नेविसंघका नेताबाट शंकरदेव क्याम्पसका प्राध्यापकमाथि हातपात र दुर्व्यवहार (भिडिओ) – Nepal Press

नेविसंघका नेताबाट शंकरदेव क्याम्पसका प्राध्यापकमाथि हातपात र दुर्व्यवहार (भिडिओ)

कोटाबाहिरबाट भर्ना लिन नमान्दा हातपात, क्याम्पस प्रमुख मोबाइल स्विच अफ गरेर सम्पर्कविहीन

काठमाडौं । प्रवेश परीक्षा पास नभएका विद्यार्थीलाई भर्ना गर्न दिएको दबाब स्वीकार नगर्दा शंकरदेव क्याम्पसका एक प्राध्यापक विद्यार्थी नेताबाट कुटिएका छन् ।

ब्याचलर अफ इन्फरमेसन म्यानेजमेन्ट (बिआइएम) का निर्देशक रवीन्द्र भट्टराईलाई कार्यकक्षमै पसेर सत्तारुढ नेपाली कांग्रेस निकट नेविसंघका नेता विवेक लामा घिसिङले हातपात र दुर्व्यवहार गरेका हुन् ।

उनीमाथि पटक पटक लम्की झम्की गर्दै दुर्व्यवहारमा उत्रिएका लामाले हातपात समेत गरेको सीसीटिभी फुटेजमा देखिन्छ । क्याम्पसका अन्य शिक्षक र कर्मचारीले भट्टराईलाई विद्यार्थी नेताबाट जोगाउन संघर्ष गरेको भिडिओमा देखिन्छ ।

शंकरदेव क्याम्पसमा बिआइएम विषयमा जम्मा ६८ जना विद्यार्थीको कोटा छ । प्रवेश परीक्षामा पास भएका र वैकल्पिकमा नाम निस्किएकाको समेत भर्ना भएकाले कोटाभन्दा बाहिर भर्ना लिन नसकिने निर्देशक भट्टराईले अडान लिएपछि नेविसंघ नेताले दुर्व्यवहार गरेको कर्मचारीहरूले बताएका छन् ।

‘सीट खाली छैन,जति कोटा हो सबै भर्ना लिइसकियो भनेपछि सरमाथि नेविसंघका नेताले हातपात गरे’ ती कर्मचारीले भने ‘पटक पटक फर्किँदै आएर झम्टिने र अश्लील शब्दले गाली गरे,हामीले नजोगाएको भए अप्रिय अवस्था आउने थियो ।’

हातपातमा उत्रिने विद्यार्थी नेता लामा यसअघि पनि विवादमा परेपछि नेविसंघले इकाई अध्यक्षबाट हटाएको थियो । उनले कोटाभन्दा बाहिरबाट प्रवेश परीक्षा फेल भएका विद्यार्थीलाई भर्ना गर्दिन्छु भनेको सार्वजनिक भएकोपछि विद्यार्थीबाट लिएको ४० हजार रुपैयाँ फिर्ता गरेका थिए ।

यसैबीच अन्य विद्यार्थी संगठनहरु एमाले सम्बद्ध अनेरास्ववियु,माओवादी निकट अखिल क्रान्तिकारी र नेकपा एस निकट अनेरास्ववियूका क्याम्पस कमिटी अध्यक्षहरू गिरिश ठगुन्ना,वीरेन्द्र जिसी र सन्तोष शेर्पाले संयुक्त विज्ञप्ति जारी गर्दै शिक्षकमाथि हातपात गर्नेलाई कानूनी कारबाहीको दायरमा ल्याउन प्रशासनको ध्यानाकर्षण गराएका छन् ।

यता सो घटनापछि क्याम्पस प्रमुख केशवराज जोशी भने मोबाइल स्विच अफ गरेर सम्पर्कविहीन भएका छन् ।

विवेक लामाको भनाइ (अपडेट)

नेविसंघ इकाइ कमिटीका अध्यक्ष विवेक लामा घिसिङले भने बीईएम निर्देशक रवीन्द्र भट्टराईलाई आफूले नकुटेको र दुर्व्यवहार पनि नगरेको दाबी गरेका छन् । नेपाल प्रेसमा प्रकाशित समाचारमाथि खण्डन पठाउँदै उनले आफूलाई सुनियोजित तरिकाले फसाउन खोजिएको आरोपसमेत लगाएका छन् ।

‘तीन विद्यार्थी संगठनले मलाई फसाउनका लागि र विद्यार्थीसँगको मेरो क्रेजलाई घटाउनका लाग सुनियोजित तरिकाले संयुक्त विज्ञप्ति जारी गर्दै झूटो अफवाह फैलाएकोप्रति मेरो आपत्ति छ,’ उनले भनेका छन् ।


प्रतिक्रिया

One thought on “नेविसंघका नेताबाट शंकरदेव क्याम्पसका प्राध्यापकमाथि हातपात र दुर्व्यवहार (भिडिओ)

  1. हाम्रो कानूनले माग गर्ने सबैभन्दा कडा सजाय देउ भारतीय दलाल सरकार यी टोले गुण्डाहरूलाई । यी विद्यार्थी नेता नै होईनन । कलेजलाई गुण्डागर्दी गरेर कमाउने थलो बनाउने नेता ? गुण्डा, डाँका ,पकेटमारजस्तालाई नेता मान्ने ?

Leave a Reply to ksp pyl Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर