रामेछापको प्रतिनिधिसभा सीट छाड्न माओवादीकै डेलिगेशन, दोलखासँग साट्ने तयारी – Nepal Press

रामेछापको प्रतिनिधिसभा सीट छाड्न माओवादीकै डेलिगेशन, दोलखासँग साट्ने तयारी

काठमाडौं । गठबन्धन दलहरुबीच बढीभन्दा बढी प्रतिनिधिसभाका सीट लिने शीर्ष तहको प्रयास र जिल्ला नेतृत्वले आफ्नो क्षेत्र नछाड्न दबाब दिने प्रक्रिया चलिरहेका बेला रामेछाप र दोलखाको हकमा भने फरक दृश्य देखिएको छ ।

संघको टिकट पाउने सम्भावना रहेका नेताबाहेक रामेछापका माओवादी नेताहरुले दुवै प्रदेशसभाको सीट लिएर प्रतिनिधिसभा कांग्रेसलाई छाड्न नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

स्रोतका अनुसार प्रदेशसभा टिकटका आकांक्षीसहित जिल्लाका प्रभावशाली नेताहरुले कार्यदल सदस्य वर्षमान पुन, देव गुरुङदेखि प्रदेश कमिटी इन्चार्ज सहइन्चार्जलगायतलाई भेटेरै प्रदेशसभा सीट लिन सुझाव दिएका हुन् ।

केन्द्रीय सदस्य युवराज चौलागाईं प्रतिनिधिसभा छाड्न नहुने अडानमा छन् । उनी प्रतिनिधिसभाका लागि सिफारिस भएका छन् र दुईपटक अर्का केन्द्रीय सदस्य श्याम श्रेष्ठले टिकट पाएर जितेकाले यसपटक आफ्नो पालो आउनेमा आशावादी छन् ।

२०६४ सालदेखि नै माओवादीले लगातार जितेको र २०७४ मा जितेका कारण मापदण्डबाटै सो क्षेत्र माओवादीले पाउने उनको तर्क छ । प्रतिनिधिसभामै सिफारिस भएका श्याम श्रेष्ठ भने आफूले नपाउने खालको अवस्थामा सो क्षेत्र कांग्रेसलाई छाडे हुनेमा छन् ।
प्रतिनिधिसभाका लागि डिल्लीमान तामाङ र लक्ष्मी गुरुङ पनि दाबेदार हुन् ।

जिल्लाका नेताहरुले भने प्रतिनिधिसभा लिने भए कुलमान घिसिङ वा केन्द्रबाट सिनियर नेता आएमात्र जिताउन सकिने नत्र जित्न नसकिने रिपोर्टिङ गरेका छन् । यसअघि लीलामणि पोखरेल पनि रामेछाप जाने चर्चा चलेको थियो ।

माओवादीका एक प्रदेश कमिटी सदस्यले भने, ‘श्याम वा युवराज जो भए पनि एकले अर्कोलाई असहयोग गर्ने अवस्था छ । संघ लिँदा भन्दा दुवै प्रदेश लियो भने माथि कांग्रेसले सहज जित्छ र तल पनि हाम्रो दुवै सीट हुनसक्छ । उसै पनि जनतामा जोडिने भनेको प्रदेश सांसद हुनेरहेछ र हाम्रा दुईजना साथी सेटल पनि हुने भएकाले हामीले डेलिगेशन गएरै दोलखा र रामेछाप साटौं भनेका हौं ।’

माओवादीमा रामेछापबाट प्रदेशसभा १ तर्फ रवीन्द्र पौडेल र तारानारायण श्रेष्ठमध्ये एक प्रमुख दाबेदार हुन् । २ नम्बरमा धावा लामा वा संघ नपाउँदा युवराज चौलागाईं नै हुनसक्ने ती नेताले नेपाल प्रेसलाई बताए ।

माओवादीका लागि पनि नेता व्यवस्थापनका हिसाबले दोलखाको प्रतिनिधिसभा सीट लिन दबाब छ । दोलखाबाट यसपटक पोलिटव्युरो सदस्य गंगा कार्की (विश्व) मुख्य दाबेदार छन् ।

पूर्वमन्त्री देवी खड्का र हाल बागमती प्रदेशमन्त्री विशाल खड्का पनि दाबेदार हुन् । तर, सो परिवारबाट सबैभन्दा सिनियर भएर अवसर नपाएका नेता भएकाले कार्कीका लागि प्रतिनिधिसभा सीट माओवादीले लिन चाहेको छ । कार्की देवी र विशालका भिनाजु हुन् ।

गंगा कार्की माओवादी जनयुद्धकालदेखिका सिनियर नेतामध्ये अवसर नपाउनेमा पर्छन् । यसपटक रामेछापको प्रतिनिधिसभा सीट कांग्रेसलाई दिएर माओवादीले दोलखा लिन खोजेको एक नेताले बताए । यद्यपि यसबारेमा छलफल चलिरहेको छ । कार्यदलले अधिकांश निर्वाचन क्षेत्रको बाँडफाँट मिलाइसके पनि दोलखा र रामेछाप साटफेरका लागि राखिएको छ ।

नेकपा एसले पनि दोलखाको प्रतिनिधिसभा सीट मागेको छ । त्यस्तै रामेछापको पनि एक सीट प्रदेशसभा मागेको छ । दुवै जिल्लाको टुंगो नलागेको कार्यदलका एक सदस्यले बताए ।

यसैबीच रामेछापका कांग्रेस जिल्ला सभापति कान्छाराम तामाङले भने आफू प्रदेशसभा चुनाव नलड्ने भन्दै प्रतिनिधिसभा नपाए आफू उम्मेदवार नबन्ने र अरुलाई सहयोग गर्ने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर