ ।

‘प्रतिष्ठाको लडाइँ’ लड्ने यी दुई नेताको भिडन्त एमाले महाधिवेशनअघि जिल्ला अधिवेशनका बेला पनि सतहमा आएको थियो ।

केन्द्रीय निर्णय अनुसार सर्वसम्मति गर्नुपर्नेमा गुरुङ र अधिकारीको टकराबले कास्की जिल्ला अध्यक्षका लागि चुनाव नै गरिएको थियो । गुरुङले सिफारिस गरेका मानबहादुर गुरुङलाई अधिकारीले नस्विकारेपछि दामोदर वैरागीलाई अघि सारेका थिए । दुवै पक्षले एक अर्कालाई नस्विकारेपछि कास्की एमालेले चुनाव गरेको थियो । चुनावमा मनबहादुर गुरुङले दामोदरलाई हराए ।

गुरुङ र अधिकारीको टकराब पोखरा महानगरपालिकाको मेयर उम्मेदवार सिफारिसका क्रममा समेत देखिएको थियो । पोखराका पूर्व मेयर समेत रहिसकेका कृष्ण थापालाई पृथ्वी सुब्बाले नस्विकारेपछि दीपक पौडेललाई मेयर उम्मेदवार बनाउन लागि परेका थिए । खगराज अधिकारीले सर्वसम्मत रूपमा कृष्ण थापालाई मेयर उम्मेदवार बनाउन चाहे पनि त्यसमा पृथ्वी सुब्बाले भाँजो हालेका थिए ।

त्यसअघि नै पृथ्वी सुब्बाले प्रदेश सरकारको बागडोर सम्हाल्दा खगराजले पटक पटक कृष्ण थापालाई मन्त्री बनाउन आग्रह गरेका थिए । तर गुरुङले साढे ३ वर्षको कार्यकालमा थापालाई मन्त्री बनाएनन् ।

यी दुई नेताबीच प्रदेश सरकार बनाए को मुख्यमन्त्री बन्ने भन्ने प्रतिस्पर्धा थियो । पार्टीमा एक अर्काका प्रतिस्पर्धी यी दुई नेता आगामी चुनाव पछि को मुख्यमन्त्री भन्ने चर्चा पोखरामा केही महिनायता तातिएको थियो ।

गुरुङ र अधिकारी दुवैको नाम प्रदेश सभाका लागि सिफारिस भएको छ । गुरुङको नाम लमजुङ प्रदेश सभा ‘ख’ बाट सिफारिस भएको छ भने अधिकारीको नाम कास्की प्रदेश सभा क्षेत्र १ ‘क’ बाट सिफारिस भएको छ ।

तर अधिकारीले भने चुनावमा आफू संघमा उठ्ने र प्रदेशमा लड्न कुनै इच्छा नभएको स्पष्ट पारेका छन् । यसले पार्टी उपमहासचिव गुरुङलाई चुनाव जितेर पार्टीले सरकार बनाए मुख्यमन्त्री बन्ने बाटो खुला भएको छ ।

पार्टीबाट मुख्यमन्त्रीका अर्का दाबेदार अधिकारीले प्रदेशमा नलड्ने घोषणा गरेपछि गुरुङलाई केही सहज भएको हो ।

‘म केन्द्रीय राजनीतिमै खुसी छु । म के भन्छु भने पिएस (पृथ्वी सुब्बा) प्रदेशमा उठ्नुहुन्छ भने म प्रदेशमा उठ्दिनँ,’ उनले भने ।

आफ्नो नाम प्रदेश सभामा सिफारिस हुनु पनि शुभचिन्तकको काम रहेको र आफ्नै इच्छाले सिफारिस नभएको उनको प्रस्टोक्ति छ ।

‘नाम त मैले दिएको होइन । म जापान थिएँ, साथीहरुले प्रदेशमा पनि नाम टिपाइदिनुभएछ,’ उनेले थपे ।

अधिकारी भने गुरुङसँग प्रतिस्पर्धालाई हल्लाको संज्ञा दिन्छन् । पार्टीका काममा सल्लाह गरेर नै आफूहरु अघि बढ्ने गरेको उनले बताए । तत्कालिन नेकपाको गण्डकी इन्चार्जमा गुरुङलाई चयन गर्न आफू स्वयं पार्टी अध्यक्ष केपी ओलीकहाँ गएको उनको दाबी छ ।

‘न उहाँले केही भन्नुभएको छ, न मैले केही भनेको छु । हामीबीच समस्यारहित मित्रता रहँदा पनि यति दरार कसरी जोडियो ? यो जोड्नेले नै जानुन्,’ उनले भने ।

ठूला विषयमा सल्लाह हुने गरेको र गुरुङले मुख्यमन्त्री हुँदा नियुक्ति दिने बेला पनि आफूसँग सोध्ने गरेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर