नेपालको निर्यात सम्भावना वार्षिक १० खर्ब : विश्व बैंक – Nepal Press

नेपालको निर्यात सम्भावना वार्षिक १० खर्ब : विश्व बैंक

काठमाडौं । विश्व बैंकले नेपालको वार्षिक निर्यात क्षमता १० खर्ब रहेको बताएको छ । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा विश्व बैंकका वरिष्ठ अर्थशास्त्री गोन्जालो भरेलाले निर्यात सम्भावना वार्षिक १० खर्ब रहेको बताए ।

नेपालले हालको भन्दा आठ गुणा बढी निर्यात गर्न सक्ने सम्भावना रहे पनि त्यसलाई सदुपयोग गर्न नसकेको उनको भनाई छ ।

नेपालसँग ९.२ अर्ब डलर निर्यात गर्न सक्ने क्षमता रहेको समेत उनले बताए ।

नेपाली उद्योग व्यवसायले तीव्र निर्यात मार्फत लाभ लिन सकेको पाइँदैन । न्यून परिणामको निर्यात, सीमित देशहरूमा मात्र केन्द्रित र छोटो समयको निर्यात र न्यून बाह्य लगानी नै नेपालको मुख्य चुनौतीको रूपमा देखिएको छ ।

महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्र विप्रेषण रुपी एउटा मात्र इन्जिनबाट चलेकाले सावधानी पूर्वक समग्र निर्यात प्रवर्द्धनमा काम गर्नुपर्नेमा जोड दिए ।

‘हामीले हाम्रै स्रोतमा आधारित वस्तुहरू निर्यात गर्ने क्षमता राख्नु पर्छ । यसमा सरकारलाई निजी क्षेत्रले दिएका सुझावहरुको कार्यान्वयनमा विशेष ध्यान दिनुपर्नेमा हाम्रो जोड छ,’ गोल्छाले भने ।

उद्योग सचिव डा. तोयानारायण ज्ञवालीले मुलुकभित्र भित्रिएको विप्रेषणलाई हामीले देशभित्रै बचाएर राख्न नसकेको यथार्थता राख्दै यसका लागि थुप्रै काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *