प्रमुख प्रशासकीय अधिकृत फिर्ता पठाउँदै जनप्रतिनिधि – Nepal Press

प्रमुख प्रशासकीय अधिकृत फिर्ता पठाउँदै जनप्रतिनिधि

काठमाडौं । संघीय सरकारले स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतमा पठाएका कर्मचारीलाई फिर्ता गराउने कार्य फेरि सुरु भएको छ । अहिलेसम्म ५ स्थानीय तहले मन्त्रालयले पठाएका प्रमुख प्रशासकीय अधिकृत फिर्ता पठाएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कानूनी व्यवस्थाअनुसार पठाइएका प्रमुख प्रशासकीय अधिकृतलाई फिर्ता नगर्न जनप्रतिनिधिहरुलाई आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता सहसचिव रुद्रसिंह तामाङका अनुसार मन्त्रालयले फिर्ता नगर्न अनुरोध गरे पनि कर्मचारी फिर्ता हुने क्रम रोकिएको छैन । उनले भने, ‘काभ्रेपलाञ्चोक, बाग्लुङ, कैलालीलगायतका स्थानीय तहले कर्मचारी फिर्ता पठाएका छन् ।’

आफू निकटका र आफूले योजनाअनुसार काम गराउन नसक्ने ठानेर स्थानीय तहका जनप्रतिनिधिले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नै नगराएर फिर्ता पठाउने गरेका छन् । कतिपय जनप्रतिनिधिले गलत नियतका साथ आफूलाई फाइदा पुग्ने गरी काम नगर्ने र भनेको नमान्ने ठानेर मन्त्रालयले पठाएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न नदिने गरेका छन् ।

मन्त्रालयले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ (४) मा भएको व्यवस्थाबमोजिम स्थानीय तहहरुमा प्रमुख प्रशासकीय अधिकृतहरु खटाउने गरिएको र सोहीबमोजिम खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराई फिर्ता पठाउँदा कर्मचारी व्यवस्थापनमा गम्भीर समस्या सिर्जना भएको जनाएको छ ।

‘स्थानीय तहको सेवा प्रवाह एवं प्रशासकीय सुशासनमा समेत असर पर्ने देखिन्छ । अतः सबै स्थानीय तहहरुले यस मन्त्रालयबाट खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराई नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा अन्य प्रचलित कानूनले निर्दिष्ट गरेको सहकारिता, समन्वय र सहअस्तित्वको सिद्धान्तको मर्मलाई कार्यान्वयन गर्न तथा स्थानीय तहमा सेवा प्रवाह एवं सुशासन कायम गर्नुहुन यस मन्त्रालयको मिति २०७९/०६/०६ गतेको निर्णयानुसार अनुरोध छ’, मन्त्रालयले विज्ञप्तिमार्फत जनप्रतिनिधिहरुलाई अनुरोध गरेको छ ।

खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराई फिर्ता पठाउँदा कर्मचारी व्यवस्थापनमा गम्भीर समस्या सिर्जना हुनुका साथै स्थानीय तहको सेवा प्रवाह एवं प्रशासकीय सुशासनमा समेत असर पर्ने मन्त्रालयको ठहर छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *