एमाले छोडेका गंगाराम यादव जसपामा, धनुषा २ बाट उम्मेदवार बनाउने आश्वासन – Nepal Press

एमाले छोडेका गंगाराम यादव जसपामा, धनुषा २ बाट उम्मेदवार बनाउने आश्वासन

जनकपुरधाम । नेकपा एमाले परित्याग गरेका गंगाराम यादव जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका छन् ।

धनुषा क्षेत्र नम्वर २ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनाउने आश्वासन पाएपछि यादव जसपामा प्रवेश गरेका हुन् । शहिदनगर नगरपालिकाको यदुकोहामा आयोजित कार्यक्रममा उनलाई अध्यक्ष उपेन्द्र यादवले पार्टीमा भित्र्याए ।

असोज ८ मा धनुषाको तिनकोरिया आएर एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वमन्त्री उमाशंकर अरगरियालाई पार्टीमा भित्र्याएका थिए । अरगरियालाई एमालेले टिकट कन्फर्म गरेपछि उम्मेवारको आकांक्षी यादवले पार्टी परित्याग गरेका थिए ।

नेता यादव आफ्ना केही समर्थकसहित जसपामा प्रवेश गरेका छन् । यद्यपी टिकट पाउने सम्भावना न्यून छ ।

वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा जनकपुरधामको मेयरमा स्वतन्त्रबाट लडेर पराजित भएका बलराम महतोलाई पनि जसपा अध्यक्ष उपेन्द्र यादवले धनुषा २ बाटै टिकट दिने आश्वासन दिएर पार्टीमा भित्र्याएका थिए । तर नेता यादव पुगेपछि बलराम आउट भएका छन् ।

धनुषा २ मा एमालेबाट अरगरिया चुनावी मैदानमा उत्रने निश्चित छ । ०७४ को निर्वाचनमा अरगरिया तत्कालिन संघीय समाजावदी फोरमबाट उम्मेदवार भई १४ हजार बढी मतान्तरले चुनाव जितेका थिए ।

सत्ता गठबन्धनबाट भने काँग्रेसका रामकृष्ण यादव र नेकपा एकिकृत समाजवादीका रामचन्द्र झा पनि दावेदार छन् । रामकृष्ण र रामचन्द्र मध्येकै एक जना कोही सत्ता गठबन्धनको उम्मेदवार हुने सम्भावना रहेको नेताहरु बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर