शेखर-गगन समूहको चियापानमा कार्यकर्ताको एकस्वर: दाइ मेरो टिकट खोई ? नेताले दिए यस्तो जवाफ – Nepal Press

शेखर-गगन समूहको चियापानमा कार्यकर्ताको एकस्वर: दाइ मेरो टिकट खोई ? नेताले दिए यस्तो जवाफ

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको चियापान कार्यक्रम बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा जारी छ । कार्यक्रममा शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापालगायतका शीर्ष नेता उपस्थित छन् । सँगै पूर्वपदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापतिहरू पनि पुगेका छन् ।

चियापानमा आएका अधिकांश नेता कार्यकर्ताले आसन्न चुनावमा उम्मेदवार बन्नबाट वञ्चित भएको भन्दै गुनासो पोखेका छन् । समानुपातिकको बन्दसूचीमा पनि आफ्नो नाम नपरेको साथै प्रत्यक्षमा पनि क्षीण भएको भन्दै पहल गरिदिन आग्रह गर्दै शेखर, गगन र धनराजकहाँ उनीहरू झुम्मिएका छन् ।

एक नेतृले गुनासो गर्दै शेखरलाई भनिन्, ‘सबै माग्न आएको भन्ने दाइलाई थाहा छ, दाइ भन्नू न मेरो के भयो रु प्रदेश ५ को अब महिलालाई भए पनि जमिला मियालाइ ल्याउनपर्‍यो, मुस्लिमको लागि मैले राजनीति गरेको होइन नि नेपाली कांग्रेसको लागि गरेको हो ।’

 

शेखरले हाँसेर थामथुम पार्दै भने, ‘त्यही नाम नपरेर तपाईँ-हामी सबै यहाँ भेला भएका छौं । नत्र त आफ्नै पार्टीमा न्यायका लागि लड्नैपर्दैन थियो नि ।’

नेताहरूले नेतृत्वसँग आफूहरूका मागबारे छलफल भइरहेको भन्दै कार्यकर्तालई आश्वस्त पार्न खोजेका छन् ।

कांग्रेसले सीट बाँडफाँट र सम्माजनक अवसरको मागसहित संस्थापन पक्षलाई दबाब दिँदै आएको छ । हिजो सानेपास्थित केन्द्रीय कार्यालयमा नेता-कार्यकर्ता धर्नासमेत बसेका छन् ।

शेखर, धनराज गगनको छुट्टै बैठक

चियापान कार्यक्रममा पुगेका नेता शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा छुट्टै बैठक बसिरहेका छन् ।

बैठक जारी रहेको स्रोतले जनाएको छ । स्रोतका अनुसार बत्तिसपुतलीमै बैठक बस्न खोजेका थिए तर कार्यकर्ता झुम्मिए पछि छुट्टै ठाउँमा बसिरहेका छन् । तर ठाउँ खुलाइएको छैन ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर