बाटो काट्दै गर्दा योजना आयोग उपाध्यक्ष चढेको गाडीले ठक्कर दिँदा एक घाइते, उल्टै झपारेर बाटैमा छोडे – Nepal Press

बाटो काट्दै गर्दा योजना आयोग उपाध्यक्ष चढेको गाडीले ठक्कर दिँदा एक घाइते, उल्टै झपारेर बाटैमा छोडे

रुपन्देही । लुम्बिनी प्रदेश योजना आयोग उपाध्यक्ष वामदेव क्षेत्री चढेको सरकारी गाडीले राजमार्गमा रहेको जेब्रा क्रसिङमा सर्वसाधारणलाई ठक्कर दिएर अलपत्र छोडेको छ ।

क्षेत्री चढेको बा२ झ ३०८५ नम्बरको गाडीले शुक्रबार दिउसो बुटवल भैरहवाको सिद्धार्थ राजमार्गको ड्राइभरटोलस्थित जेब्रा क्रसिङमा तिलोत्तमा ५ का छविलाल अधिकारीलाई ठक्कर दिएर घाइते बनाएको थियो । ठक्करबाट अधिकारी घाइते भएपछि उपचार गर्न लैजानुको साटो क्षेत्री आफैंले गाडीबाट झरेर आफूलाई भैरहवा जान हतार भएको भन्दै झपारेको पीडित अधिकारीले गुनासो गरे । रातो बत्ति बलेपछि पैदलयात्री हिँड्ने बाटोबाट आफू हिँडेको तर उक्त गाडी अर्को लेनको साइडबाट आएर ठक्कर दिएको अधिकारीको भनाइ छ । उनको अहिले क्रिमसन अस्पतालमा उपचार भइरहेको छ । उनका आफन्तको अनुसार पैदलयात्रुको ग्रिनसिग्नल देखिएपछि बाटो काटेको अवस्थामा सो गाडीले ठक्कर दिएको र उल्टै आफू सरकारी मान्छे भएकाले उपचार गरेर बिल ल्याउन भन्दै थर्काएको गुनासो गरेका छन् । अधिकारीको ढाड तथा शरिरका विभिन्न स्थानमा चोट लागेको छ ।

क्षेत्रीको दबाबमा प्रहरीले सीसीटिभी फुटेजसमेत देखाउन नमानेको र उपचार पनि नगरेको अधिकारीले बताए । नयाँमिलस्थित प्रहरीले फुटेज देखाउने आदेश नभएको जनाएको छ । योजना आयोगका उपाध्यक्ष क्षेत्रीले भने घटना सामान्य भएको, घटनापछि उपचारका लागि स्थानीयलाई जिम्मा लगाएको र आफू काममा भएकाले हिँडेको दाबी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर