प्रचण्डका लागि चितवन- ३ भन्दा गोरखा- २ जोखिममुक्त क्षेत्र – Nepal Press

प्रचण्डका लागि चितवन- ३ भन्दा गोरखा- २ जोखिममुक्त क्षेत्र

गोरखाका माओवादी नेता भन्छन्- उहाँ आउँदा फाइदाजनक छ, जुन क्षेत्रबाट उठे पनि जिताउँछौं

काठमाडौं । सत्ता गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड के गोरखाबाट चुनाव लड्दैछन् ? पार्टीभित्रै नेताहरु अन्योलमा देखिएका छन् । डा.बाबुराम भट्टराईले चुनाव नलड्ने मनस्थिति बनाएसँगै गोरखा- २ मा प्रचण्डको चर्चा चलेको छ ।

नेपाली कांग्रेसका नेताहरुले गोरखा- २ मा प्रचण्ड आउने चर्चा चलाएपछि माओवादी पंक्ति पनि तरंगित भएको छ । केही समयअघि गोरखा पुगेर आफू चितवन- ३ मै निर्वाचन लड्ने बताएका थिए ।

पार्टीका स्थानीय समितिहरूले गोरखाबाट आफ्नो नाम सिफारिस गरेपछिको प्रतिक्रियास्वरुप प्रचण्डको यस्तो अभिव्यक्ति आएको थियो ।

स्थानीय तह निर्वाचनअघि अध्यक्ष प्रचण्ड चितवन छाडेर अन्यत्र सुरक्षित सीट खोजिरहेका थिए भन्नेहरुलाई गोरखामा स्थानीय तह निर्वाचनले माओवादीलाई दिएको सफलतासँगै प्रचण्डको चर्चा चलेको थियो ।

गठबन्धनको बैशाखी नटेकी चितवनमा जित्ने स्थिति नदेखेका उनका लागि स्थानीय निर्वाचनले भने साहस भर्ने काम गरेको थियो ।

चितवनमा स्थानीय निर्वाचनमा गठबन्धन सफल भएपछि संसदीय निर्वाचनमा झन् सहज हुने उनको अनुमान थियो । त्यही कारण गोरखा पुगेर फेरि चितवन- ३ मा नै लड्ने अभिव्यक्ति दिएका थिए ।

पछिल्ला केही दिनयता स्थिति फेरिएको छ । गठबन्धनको बलियो सहयात्री कांग्रेसभित्रको विवादले आकार लिँदै गएको छ । जसको असर आफूतिर नै सोझिन थालेपछि प्रचण्ड स्वयंले चितवन- ३ को विकल्प खोज्न थालेको चर्चा चले पनि माओवादी चितवनका अध्यक्ष आरसी अधिकारीले भने अध्यक्षले चितवनबाटै चुनाव लड्ने बताएका छन् ।

यद्यपि गोरखा- २ प्रचण्डलाई नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नै सहज पारिदिएका छन् । भट्टराई आफैंले प्रत्यक्ष नलड्ने मनस्थितिमा पुगेको बताएपछि उनको रिक्त सीट गोरखा- २ मा प्रचण्ड लड्नुपर्ने माग स्थानीय कार्यकर्ताले गर्न थालेका छन् ।

अध्यक्ष प्रचण्ड हार्न नहुने त्यसका लागि एक्लै लड्दा पनि सुरक्षित हुने सीटमा नै लड्नुपर्ने कार्यकर्ताको जोडबल छ । यस्तै सहज जीत हुने सीटमा नै लड्दा अध्यक्षले देशभरका निर्वाचनमा सहभागी हुन पाउने भन्दै गोरखा- २ मा नै लड्नुपर्ने कार्यकर्ताको तर्क छ ।

प्रचण्डले चितवन नछाड्ने भने पनि गोरखा- २ चितवनभन्दा धेरै सहज मानिएको छ उनको जीतका लागि । माओवादी एक्लै जित्ने सो क्षेत्रमा बाबुराम समेत थपिएपछि कांग्रेसको समर्थन नै नभए पनि प्रचण्ड सहज जित्ने अवस्था छन् ।

त्यसो त चितवनको जनमत स्वीङ हुनसक्ने खालको छ । स्वतन्त्र उम्मेदवारहरु तथा एमाले राप्रपा फ्याक्टरका साथै कांग्रेसकै भुईंकटहर समूहसमेत सक्रिय रहेकाले चितवनभन्दा गोरखा प्रचण्डका लागि जोखिममुक्त क्षेत्र रहेको नेताहरु बताउँछन् ।

चितवन- ३ र गोरखा- २ कुन सुरक्षित ?

प्रचण्डको पुरानो क्षेत्र चितवन- ३ मा माओवादी केन्द्र एक्लै जित्नसक्ने देखिन्न । यहाँ उनी २०७४ को निर्वाचनमा एमालेसँगको गठबन्धनबाट जितेका थिए । उतिबेला उनले ४८ हजार २७६ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेससँगको तालमेलमा लडेका राप्रपाका विक्रम पाण्डेले ३८ हजार ९३५ मत ल्याएका थिए ।

यो निर्वाचन क्षेत्रमा भरतपुर महानगरपालिकाका वडा नम्बर ६, ८, ९, १३, १४, १५, १६, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७ र २८ गरी १९ वडा र सिंगो माडी नगरपालिका समावेश छ ।

गएको स्थानीय तह निर्वाचनमा पाँचदलीय गठबन्धनबाट प्रचण्डपुत्री रेनु दाहाल भरतपुर महानगरकी मेयरमा पुनः निर्वाचित भएकी छन् । यद्यपि उनको जीत गठबन्धनकै भरमा सम्भव देखिएको वडागत नतिजाले पनि देखाउँछ ।

प्रचण्डको निर्वाचन क्षेत्रमा पर्ने भरतपुर महानगरका १९ वडामध्ये सबैभन्दा बढी १० वडा कांग्रेसले जितेको छ । यस्तै एमाले र माओवादी केन्द्रले ३/३ वडा जितेका छन् भने नेकपा एसले २ वटा र १ वटा स्वतन्त्र उम्मेदवारले जितेका छन् ।

यस्तै माडी नगरपालिकामा राप्रपा र एमालेको गठबन्धनबाट एमालेले मेयर जितेको छ । उपमेयर भने कांग्रेसले जितेको छ । वडागत नतिजामा माओवादी केन्द्रले ४, राप्रपा र नेकपा एसले २/२ तथा एमालेले एउटा जितेको छ ।

योसँगै प्रचण्डको यो निर्वाचन क्षेत्रका २८ वडामध्ये सबैभन्दा बढी १० वडा कांग्रेस, ७ वडा माओवादी केन्द्र, नेकपा एमाले र नेकपा एस ४/४ वडा, राप्रपा २ र स्वतन्त्र १ वडा जितेका छन् ।

वडाध्यक्षका उम्मेदवारहरूले पाएको मतमा एमाले पहिलो देखिन्छ । उसका वडाध्यक्षका उम्मेदवारहरूले कुल २९ हजार ७७१ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवारहरूले २९ हजार ३४३ मत प्राप्त गरेका छन् ।

माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारहरूले जम्मा १० हजार ९४० मतमात्रै प्राप्त गरेका छन् भने राप्रपाका उम्मेदवारहरूले ६ हजार १९८ मत पाएका छन् ।

नेकपा एसका वडाध्यक्ष उम्मेदवारहरूले यो क्षेत्रमा ५ हजार ३७ मत पाएका छन् भने जसपाले ७२ मत बटुलेको छ । वडामा गठबन्धनका साझा उम्मेदवार भएकाले एमालेको मत बढी देखिएको हो ।

सत्तारूढ गठबन्धनले सरासर मत दिए यहाँ प्रचण्डको जीत सुरक्षित देखिन्छ । तर, कांग्रेसका आधा मतदाताले नै मत नदिने हो भने प्रचण्डका लागि यो चुनाव घातक बन्नसक्छ ।

कांग्रेसभित्रकै समीकरणअनुसार पनि यहाँ शेखर-गगन समूह नै बलियो छ । अहिले कांग्रेसभित्रको विवाद बढ्दै जाँदा यो समूहले गठबन्धनलाई भोट नदिने रणनीति अख्तियार गर्ने खतरा बढेको छ ।

आफ्नो समूहले पाउने सीट गठबन्धनकै कारण गुमेको र अन्यायमा परेको सो समूहको बुझाइ छ । यस समूहका युवा नेता गुरुराज घिमिरेले आफूमाथि न्याय नभए प्रचण्डसँगै निर्वाचन लड्ने उद्घोष नै गरिसकेका छन् ।

उता चितवन- ३ का तुलनामा गोरखा- २ मा माओवादी केन्द्र निकै बलियो छ । यहाँ वडागत मतमा माओवादी केन्द्र २२ हजार २५० मतसहित पहिलो छ ।

दोस्रोमा गठबन्धनकै दल कांग्रेस छ । जसको २१ हजार १३६ मत छ भने बाबुराम भट्टराईको पार्टीसँग ७ हजार ५०४ मत छ । यहाँ कांग्रेसका आधा भोट नपाए पनि प्रचण्डले सहज जीत निकाल्नसक्ने आँकडा छ । विपक्षमा रहेको एमालेसँग ७ हजार ९२६ र राप्रपासँग ८७८ मतमात्रै छ ।

यो निर्वाचन क्षेत्रमा पालुङटार नगरपालिकाका १०, सिराञ्चोक गाउँपालिकाका ८, अजिरकोट गाउँपालिकाका ५, बारपाक सुलिकोट गाउँपालिकाका ८ वटा वडा र गोरखा नगरपालिकाका वडा नम्बर ८, ९, १०, ११, १२, १३ र १४ गरी ७ वडा समावेश छन् ।

यो क्षेत्रमा स्थानीय निर्वाचनमा माओवादी केन्द्र जबरजस्त रुपमा हावी देखिएको छ । यो क्षेत्रमा समेटिएका पालुङटार नगरपालिका, अजिरकोट गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका र गोरखा नगरपालिकामा उसले जीत निकाल्दा सिराञ्चोक गाउँपालिकामा मात्रै कांग्रेस जितेको छ ।

३८ वटा वडामध्ये १८ वटा माओवादी केन्द्रले जित्दा कांग्रेसले १७ वटा जितेको छ । बाँकी ३ वटा वडा जसपाले जितेको छ । जसपाको त्यो शक्ति भनेको बाबुरामसँगै माओवादीमा विलय भइसकेको छ । त्यसैले यहाँ प्रचण्ड जानसक्ने सम्भावना बढेको माओवादी केन्द्र स्रोत बताउँछ ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा नेसपाका अध्यक्ष भट्टराई तत्कालीन नयाँ शक्ति पार्टीबाट लड्दा कांग्रेसको साथ पाएर ३१ हजार ८०७ मतसहित विजयी भएका थिए । वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ २४ हजार ९३३ मतमा रोकिएका थिए । श्रेष्ठ अहिले राष्ट्रियसभा सदस्य रहेकाले प्रचण्डका लागि गोरखा यात्रा सहज देखिएको छ ।

गोरखा १ कांग्रेसले पाउँदा यो क्षेत्रबाट कांग्रेसका राजेन्द्र बजगाईं उम्मेदवार हुने लगभग निश्चित छ । यसअघि प्रदेशसभामा लडेका बजगाईं लगभग निर्विकल्प उम्मेदवार हुन् । यद्यपि २०४८ सालदेखि लगातार प्रत्यक्ष वा समानुपातिकमा निरन्तर अवसर पाइरहेका नेता चीनकाजी श्रेष्ठले पनि चाहना राख्न सक्छन् । तर, बजगाई हुँदा प्रचण्डका लागि थप सहज हुनेछ ।

गोरखामा माओवादी र कांग्रेस पहिलो तथा दोस्रो शक्ति हुन् । तेस्रो शक्तिमा एमाले र बाबुराम रहेकोमा बाबुराम प्रचण्डका सारथी भएपछि गोरखा २ उनका लागि ढुक्कको क्षेत्र हुने नेताहरुले देखेका छन् ।

प्रचण्डलाई  बोलाउँदैछन् गोरखाका माओवादी

यसैबीच गोरखा माओवादीले प्रचण्डलाई बोलाइरहेको छ । यसअघि जिल्लाबाट सर्वसम्मत नाम सिफारिस गरेका नेताहरुले प्रचण्ड गोरखा आउँदा पार्टीलाई पनि फाइदा हुने र सुरक्षित पनि रहने बताएका छन् ।

गण्डकी प्रदेश सांसदसमेत रहेका गोरखाका नेता लेखबहादुर थापाले गोरखा १ वा २ जहाँबाट पनि लडे पनि प्रचण्डलाई जिताउन आफूहरु तत्पर रहेको बताए ।

उनले भने, ‘हामीले गोरखामा आउनुहोस् भनेर उहाँलाई भनेका हौं । चितवन- ३ छाडेर अरु कतै जानुपरे गोरखा आउनु हाम्रा लागि पनि फाइदाजनक नै हुन्छ । गोरखाको माग पनि उहाँ नै हो । तर, कहाँबाट लड्नुहुन्छ, हामीलाई जानकारी गराउनुभएको छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर