वडा सचिवलाई चुरोटको लत लागेपछि…. (भिडिओसहित) – Nepal Press

वडा सचिवलाई चुरोटको लत लागेपछि…. (भिडिओसहित)

बझाङ । यतिवेला एउटा फोटो सामाजिक सञ्जालमा भाइरल बनेको छ । कार्यालय समयमा आफ्नो कुर्सीमा आसिन वडा सचिव एक सुरमा चुरोटको आनन्द लिइरहेका छन् । चुरोट यसरी तान्दै छन् कि मानौं उनी एक स्वाट्टमा नै चुरोट सक्काउने प्रतिस्पर्धामा छन् ।

अगाडिपट्टि कार्यालयका सबै फाइलहरु, प्रिन्टर र कम्युटरमा केही लेख्दै गरेको दृश्य फोटोमा देखिन्छ । अझ उक्त कार्यालयमा सेवाग्राहीहरु पनि छन् । जसले उक्त फोटो खिचेका थिए ।

यो घटना बझाङको जयपृथ्वी नगरपालिका वडा नं १ को हो । जयपृथ्वी नगरपालिका वडा नं १ सदरमुकाम चैनपुरदेखि १४ किलोमिटर उत्तरपूर्वमा पर्छ । गाउँमा वडाको सुविधा सम्पन्न वडा कार्यालय पनि छ । तर, कर्मचारी र जनप्रतिनिधिहरु आफ्नो सहजताका लागि चैनपुरमा नै सम्पर्क कार्यालय बनाएर बसिरहेका छन् ।

बैठक तथा भेलाको समयमा बाहेक अधिकांश समयमा यस वडाका जनप्रतिनिधि र कर्मचारीहरु चैनपुरमा नै बसेर काम गर्ने गरेको कैलाशका स्थानीयहरुको भनाइ छ । ‘गाउँमा रहेको वडा कार्यालयमा जाँदा कार्यालय सहयोगीबाहेक अन्य कर्मचारी र जनप्रतिनिधि भेटिँदैनन् । जनप्रतिनिधि र अन्य कर्मचारीलाई भेट्टाउन चैनपुर नै पुग्नुपर्छ’, एकजना स्थानीयले बताए ।

सदरमुकाम चैनपुरमा भएको सम्पर्क वडा कार्यालय वडा सचिव अजयबहादुर सिंहको घरमा राखिएको छ । सचिव सिंहको घरको एउटा कोठालाई सम्पर्क वडा कार्यालय बनाइएको छ । जहाँ सचिव सिंहले चुरोट उडाउँदै थिए । सिंहले कार्यालय समयमा नै चुरोट पिएको तस्वीर सार्वजनिक भएपछि उनी गल्तीको आत्मालोचना गर्नुको साटो आक्रोशमा उत्रिएका छन् ।

 

उनको चुरोट तानेको फोटो सामाजिक सञ्जालमा पोष्ट गरेको भन्दै उनले आफ्नै गाउँमा एकजना युवालाई तथानाम गालीसमेत गरेका छन् । ‘म नेपाल सरकारको जागिरे मान्छे हो…..’ भन्दै उनले अपाच्य शब्दको प्रयोग गर्दै गाली गरेका छन् ।

त्यतिमात्रै होइन उनी वडा कार्यालयको सचिव भएको र चुरोट खाँदै गरेको फोटो खिच्ने व्यक्तिलाई समेत अपाच्य शब्द प्रयोग गर्दै गाली गर्नसमेत भ्याए । उनले साँझ सामाजिक सञ्जालमा फोटो पोष्ट गर्ने व्यक्तिलाई गाली दिएपछि उनले उक्त भिडियो पनि सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिदिएका छन् ।
वडा सचिव तिनै व्यक्ति हुन्, जसमाथि कीर्ते नागरिकता बनाउन सिफारिस गरेको आरोपमा जिल्ला अदालतमा मुद्दा चलिरहेको छ ।

त्यसैगरी सरकारी सम्पत्तिको दुरुपयोग, मालिका हाते कागजमा ब्रह्मलुट मच्चाएकोलगायतका आरोप सिंहमाथि यसअघि लाग्दै आएका थिए ।

सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन २०६८ अनुसार धूमपान नगर्ने सर्तको लिखित कागज गराई सार्वजनिक गर्ने, सार्वजनिक स्थलबाट बाहिर पठाउने वा रु. १०० जरिवाना गर्ने वा दुवै सजाय हुने व्यवस्था रहेको छ । सरकारी वा सार्वजनिक जवाफदेहीको पदमा आसीन व्यक्ति, कर्मचारी भएमा निजको हकमा सचेत गराउने वा विभागीय सजायसमेत हुनसक्ने ऐनमा व्यवस्था छ ।

यता जयपृथ्वी नगरपालिकाका प्रमुख चेतराज वजालले भने यो विषय आफूलाई जानकारी नभएको बताएका छन् । उनले नगरपालिकामा कुनै जानकारी नभएको र कार्यालयमा नै सरकारी सेवामा आसिन भएको व्यक्तिले धूमपान तथा मद्यपान सेवन गर्नु गलत भएको कारण यस विषयमा आफूले छानबिन गर्ने मेयर बजालले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर