एमालेमा ‘माफीनामा’ को हल्ला- के भन्छन् १० बुँदे पक्षधर नेताहरू र महासचिव ? – Nepal Press

एमालेमा ‘माफीनामा’ को हल्ला- के भन्छन् १० बुँदे पक्षधर नेताहरू र महासचिव ?

काठमाडौं । गठबन्धनमा सीट बाँडफाँट र कांग्रेसमा टिकट सुनिश्चितताको विवाद चर्किरहेका बेला प्रमुख विपक्षी नेकपा एमालेमा समेत टिकटका लागि सर्त अघि सारिएको चर्चासँगै कार्यकर्ता पंक्ति तरंगित भएका छन् । वामदेव गौतम र बाबुराम भट्टराईसहित सातदलीय गठबन्धनसँग एक्लै चुनाव सामना गर्न लागेको एमालेले विगतको १० बुँदे पक्षधरलाई सर्तसहितमात्र टिकट दिन खोजेको हो ?

अध्यक्ष केपी शर्मा ओली १० बुँदे पक्षधर नेताहरूलाई टिकट लिने हो भने विगतमा संसदमा अनुपस्थित भएर सरकार ढालेको र सर्वोच्चमा मुद्दा दायर गरेकोमा माफी माग्नुपर्ने सर्त राखेको भनेर आइरहेका हल्लाबारे १० बुँदे पक्षधर नेता र महासचिव शंकर पोखरेलले समेत अनविज्ञता जाहेर गरेका छन् ।

के ओलीले १० बुँदे पक्षधर नेताहरूसँग सर्त राखेका हुन् ? नेपाल प्रेसले १० बुँदे सहमति गर्दा तत्कालीन माधव नेपाल पक्षका संयोजक डा. भीम रावलदेखि १० बुँदेबाटै एमालेमा रहेका योगेश भट्टराई, झपट रावल, यज्ञराज सुनुवारसहितलाई प्रश्न गर्दा उनीहरूले अहिले चलिरहेका चर्चालाई ‘प्रायोजित र कृतिम’ भनेका छन् । महासचिव पोखरेलले समेत निराधार अफवाह फैलाइएको टिप्पणी गरेका छन् ।

भीम रावल, जयकुमार राईको नाम एकल सिफारिसमा परिसकेको छ । १० बुँदे पक्षधरकै नेता रघुजी पन्त बन्दसूचीको प्राथमिकतामा छन् । अध्यक्ष ओलीले प्रत्यक्षमा धपेडी पर्नसक्ने भन्दै समानुपातिकमार्फत सुनिश्चित गरेको स्रोतको भनाइ छ ।

एमालेका एक नेता भन्छन्, ‘यदि रोक्ने छेक्ने नै हो भने तलबाट सिफारिस हुँदादेखि नै अवरोध हुन्थ्यो नि । चुनावका बेला अनेक फण्डा झिकेर खेल्ने षड्यन्त्र भइरहेको छ । यसलाई परास्त गर्न एमाले एकजुट छ ।’

१० बुँदेको पृष्ठभूमि

तत्कालीन नेकपाको विभाजनका बेला माधव नेपाल पक्षमा रहेका र एमाले पुनर्स्थापनापछि पनि नेपालसँगै जोडिएका नेताहरूमध्ये २० जना सांसद तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने बेला अनुपस्थित भएका थिए ।

त्यसपछि दोस्रो विघटनका बेला योगेश भट्टराई, गोकर्ण विष्ट, पवित्रा निरौला खरेल, जयकुमार राई, राजबहादुर बुढाबाहेक अन्य सांसद अदालत गएका थिए । तर, पार्टी विभाजन हुन नदिन भीम रावल र घनश्याम भुसालले १० बुँदेमार्फत माधव नेपाललाई पनि एमालेमा राख्न खोजेकोमा नेपालले पार्टी विभाजन गर्ने भएपछि नेपाललाई साथ दिएका १० जना स्थायी कमिटीसहित देशभरको मूल पंक्ति एमालेमै बसेको थियो ।

त्यस समूहका सांसदहरूमध्ये योगेश भट्टराई,पवित्रा निरौला खरेल, जयकुमार राई, राजबहादुर बुढा, ध्रुवकुमार शाही एमाले पुनर्स्थापनासँगै संस्थापनसँग नजिकिएका थिए । सुरूमा समानान्तर कमिटी बनाएको सो समूहमा माधव नेपालको नियत पार्टी फुटाउने देखिएपछि विभाजन आएको थियो र रावलसहितका नेताहरूले पार्टी जोगाउन दश बुँदे गरेका थिए ।

माफीनामाको हल्लाबारे के भन्छन् १० बुँदे पक्षधर नेताहरू ?

म पार्टी काममै छु, कसैले शर्त राखेको छैन

डा. भीम रावल

म अहिले गृहजिल्ला अछाममा पार्टीका विभिन्न कार्यक्रममा सहभागी भएर प्रदेश राजधानी धनगढीमा आइपुगेको छु । यसबीचमा मेरो अध्यक्ष र महासचिवलगायत कोही पनि नेताहरूसँग कुरा भएको छैन । मलाई कसैले टिकटको बारेमा केही भनेको पनि छैन । जिल्लाबाट सर्वसम्मत नाम सिफारिस भएको छ तर टिकटको निर्णय पार्टीले गर्ने हो भनेको छु । अहिले जे-जस्ता हल्ला बाहिर आएका छन् ती एमालेमा कृतिम विवाद देखाउने षडयन्त्रबाट आएका पनि हुनसक्छन् । माफी मागेर टिकट दिने वा लिने भन्ने कुरा पार्टीमा कसैले भनेको जस्तो लाग्दैन र सैद्धान्तिक रूपमा भन्नुहुन्छ भने त्यो हास्यास्पद कुरा हो ।

ओलीले पेल्दैछन् भनेर गठबन्धनको प्रोपोगाण्डा गर्न खोज्यो

योगेश भट्टराई

बलियो एमाले देखेर कुप्रचार थालिएको छ । टिकटका लागि सर्तको विषयमा कोही नेताले केही भन्नुभएको छैन । एमालेमा पनि यस्तो विवाद छ भनेर मतदाता भुल्याउन र झुक्याउन खोजिँदैछ । कांग्रेस, माओवादी पार्टीभित्रै अनि गठबन्धनमै झगडा छ, तानातान छ । गठबन्धन लथालिङ्ग छ । आफूमा मिलाउन नसकेपछि यही बेला एमालेमा विवाद छ, यसरी पेल्दैछ भन्ने देखाइयो भने फाइदा लिन सक्छौं भनेर षड्यन्त्र भइरहेको छ । एमाले एकताबद्ध भएर लाग्छ । जित्न जिताउन हामी सबै मैदानमा सशक्त खट्छौं । गठबन्धनको प्रोपोगाण्डाको पछि लाग्न जरुरी छैन ।

एमालेमा खेल्ने र कृतिम विवाद देखाउने प्रायोजित प्रचार

यज्ञराज सुनुवार

एमालेभित्र हौवा फिँजाएर कार्यकर्ता र मतदाता भड्काउन खोजिएको छ । टिकटमा सर्त राखिएको भन्नु वाहियात कुरा । अध्यक्षले हामीलाई एक मिनेट पनि फुर्सद नलिइ पार्टीलाई अघि बढाउनु । एमालेलाई हार्ने छुट छैन भन्नुभएको छ । एकताबद्ध भएर लाग्नुस् भनेर केन्द्रीय कमिटीमै बकाइदा भनेको कुरा हो । एमाले वैचारिक र सांगठानिक रूपले एकता र सशक्त ढंगले अघि बढेकैले चौतर्फी प्रहार भइरहेको छ कार्यकर्तादेखि मतदाता सबैले बुझिसकेका छन् । अध्यक्षबाट यस्तो कुरा आएको मलाई थाहा छैन । स्थानीय चुनावमा भएका तीतामीठा कुरालाई नकोट्याइ मंसिर ४ को महासंग्राममा विजयको अर्जुनदृष्टिका साथ लाग्न भनेको अवस्थामा यो कुरा बाहिर ल्याउनु एमालेमा खेल्ने नियतस्वरूप कृतिम मतभेद गराउने षड्यन्त्र भइरहेको छ । यो विरोधी विशेषगरी सत्ता गठबन्धनका दलहरूको आन्तरिक किचलोलाई विषयान्तर गर्न नियोजित रूपमा ती गठबन्धनका छैटौं घटक मानिएका मिडियाहरूले प्लान्ट गरेका कुरा हुन् ।

झपट रावल

मलाई कसैले केही भनेका छैनन् । १० बुँदे त उहिले महाधिवेशनपछि सबै सकियो । कसले कुन उद्देश्यका लागि किन गर्दैछन् । अध्यक्षलगायत अरु कुनै नेताले केही भनेका छैनन् । मैले आफ्नो टिकट सिफारिसबारे अध्यक्षज्यूलाई पनि जानकारी गराएको छु । ठीक छ भन्नुभो । अनावश्यक हल्लाको कुनै अर्थ छैन म काममा विश्वास गर्ने मान्छे हुँ । अर्को कुरा एमालेमा अब दश बुँदे भन्ने नै छैन । महाधिवेशनपछि पार्टीमा एकमना एकता र एउटै नेतृत्वको वरिपरि सबै गोलबद्ध भएका छौं र अहिले एमालेमा कुनै गुट नै छैनन् । यो कुरा एमालेमा पनि विवाद छ भनेर जबर्जस्ति देखाउन खोजिएको भ्रमपूर्ण प्रचारबाजीमात्र हो ।

महासचिव पोखरेल भन्छन्-निराधार हल्ला

एमाले महासचिव शंकर पोखरेल १० बुँदे पक्षधरसँग माफी माग्न लगाइएको भनेर भ्रम फैलाइएको बताउँछन् ।

‘यसमा कुनै सत्यता छैन । लिखित क्षमायाचना मागिएको हल्ला निराधार हो, भ्रमपूर्ण प्रचार हो । एमाले एकढिक्का भएर चुनावमा होमिसकेको छ’, पोखरेल भन्छन् ।

माधव नेपालले पार्टी विभाजन गर्दा नेपाललाई साथ नदिएका जिल्लाका नेता पनि जिल्लामा त्यस्तो केही कुरा नआएको बताउँछन् । भोजपुर एमालेका अध्यक्ष शरणकुमार राई भन्छन्, ‘त्यस्तो भए त उम्मेदवार सिफारिसदेखि नै केही गन्ध आइहाल्थ्यो नि । हामी सबै जिल्लामा गठबन्धनलाई परास्त पार्न उत्साहपूर्वक लागेका छौं ।’


प्रतिक्रिया

3 thoughts on “एमालेमा ‘माफीनामा’ को हल्ला- के भन्छन् १० बुँदे पक्षधर नेताहरू र महासचिव ?

  1. यो हल्ला अनलाईनखबर र कान्तिपुरजस्ता विदेशीक‍ा लागि नेपाल विरूद्व दलाली गर्ने मेडियाले बनाएको प्रायोजित र झुट समाचार हो ।

  2. जनताको बहुदलिय जनवादको सिद्धान्त अनुसार चुनावबाट शक्ति प्राप्त गरेर समाजवाद हुँदै साम्यवाद ल्याउन सकिन्छ भन्ने धारणालाई मध्य नजर गरेर तिनीहरुको भावि योजना बुझेर अगि बढ्नु उपयुक्त होला ।

Leave a Reply to ksp pyl Cancel reply

Your email address will not be published. Required fields are marked *