राप्रपा प्रवेश गर्दै रवीन्द्र मिश्रले भने: कांग्रेस प्रचण्डीकरण भयो, हाम्रो लागि स्पेस खाली छ (भिडिओ) – Nepal Press

राप्रपा प्रवेश गर्दै रवीन्द्र मिश्रले भने: कांग्रेस प्रचण्डीकरण भयो, हाम्रो लागि स्पेस खाली छ (भिडिओ)

६० प्रतिशत जनताले प्रयोग गर्ने हलो बोक्न लाज छैन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले २०४६ सालको जनआन्दोलनपछि नेपाली कांग्रेस पार्टीमा गम्भीर वैचारिक विचलन आएको आरोप लगाएका छन् । कांग्रेसको ‘प्रचण्डीकरण’ पछि खाली भएको नरम दक्षिणपन्थी स्पेसलाई अब राप्रपाले उपयोग गर्ने उनले बताए ।

आज राप्रपासँगको एकता समारोहलाई सम्बोधन गर्दै मिश्रले आफूले मार्ग परिवर्तन गर्नुपर्नाको कारणबारे लामो प्रष्टीकरण दिएका थिए । केही समय अलमलमा रहे पनि आफू अन्ततः गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता नेपालको हितमा नरहेको निष्कर्षमा पुगेको उनले उल्लेख गरे ।

मार्ग परिवर्तनबारे उनको स्पष्टोक्ति यस्तो छः

मेरो राजनीति गर्ने सुर थिएन । देशको बेथितिले पोलेर २०७४ सालमा साझा पार्टी गठन गरें । देशमा जुन परिवर्तन आयो, अब त्यसैलाई आत्मसात गर्ने भनेर सुरु गरेको हो । त्यही एजेन्डामा नै पार्टी निर्माण गर्न थाल्यौं । यद्यपि, २०६२/६३ को आन्दोलनमा मैले निरन्तर लेखें र बोलें कि नेपाली-नेपाली झगडा गर्दा त्यो घरझगडा हुन्छ । तर, त्यसमा विदेशी मिसियो भने सह्य हुँदैन । राजदरबार भत्काएर त्यसको ठाउँमा दिल्ली दरबार नबनाउँ भनेर मैले बारम्बार भनें । नेपालीले नेपालीलाई हानेको चड्कन सहन सकिन्छ, विदेशीले हानेको सहन सकिन्न भनेर लेखें । पिता पुर्खाले सहेनन् भने हामीले किन सहने ?

तीन वर्षपछि यसो फर्केर हेरें । नेपाल बदलिँदो भूराजनीतिको केन्द्र बनिसकेको छ । राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मले आफ्नो काम-कर्तव्य इमानदारीपूर्वक निर्वाह गरेका छैनन् । संवेदनशील भू-राजनीतिक परिवेश अझ जटिल बनेर जाँदैछ । कुनै पनि ठाउँमा हिंसाको आगो लाग्यो भने भोलि कसले सम्हाल्ने ? बदलिँदो भूराजनीतिक परिवेश, नेपालभित्र क्षयीकृत संस्था, विकृत वामवादले सौहार्दपूर्ण रुपमा बसेका भाषाभाषी, जातजातिलाई चिराचिरा पारिदिएको छ, धर्मान्तर व्यापक भइरहेको छ । यो सबै हेरेपश्चात म निष्कर्षमा पुगें कि यो देशमा राजसंस्था हुनुपर्ने रहेछ ।

यस्तै संघीयता पनि देशका लागि घातक रहेको मेरो निष्कर्ष छ । संघीयताको आलोचनामा प्रायः यसको आर्थिक पाटोको मात्रै सुन्छु कि यसलाई धान्न सकिन्न । तर, राजनीतिक रुपमा भौगोलिक अखण्डताको हिसाबले पनि यसलाई धान्न सकिन्न । त्यो अझै गम्भीर हुन्छ । संघीयताले कसरी देशहरु टुक्रिएका छन् भनेर युरोप, अफ्रिकाका देशमा हेर्न सकिन्छ । संसारमा २८/३० वटा मात्रै देशमा संघीयता छ । हाम्रोजस्तो संवेदनशील भूराजनीतिक अवस्थिति भएको देशमा संघीयता चाहिँदैन ।

आफ्नो सम्बोधनमा मिश्रले सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसप्रति आक्रोश व्यक्त गरेका थिए । कांग्रेस आफ्नो मौलिक विचारबाट च्यूत भएर माओवादीको पछिपछि हिँडेको उनको आरोप छ ।

मिश्र भन्छन्ः

‘मलाई विचार परवर्तन गर्दा पश्चगामी, प्रतिगामी भने । म नेपाली कांग्रेसका ती साथीहरुलाई प्रश्न गर्न चाहन्छु, तपाईंका नेताहरुलाई सोध्नुस्, कांग्रेसमा विचलन आयो कि ममा ? २०५२ सालमा माओवादीले हतियार उठाउँदा कांग्रेसको सरकार थियो कि राप्रपाको ? लाउडा, धमिजा काण्ड, संसद किनबेचमा कसको सरकार संलग्न थियो ? बीपी, गणेशमान, कृष्णप्रसादको सपना मारेर तपाईंहरुले विचलन ल्याएको कि मैले ?

कांग्रेसको आदर्श राप्रपाले बोकेको छ । हामीले बोकेका छौं । मेलमिलाप नीति हामीले बोकेका छौं । गणेशमान र कृष्णप्रसादलाई रुवाएर अग्रगमनको कुरा गर्ने ? राजासँग मेरो न लेना न देना केही छैन । मेरो कुनै स्वार्थ छैन । ३० वर्षपछिको देशलाई सोचेर राजा चाहिन्छ भन्दा म पश्चगामी ? कांग्रेसका कार्यकर्तालाई चारतारे झण्डा झुण्ड्याएको निहुँमा गोली हान्ने तपाईंहरुका लागि अग्रगामी ? आफैंले टाउकोको मूल्य तोकेर हिँडेकाहरुसँग टाउको जोडेर हिँड्दा अग्रगामी ? अब हेरौंला को अग्रगामी को पश्चगामी ।

मिश्रले दक्षिणपन्थ भन्नेवित्तिकै प्रतिगामी ठान्ने गलत सोच देशमा हावी भएको भन्दै चिन्ता व्यक्त गरे । उनले नरम दक्षिणपन्थ नै नेपालजस्तो देशका लागि उपयुक्त सिद्धान्त रहेको धारणा राखे ।

कांग्रेसले यो धार छोडेपछि राप्रपाका लागि मैदान खाली भएको उनको भनाइ छ ।

उनी भन्छन्ः

‘नेपाली कांग्रेसको प्रचण्डीकरण भएपछि, गणेशमानजी र कृष्णप्रसाद भट्टराईलाई रुवाएपछि नरम दक्षिणपन्थको यो स्पेस खाली भयो । राप्रपाले त्यो स्पेसमा काम गर्नेछ । त्यो स्पेसमा धेरै ठूलो जनसंख्या छ नेपालमा । विश्वास गरेर राप्रपालाई भोट दिउँ, सत्तामा आउने हो कि होइन भन्ने संशय थियो । त्यसैले मनले राप्रपाको एजेन्डा ठीक ठाने पनि भोट चाहिँ पुरानै कांग्रेस-एमालेलाई दिन जनता बाध्य भयो । तर, अब हामीले जनतालाई विश्वास दिलाउन सक्नुपर्छ । हामी देशको नेतृत्वमा पुग्न सक्छौं भन्ने आशा जगाउनुपर्छ ।

राप्रपाले जुन आदर्श सकिनसकी बोकिरहेको थियो, कुनै बेला टाउकोमा कफन बाँधेर, ढुंगा खाएर ३० वर्षदेखि लिएर आयो, त्यसमा मैले साथ दिनुपर्छ भनेर म लागेको हो । तपाईंहरुले बोकेको आदर्शमा होस्टे र हैंसे गर्दै यो पार्टीलाई १ नम्बरको नेतृत्वमा पुर्‍याउन सकें भने र देशलाई केही योगदान दिन सकें भने मुस्कुराएर अन्तिम सास लिन सक्छु । मेरो उद्देश्य त्यत्ति हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर