साफ यू-१७ उपविजेता टीमलाई प्राइम सेरामिक्सको सम्मान – Nepal Press

साफ यू-१७ उपविजेता टीमलाई प्राइम सेरामिक्सको सम्मान

काठमाडौ‌ । यू-१७ साफ च्याम्पियनसिपमा उपविजेता भएको नेपाली टीमलाई प्राइम सेरामिक्सले सम्मान गरेको छ । बिहीबार ललितपुरमा आयोजित कार्यक्रममा प्राइम सेरामिक्सका कार्यकारी अधिकृत प्रशान्त अग्रवालले नेपाली टीमका २३ खेलाडी तथा ६ अफिसियललाई सम्मान गरेका हुन् ।

उमेर समूहको साफ च्याम्पियनसिप सेप्टेम्बर ५ देखि २० सम्म श्रीलंकाको कोलोम्बोमा भएको थियो । दक्षिण एसियाका ६ टीम सहभागी प्रतियोगिताको फाइनलमा नेपालले भारतसँग हार व्यहोरेको थियो । यही टीम भियतनाममा हुने यू-१७ एसियन कप छनोटमा सहभागी हुँदैछ ।

प्राइम सेरामिक्सका कार्यकारी अधिकृत अग्रवालले श्रीलंकामा उच्च प्रदर्शन गरेका नेपाली खेलाडीलाई सम्मान गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिए । ‘यो टीमका सबै खेलाडी प्रतिभावान देखिएका छन् । श्रीलंकामा यी खेलाडीले आफ्नो क्षमता प्रमाणित गरे । उनीहरूलाई समयमै सम्मान गर्न नपाएकोमा दुःख लागेको छ । आशा छ भियतनाममा हुने एसियन कप छनोटमा पनि नेपाली टीमको प्रदर्शन राम्रो हुनेछ । यो समग्र टीमको यात्रामा हामी पनि सँगसँगै छौं । भियतनामबाट फर्किएपछि हाम्रो भेट हुने नै छ’, अग्रवालले भने ।

अग्रवालले साफ अन्डर १७ च्याम्पियनसिपमा सहभागी खेलाडी तथा अफिसियललाई नगद पुरस्कार पाँच-पाँच हजारले सम्मान गरेका हुन् । उनले भविष्यमा नेपाली युवा टीममात्र होइन, फुटबल नियामक संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) सँग सहकार्य गर्न इच्छुक रहेको बताए ।

नेपाली टीमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले कोलोम्बोमा आफ्नो टीम उपविजेता भएको भए पनि नेपालमा वास्ता नगरिएकोमा दुःखेसो पोखे । ‘व्यक्तिगत वा निजी क्षेत्रबाट यी कलिला खेलाडीलाई सम्मान हुनु सकारात्मक हो । यसले समग्र टीमलाई हौसला दिनेछ । भियतनाममा हामी आफ्नो क्षमता फेरि एक पटक प्रमाणित गर्नेछौं’, श्रेष्ठले भने ।

कार्यक्रममा उपस्थित पूर्वखेलाडी राजेश शाहीले सम्मानित युवा खेलाडीलाई सकारात्मक मनोवृत्तिका साथ खेल्न सुझाए । ‘यो टीम प्रतिभाशाली भएकोमा शंका छैन। तर, प्रतिभा भएरमात्र पुग्दैन । सकारात्मक मनोवृत्ति आवश्यक छ । आत्मविश्वास चाहिन्छ । जस्तोसुकै बलियो विपक्षी भए पनि नडराई खेल्दा नतिजा आफ्नो पक्षमा आउँछ । यसकारण यी कुरा ध्यानमा राखेर खेल्नुपर्छ’, उनले भने ।

टीमका मुख्य प्रशिक्षक श्रेष्ठ प्रशिक्षण करियरको सुरुवाती चरणमा रहेको र खेलाडीले राम्रो खेल देखाएमात्र उनी सफल हुने शाहीको धारणा थियो । ‘उर्जन खेलाडीका रूपमा प्रमाणित भइसकेका छन् । अब प्रमाणित हुने पालो प्रशिक्षणमा हो । टीमको प्रदर्शन राम्रो भएमात्र उनी सफल ठहरिनेछन् । उनलाई सफल बनाउने खेलाडीले हो । यसकारण सबै खेलाडीले देशका लागि, आफ्नो टीमका लागि, प्रशिक्षकका लागि खेल्नुपर्छ’, शाहीले भने ।

टीमका कप्तान प्रशान्त लक्षमले सम्मानका लागि अग्रवाललाई धन्यवाद दिए । अनि श्रीलंकामा बटुलेको अनुभव भियतनाममा काम लाग्ने विश्वास व्यक्त गरे ।

नेपाल अन्डर १७ एसियन कप छनोटमा समूह ‘एफ’ मा परेको छ । यो समूहका सबै खेल पूर्वी एसियाको भियतनाममा हुँदैछ । समूहमा नेपाल र घरेलु टीम भियतनामसँगै थाइल्यान्ड र चाइनिज ताइपेई छन् । नेपालले अक्टोबर ५ मा थाइल्यान्ड, ७ मा भियतनाम र ९ मा चाइनिज ताइपेईको सामना गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *