गण्डकीमा एक वर्षमा १११८ भ्रष्टाचारका उजुरी – Nepal Press

गण्डकीमा एक वर्षमा १११८ भ्रष्टाचारका उजुरी

पोखरा । यातायात व्यवस्था कार्यालय, पोखराका तत्कालीन निमित्त कार्यालय प्रमुख गोकुल शर्मा पौडेल लगायत ९ जनाविरुद्ध गत चैतमा विशेष अदालतमा आरोप पत्र दायर भयो । सवारी चालक अनुमति पत्रको परीक्षामा १ सय ६८ परीक्षार्थीको नतिजा फेरबदल गरेको आरोप सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखरा कार्यालयले आरोप पत्र दायर गरेको थियो । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुरमा आरोप पत्र दर्ता भएको थियो ।

गत वैशाख पहिलो साता विपद् व्यवस्थापन गुल्म, बागलुङका प्रहरी नायब निरीक्षक रूपनारायण महतो सेवाग्राहीसँग ३८ हजार रुपैयाँ घुस लिएको अवस्थामा अख्तियारले पक्राउ गर्‍यो । उनीविरुद्ध अख्तियारको पोखरा कार्यालयले विशेष अदालतमा ३८ हजार बिगो दाबी गर्दै २५ वैशाखमा आरोप पत्र दर्ता गर्‍यो ।

गण्डकीमा एक वर्षमा १ हजार ११८ वटा भ्रष्टाचारका उजुरी परेका छन् । आर्थिक वर्ष २०७८/७९ मा प्रदेशको नवलपुरबाहेक १० जिल्लाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखरा कार्यालयमा १ हजार ११८ उजुरी दर्ता भएको अख्तियारको वार्षिक प्रतिवेदनमा छ ।

अख्तियारको पोखरा कार्यालयले बुधवार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई आफ्नो वार्षिक प्रतिवेदन बुझाएको छ । प्रतिवेदन अनुसार गण्डकीमा १११८ उजुरी परेकोमा ७०७ उजुरी फर्छ्यौट भएका छन्, जुन कुल उजुरीको ६३ प्रतिशत हो ।

अघिल्लो आ.व.मा देशभरमा सबैभन्दा कम उजुरी गण्डकीबाट परेको छ । देशभर परेका २४ हजार ३३१ उजुरीमा गण्डकीबाट करिब ८ प्रतिशत मात्र उजुरी परेको हो । बागमतीबाट सबैभन्दा बढी २४.१३ प्रतिशत उजुरी परेको अख्तियार पोखरा कार्यालयका सूचना अधिकारी राजु कुँवरले जानकारी दिए ।

बढी उजुरी उद्योग, पर्यटन मन्त्रालयमा

गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा सबैभन्दा बढी भ्रष्टाचारका उजुरी परेका छन् । उद्योग, पर्यटनमा ७७ वटा भ्रष्टाचारका उजुरी परेकोमा ५१ वटा मात्र फर्छ्यौट भएका छन् ।

उद्योग, पर्यटन पछि सबैभन्दा बढी भ्रष्टाचारका उजुरी पर्ने मन्त्रालयमा भौतिक मन्त्रालय देखिएको छ । भौतिकमा ४१ वटा भ्रष्टाचारका उजुरी परेको अख्तियारको वार्षिक प्रतिवेदनमा छ । भूमि, कृषिमा १३ उजुरी, स्वास्थ्यमा ४० उजुरी पर्दा शिक्षामा ५ वटा भ्रष्टाचारका उजुरी दर्ता भएका छन् ।

जिल्लामा सबैभन्दा बढी उजुरी कास्कीमा

गण्डकी प्रदेशमा जिल्लातर्फ सबैभन्दा उजुरी कास्कीमा परेका छन् । अघिल्लो आ.व.मा कास्कीमा ४ सय ५७ उजुरी परेका छन् । त्यसमध्ये ३ सय २१ उजुरी मात्रै फर्छ्यौट भएका छन् । कास्कीपछि सबैभन्दा बढी भ्रष्टाचारका उजुरी परेको जिल्ला तनहुँ देखिएको छ । प्रतिवेदन अनुसार तनहुँमा १ सय ३७ वटा उजुरी दर्ता भएका छन् । पर्वतमा १ सय १५, स्याङ्जामा १ सय ७ वटा उजुरी परेको प्रतिवेदनले देखाएको छ । सबैभन्दा कम १० वटा उजुरी मुस्ताङमा परेको देखिन्छ ।

चालु आ.व.मा ६ सय ३७ उजुरी

चालु आर्थिक वर्ष २०७९/८० को भदौ मसान्तसम्म ६ सय ३७ उजुरी अख्तियारमा परेका छन् । अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएका ४१२ उजुरीसहित यस आर्थिक वर्षमा ६३७ उजुरी परेको अख्तियार पोखराका सूचना अधिकारी राजु कुँवरले जानकारी दिए । यसमध्ये ९८ उजुरी मात्रै फर्छ्यौट भएका छन् ।

सबैभन्दा बढी स्थानीय तह (संघीय मामिला)मा २ सय ४३ उजुरी परेका छन् । मन्त्रालय अन्तर्गत यस आर्थिक वर्षमा वन वातावरणमा ३३, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा २८, स्वास्थ्यमा १९, भूमि व्यवस्थामा २७, भौतिक पूर्वाधारमा २६ वटा भ्रष्टाचारका उजुरी परेका छन् ।

अरूले प्रतिवेदन दिएनन्: प्रदेश प्रमुख

गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अख्तियार बाहेक अन्य संयन्त्रले आफूलाई वार्षिक प्रतिवेदन नबुझाएको बताएका छन् । अख्तियारको वार्षिक प्रतिवेदन बुझ्दै गुरुङले अन्य संयन्त्रले आफूलाई प्रतिवेदन नै नबुझाएको बताए । ‘तपाईँहरूले जिम्मेवारी सम्झेर प्रतिवेदन ल्याउनु भएछ । यो नियमित प्रक्रिया हो, तर अन्य संयन्त्रले अहिलेसम्म बुझाएनन्,’ उनले भने ।

अख्तियारले ‘साना माछा’मात्रै हेरेर नहुने भन्दै उनले ‘ठूला माछा’ समाउन पनि अख्तियारलाई आग्रह गरे । ‘ठूला माछा समाए मात्रै समाजमा भ्रष्टाचार गर्न सल्बलाएकाहरु आत्तिएर भ्रष्टाचार गर्न बन्द गर्छन्, ठूला माछा पनि समाउनुहोस्,’ उनको सुझाव थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *