लुम्बिनीमा दोहोरिँदै पञ्चायतदेखि गणतन्त्रसम्म एउटै अनुहार – Nepal Press

लुम्बिनीमा दोहोरिँदै पञ्चायतदेखि गणतन्त्रसम्म एउटै अनुहार

रुपन्देही । राजनीतिमा बलियो पकड बनाएका लुम्बिनीका केही नेताहरुकोपञ्चायतकालदेखि अहिलेको गणतन्त्रसम्म निरन्तर जनप्रतिनिधि हुने रहर मरेको छैन । यीबाहेक अहिले मैदानमा आउन तयार धेरै नेताहरु बहुदल र गणतन्त्रमा पटक-पटक परीक्षण भएकाहरु नै छन् । युवा पिढीलाई स्थान दिनुपर्ने आवाज नउठेको कुनै पार्टी छैन । तर, अधिकांश पार्टीमा युवाहरुले सिफारिसमै ठाउँ पाएका छैनन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता दीपक बोहोराले रूपन्देहीबाट ६ पटक चुनावी प्रतिस्पर्धा गरिसकेका छन् । पूर्वप्रधानपञ्च बोहोरा सातौंपटक रूपन्देही क्षेत्र नम्बर- १ बाट चुनाव लड्ने तयारीमा छन् । उक्त निर्वाचन क्षेत्रबाट उनको एकल नाम सिफारिस भइसकेको छ ।

२०४८ सालपछिको संसदीय अभ्यासमा बोहोरा रुपन्देहीबाट निर्विकल्प उम्मेदवार बन्दै आएको राप्रपा जिल्ला अध्यक्ष सागरप्रताप राणाले बताए । लगातारको चुनाव लडेर धेरै हार थोरै जीत व्यहोरेका बोहोरा पटक-पटक मन्त्रीसमेत भइसकेका छन् । २०७० सालको संविधानसभा निर्वाचनमा विजयी बोहरा २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा एमालेका घनश्याम भुसालसँग पराजित भएका थिए ।

नेपालमा बहुदल स्थापनापछिका ७ वटै निर्वाचनमा उम्मेदवार बन्दैछन् पश्चिम नवलपरासीका हृदयेश त्रिपाठी । विभिन्न पार्टीबाट निर्वाचन लडेका उनी अहिले जनता प्रगतिशील पार्टीका अध्यक्ष छन् । यसअघि नेकपा एमालेको सूर्य चिन्ह लिएर चुनाव लडेका उनले अहिले पनि एमालेको साथ खोजिरहेका छन् ।

उनले २०४८ सालयताका सबै निर्वाचन लडेका छन् । ६ निर्वाचन लडिसकेका त्रिपाठीले ५ वटा चुनाव जितेका छन् । २०४८, २०५१ र २०५६ सालमा नेपाल सद्भावना पार्टीबाट नवलपरासी क्षेत्र नम्बर ३ मा चुनाव जितेका त्रिपाठी २०६४ सालको पहिलो संविधानसभा निर्वाचन तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) बाट नवलपरासी क्षेत्र नम्बर ६ मा विजयी भए । तमलोपाबाटै २०७० सालमा उम्मेदवार बनेका उनी पराजित भए ।

२०७४ सालमा स्वतन्त्र राजनीतिक समूहबाट क्षेत्र नम्बर १ मा एमाले तथा माओवादीको वाम गठबन्धनको सहयोगमा चुनाव जिते । आउँदो निर्वाचनमा उनी नवलपरासी- १ बाट चुनाव लड्ने तयारीमा छन् । पार्टीले उनको नाम सिफारिस गरिसकेको छ ।

पार्टीका जिल्ला अध्यक्ष राधेरमण पाण्डेले मंसिर ४ गते हुने चुनाव त्रिपाठीको अन्तिम हुने बताए । ‘उहाँले नेपालमा बहुदल आएपछिका सबै निर्वाचन लड्नुभएको छ’, पाण्डेले भने, ‘उहाँ एउटै व्यक्ति सधैं चुनावमा लड्नुपर्छ भन्ने त छैन । उहाँ हट्नुपर्ने कारण पनि म देख्दिनँ । किनभने उहाँले नराम्रो केही पनि गर्नुभएको छैन । २०७९ सालको निर्वाचनपछि पार्टीले युवा उम्मेदवारलाई अगाडि सार्नेछ ।’

यसबीचमा उनी ५ पटक मन्त्रीसमेत भएका छन् । २०५४ सालमा वनमन्त्री भएका उनी २०६३ सालमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री भए । २०६८ सालमा भौतिक योजना तथा यातायातमन्त्री, २०७६ सालमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र २०७७ सालमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भए ।

नेपाली कांग्रेसका नेता एवं पूर्वराजदूत दीपकुमार उपाध्याय पनि लामो समयदेखि चुनावी मैदानमा छन् । उनी ३१ वर्षदेखि निरन्तर चुनावी प्रतिस्पर्धामा छन् । २०४८ र २०५१ सालमा उनले कपिलवस्तु- २ बाट चुनाव जितेका थिए । उपाध्याय २०५६ सालमा पराजित भए । २०६४ सालमा कपिलवस्तु- १ बाट जितेका उनले सोही क्षेत्रबाट २०७० र २०७४ सालको चुनाव जित्न सकेनन् । तैपनि अझै सांसद बन्ने उनको रहर मरेको छैन । मंसिर ४ गते हुने निर्वाचनका लागि उनको नाम १ नम्बरमा सिफारिस भएको कांग्रेस जिल्ला नेता आशिष उपाध्यायले बताए ।

उपाध्यायले राजनीतिबाट विश्राम लिने मनस्थिति बनाएका छैनन् । यो बीचमा मन्त्री, राजदूतलगायत विभिन्न तहमा पुगेका छन् उनी । तर, सत्ता गठबन्धनमा उनको क्षेत्र नेकपा माओवादीको कोटामा परेकाले उपाध्याय यसपटक दोहोरिने सम्भावना निकै कम छ ।

रुपन्देहीका सर्वेन्द्रनाथ शुक्ला पनि पटक-पटक दोहोरिने नेताहरुमा अग्रपंक्तिमै पर्छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) केन्द्रीय कार्यकारिणी सदस्य शुक्लाले पनि रूपन्देहीबाट छ वटा चुनावमा प्रतिस्पर्धा गरिसकेका छन् । २०४८ सालमा रुपन्देही- ५ मा राप्रपाबाट चुनाव लडेका उनी पराजित भए । २०५१ सालमा सोही क्षेत्रबाट चुनाव जिते । २०५६ सालमा फेरि पराजित भए । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा रुपन्देही- ६ मा तमलोपाबाट उम्मेदवारी दिएका उनी पराजित भए । २०७० सालको निर्वाचनमा तमलोपाबाटै सोही क्षेत्रमा जीत निकाले ।

२०७४ सालमा रूपन्देही- ४ मा राष्ट्रिय जनता पार्टीबाट उम्मेदवारी दिएका उनले फेरि पराजयको स्वाद चाखे । आसन्न निर्वाचनमा रूपन्देही- ४ मा शुक्ला उम्मेदवार बन्दैछन् । उनको एकल नाम क्षेत्रीय कमिटीले सिफारिस गरिसकेको छ ।

लोसपा प्रदेश कार्यकारिणी सदस्य असमान खान शुक्लाले जनताको दबाबमा उम्मेदवारी दिने गरेको बताउँछन् । ‘उहाँले निर्वाचन लड्दिनँ भन्दा जनता घर घेर्न आउँछन् । जनताको चाहना र मर्चवारको विकासका लागि उहाँ चुनाव लड्नुहुन्छ । मर्चवारको विकास उहाँकै कारणले भएको हो’, खान दाबीका साथ भन्छन् ।

कांग्रेसका प्रभावशाली नेता एवं गृहमन्त्री बालकृष्ण खाण पनि २०४८ सालदेखि नै संसदीय चुनावी मैदानमा छुटेका छैनन् । उक्त चुनाव जितेका खाण २०५१ सालको मध्यावधि निर्वाचनमा पराजित भए । २०५६ सालमा उनी उम्मेदवार नै बनेनन् ।

२०६४ र २०७० सालमा भएको संविधानसभा निर्वाचनमा रूपन्देही- ३ बाट जीत निकालेका उनले यही क्षेत्रलाई चुनावी क्षेत्र मानेर राजनीतिक गतिविधि गर्दै आएका छन् । खाण २०७४ सालको चुनावमा पनि प्रत्यक्ष उम्मेदवार बनेनन्, समानुपातिकबाट सांसद बने ।

अहिले खाणको नाम रूपन्देही २ र ३ बाट सिफारिस गरिएको कांग्रेस जिल्ला सभापति रामकृष्ण खाण बताउँछन् । गृहमन्त्री खाण रुपन्देही–३ बाट चुनाव लड्ने तयारीमा छन् । राजनीतिमा युवा आउनुपर्छ भन्ने खाण आफैं भने युवाहरुको लागि पर्खाल बनेर उभिँदै आएका छन् ।

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पनि पटक-पटक दोहोरिने नेताको सूचीमा छन् । २०५६ देखि अहिलेको रुपन्देही क्षेत्र नं २ मा निरन्तर लड्दै आएका उनले त्यसअघि पाल्पाबाट निर्वाचन लडेका थिए । २०५१ सालमा पाल्पाबाट निर्वाचित पौडेल २०५६ मा रुपन्देहीमा पराजित भए ।

२०६४, २०७० र २०७४ सालको निर्वाचन भने उनले निरन्तर जित्दै आए । अहिले पनि उनी रुपन्देही २ बाट एमालेको एकल सिफारिसमा परेका छन् । दुई पटक अर्थमन्त्री, उपप्रधानमन्त्री तथा पटक-पटक मन्त्री भएका छन् पौडेल ।

माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरा पनि २०४८ सालदेखि सांसद बन्दै आएका छन् । २०४८ सालमा तत्कालीन जनमोर्चाबाट रोल्पामा निर्वाचित उनी माओवादी शान्ति प्रक्रियामा आएपछि २०६२/६३ मा अन्तरिम विधायक बने । त्यसपछि उनी लगातार रोल्पा र दाङबाट निर्वाचित हुँदै आएका छन् । मन्त्री, उपप्रधानमन्त्री तथा सभामुख भइसकेका उनी अहिले पनि रोल्पा र दाङबाट उम्मेदवार सिफारिस भएका छन् । त्यस्तै पार्टीले उनको नाम समानुपातिक सूचीमा समेत समावेश गरेको छ ।

पश्चिम नवलपरासीका देवेन्द्रराज कँडेल २०४८ सालदेखि निरन्तर संसदीय अभ्यासमा रहेका नेता हुन् । अहिले पनि उनी नवलपरासीबाट सिफारिस भइसकेका छन् । पूर्वगृहराज्यमन्त्री कँडेलले अहिले पनि टिकट पाउने सम्भावना बढी छ ।

नेकपा एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डे पाल्पाबाट २०५१ सालदेखि लगातार चुनावी प्रतिस्पर्धामा छन् ।

त्यस्तै कपिलवस्तुका वीरेन्द्र कनौडिया पनि २०५१ सालदेखि निरन्तर संसदीय अभ्यासमा छन् । प्रतिनिधिसभामा पुगिसकेका कनौडिया अघिल्लोपटक प्रदेशसभामा ओर्लेका थिए । अहिले पनि उनी प्रदेशमै रहने सम्भावना छ ।

गुल्मीका प्रदीप ज्ञवाली र गोकर्ण विष्ट २०५६ सालदेखि निरन्तर चुनावी मैदानमा छन् । पटक-पटक मन्त्री भएका उनीहरु अहिले पनि पार्टीबाट उम्मेदवार सिफारिसमा छन् । रूपन्देही- ५ बाट कांग्रेस नेता भरतकुमार शाह, कपिलवस्तु- २ बाट एमाले नेता वृजेशकुमार गुप्ता पनि २०५६ सालदेखि चुनावी मैदान छन् ।

अर्घाखाँचीका टोपबहादुर रायमाझी र पुष्पा भुसाल, बर्दियाका सन्तकुमार थारु २०६४ देखि निरन्तर सांसद भएका नेताहरु हुन् । उनीहरु यसपटक पुनः दोहोरिने गरी उम्मेदवार सिफारिस भएका छन् ।

राजनीतिक विश्लेषकहरु दशकौंदेखि एउटै व्यक्तिले चुनाव लड्दा उनीहरुको काम गर्ने क्षमतामा ह्रास आउने र नयाँ अवसरबाट बञ्चित हुने बताउँछन् । विश्लेषक ऋषि आजादले कति पटकसम्म संसदीय अभ्यासमा पठाउने भन्नेबारे दलहरुले कुनै मापदण्ड नबनाएकाले यस्तो संकट आएको बताए । यसलाई सुधार्न नयाँ पुस्ताले हरेक दलमा दबाब दिनुपर्ने उनको सुझाव छ ।

विश्लेषक मनिकर कार्की परम्परागत शैलीका उम्मेदवारहरुलाई पटक-पटक दोहोर्‍याउनु नयाँ विचार, सिद्धान्त, अनुहार र एजेण्डालाई निषेध गर्नुसरह भएको बताउँछन् । ठूला भनिएका दलहरूले पछिल्लो समय लोकप्रियता गुमाउनुको मुख्य कारण पनि यही भएको कार्कीको भनाइ छ ।

अधिवक्ता कृष्ण पोखरेल दलहरुमा देखिएको यस्तो दम्भका कारणले राजनीतिमा थप वितृष्णा आउने र नयाँ पिढी आकर्षित नहुने बताउँछन् । ‘पटक-पटक एउटै उम्मेदवार देख्दा जनता राजनीतिप्रति निरपेक्ष हुँदै गएका छन्’, उनले भने, ‘एउटै व्यक्ति र एउटै कुरा सुन्दासुन्दा जनता आजित भएका छन् । राजनीतिप्रति जनताको आकर्षण घट्दो छ । विकल्पमा स्वतन्त्र उम्मेदवारहरूको चर्चा र केही ठाउँमा सफलता पनि यसैको संकेत हो ।’

विश्लेषकहरुले हरेक दलमा युवा रहे पनि उनीहरुले अधिकार प्रत्यायोजन तथा नेतृत्व हस्तान्तरणका हिसाबले अगाडि लैजान नसक्दा दलहरुमा एकै व्यक्ति निरन्तर दोहोरिने गरेको बताए । यसले भविष्यमा युवाहरुलाई नै समस्या हुने उनीहरु बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर