दसैंमा यात्रुलाई दुर्घटनाको भय- बर्सेनि जान्छ सयभन्दा बढीको ज्यान – Nepal Press

दसैंमा यात्रुलाई दुर्घटनाको भय- बर्सेनि जान्छ सयभन्दा बढीको ज्यान

काठमाडौं । जब दसैं सुरु हुन्छ, सवारी दुर्घटनामा परेका खबर जताततैबाट आउँछ । दुर्घटनामा पर्नेमध्ये कतिको मृत्यु हुन्छ, कति अंगभङ्ग हुन्छन् । यो वर्ष पनि दसैं सुरु हुनुअगावै केही ठूला सवारी दुर्घटना भए ।

मकवानपुरको भीमफेदीमा ७ जना र पूर्वी रुकुमको भूमेमा भएको बस दुर्घटनामा पाँच जनाको ज्यान गयो । दसैं सुरु भएयता सल्यानमा भएको बस दुर्घटनामा ७ जनाले ज्यान गुमाए ।

हरेक वर्ष घटस्थापनादेखि पूर्णिमासम्म हुने सडक तथा सवारी दुर्घटना र त्यसमा ज्यान गुमाउनेको संख्या डरलाग्दो छ ।
गत वर्षमात्रै दसैंको अवधिमा ९६७ वटा सवारी दुर्घटना भए । जसमा १७३ जनाले ज्यान गुमाएका थिए । एक हजार ५९८ जना घाइते भएको प्रहरीको केन्द्रीय तथ्यांकले देखाउँछ ।

गत वर्ष बस दुर्घटनाका ११२ घटना भएका थिए । यस्तै १८ वटा माइक्रोबस, ३५५ वटा जीप तथा कार र ८१२ वटा मोटरसाइकलसमेत दुर्घटनामा परेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

२०७७ सालको दसैं (घटस्थापनादेखि पूर्णिमासम्म)मा देशभर भएको सडक तथा सवारी दुर्घटनामा ११४ जनाले ज्यान गुमाएका थिए । त्यो समयमा बस ४६, जीप तथा कार ३०१ र मोटरसाइकल ७९४ वटा सवारी दुर्घटनामा परेका थिए। ती दुर्घटनामा एक हजार २३६ जना घाइते भएका थिए ।

प्रहरीका अनुसार २०७३ सालमा १०१ को मृत्यु र ६४५ जना घाइते भएका थिए । २०७४ मा १०४ जनाको मृत्यु र ५२२ जना घाइते हुँदा २०७५ सालमा १२९ को मृत्यु र ८५७ जना घाइते भएका थिए ।

त्यस्तै २०७६ सालमा १११ को मृत्यु र एक हजार १० जना घाइते भएको प्रहरीका केन्द्रीय प्रवक्ता टेकप्रसाद राईले जानकारी दिए । दसैंमा सडक दुर्घटना हुनुपछाडि मुख्य दुईवटा कारण भएको उनी बताउँछन्।

‘पहिलो, सडकको अवस्था हो । पहाडी क्षेत्रमा हुने दुर्घटनाको प्रमुख कारण यही हो । दोस्रो, चालकको लापरबाही हो । चालकले मापसे गरेर र तीव्र गतिमा सवारी चलाउने कारण पनि दुर्घटना भएको देखिन्छ’, उनी भन्छन् ।

उनले सीट क्षमताभन्दा बढी यात्रु बोक्दा पनि दुर्घटना हुने गरेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर