चिडियाखानाकै सामुन्ने रेस्टुरेन्ट चलाएका यमन भन्छन्- चराचुरुङ्‍गी हेर्दै मज्जाले खानुस् ! (भिडिओ) – Nepal Press

चिडियाखानाकै सामुन्ने रेस्टुरेन्ट चलाएका यमन भन्छन्- चराचुरुङ्‍गी हेर्दै मज्जाले खानुस् ! (भिडिओ)

कोलाहल छलेर शान्त माहोलमा रमाउनेको च्वाइस बन्दै ‘भिन्टेज दी होम’

काठमाडौं । जाउलाखेलस्थित चिडियाखाना मुलगेटको दाहिनेपट्टी एउटा पुरानो, रातो दुईतल्ले घर छ । यहाँ प्रायः भेटिन्छन् यमन श्रेष्ठ ।

वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठका छोरा यमनका विभिन्न परिचय छन् । मुलतः उनी पनि हास्यकलाकार नै हुन् । तर, गायनमा पनि सक्रिय छन् बुबाजस्तै । यसका अलावा उनी एक व्यवसायी पनि हुन् । चिडियाखाना छेउको रातो घरमा भेटिनुको कारण उनको नयाँ व्यवसाय हो ।

यमनसमेतको लगानी रहेको रेस्टुरेन्ट ‘भिन्टेज दी होम’ को कुरा गर्दैछौं हामी । काठमाडौंको कोलाहल छलेर शान्त माहोलमा खानपिनमा रमाउन चाहनेहरूको च्वाइसमा परिरहेको छ यो रेस्टुरेन्ट । फराकिलो ठाउँ, विभिन्न परम्परा र भेषभूषा झल्कने मूर्ति, अनि चिडियाखानाका चरा, जनावर नियाल्ने अवसर यहाँका थप आकर्षण हुन् ।

देशका थुप्रै चर्चित कलाकारहरू यहाँका नियमित ग्राहक हुन् । छोरा यमनले नै खोलेको भएकाले पनि बाबु मदन त आउने नै भए । हरिवंश आचार्य, ‘राता मकै’ किरण केसीलगायतको रोजाइमा पनि पर्छ यो । आफन्तको मात्र नभइ खाना पनि मीठो भएकोले आउने गरेको उनीहरूले बताए ।

यसलाई एउटा स्तरसम्म पुर्‍याएर शाखा विस्तारको योजनामा छन् यमन । १३ वर्षसम्म अमेरिका बसेर आएका उनी आफ्नै ठाउँमा केही गरौँ भनेर लागेको बताउँछन् ।

‘लामो समय अमेरिकामा हस्पिटालिटी क्षेत्रमा एउटै कम्पनीमा काम गरेँ । यसलाई उकास्छु । लामो समय बसेपनि आफ्नै देश राम्रो हुन्छ । जे गरेपनि यहीँको लागि गरौँ भन्ने लाग्छ । यहाँको लबज, पुल-बाटो सार्वजनिक सम्पत्ति आफ्नै लाग्छ,’ यमन भन्छन् ।

अमेरिकामा सँगै बसेका साथीहरूले आफ्नो रेष्टुरेन्टबारे थाहा पाएपछि उनीहरू पनि सम्भावनाबारे आफूसँग सोध्ने गरेको बताउँछन् ।

‘यमनले यस्तो काम गरेको छ रे भन्ने सुनेर के गर्न सकिन्छ भनेर सोध्ने पनि छन् । कोही साथीहरू यहाँ मेरोमा खाजा खान आउनुपर्‍यो भन्छन् । उनीहरू आउँदा त एक प्लेट ममकै एक लाख पर्छ नि । प्लेन टिकट काटेर आउनुपर्‍यो एयरपोर्टबाट यहाँसम्म ट्याक्सी चढ्नुपर्‍यो’, उनले जोक गरे ।

‘जू कहाँ छ भन्दा भिन्टेजको छेउमा छ । यहाँ जनावर चराचुरुङ्गी हात्ती हेर्दै खाना खान सकिन्छ । गिद्ध हेर्दै गलगिद्ध हुने गरी खाने । जावलाखेलको चोकमै छ । हरियाली छ । खानेकुरा पनि मिठो छ । लोकेसन राम्रो छ’, यमनले विज्ञापन शैलीमा भने ।

कलाकारितामा रमाइरहेको व्यक्तिलाई रेष्टुरेन्टको ‘भूत’ सवार कसरी भयो भनी सोध्दा उनले यो पनि कला नै भएको बताए ।

उनी थप्छन्, ‘मान्छेहरू आइरहन्छन् । चिनेकाहरू पनि आउने नै भए । मलाई अफिसजस्तो पनि भाको छ । यसो साथीभाइ भेटघाट गर्ने थलो । वरिपरी खानेकुरा नै खानेकुरा ।’

कोरोना महामारीले बन्द भएको यो रेष्टुरेन्टमा यमन २ महिनाअघिबाट जोडिएका हुन् । दोहोर्‍याएर तेहेर्‍याएर ग्राहक आउँदा खुसी लाग्ने उनी बताउँछन् ।

‘यहाँ पक्कै मीठो, हस्पिटालिटी राम्रो भएर त आउनुभाको होला’, यमन सुनाउँछन् । आफू रेष्टुरेन्टमै हुँदा यमनले ग्राहकलाई खानासँगै हास्यरससमेत पस्किने गरेका छन् । घरको वातावरण सानैदेखि त्यस्तै बनेको कलाकारहरूकै संगत बढेको र आफ्नो क्षेत्र पनि कला नै भएकाले ग्राहकसँग उनको हाँसिमजाकमै बित्छ ।

भिन्टेजको क्षमता डेढ सयजनाको छ । पाँचतारे होटलको अनुभव भएका २५ वर्षीय योङ्ग सेफले किचनको नेतृत्व सम्हालेका छन् । यहाँ विदेशी पर्यटक पनि ग्राहकको रूपमा आउँछन् । चिडियाघरको नजिकै भएकाले पनि त्यहाँ आउने पर्यटकको रोजाइको रेष्टुरेन्ट बनेको छ यो ।

बीचमा कोभिड अहिलेको आर्थिक मन्दीलगायतका चुनौतीमा लगानीबारे सोध्दा यमनले प्रतिस्पर्धा र संघर्षमा काम गर्नु नै सन्तुष्ट हुने बताए ।

हामी कुराकानी गर्दागर्दै राता मकै आइपुगे । उनले यहाँ दिनहुँजसो आउने बताउँदै आफ्नो मनपरेको खानेकुरा राइस नुडल्स भएको सुनाए । अर्डर पनि त्यही थियो उनको ।

‘साहुले पनि मान्नुपर्ने मान्छे भनेर स्पेशल बनाको हो कि सबैलाई हो भनेर अस्ति त कुकलाई धाप पनि मारेँ । आफूलाई यहाँ राइस नुडल्स बनाएको । नातिनातिनीलाई पिजा, डेकोरेसन उस्तै राम्रो छ । चिडियाखाना हेर्दै । चिनजानको साथीभाइ पनि भेटिने । खाना, लोकेसन यहाँको व्यवहारले तान्यो’, उनले खाँदै कुरा गरे ।

भिडिओ- नविनमुनि स्थापित । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *