रवीन्द्र मिश्रको राजनीतिक मोड : कति सफल होला लिङ्देनसँगको गठजोड ? – Nepal Press
टिप्पणी

रवीन्द्र मिश्रको राजनीतिक मोड : कति सफल होला लिङ्देनसँगको गठजोड ?

काठमाडौं । २०७३ सालमा बीबीसी नेपाली सेवाको आकर्षक (मासिक तलब ७ लाख रुपैयाँ) जागीर छोडेर राजनीति गर्नकै लागि लण्डनबाट नेपाल फर्किए रवीन्द्र मिश्र । त्यसयताका ६ वर्षमा उनले धेरै उतारचढाव भोगिसकेका छन् र नेपाली राजनीतिको कुण्ड पनि पहिलेभन्दा धेरै फोहोर भइसकेको छ ।

नयाँ पार्टी निर्माण गरेर राजनीतिमा होमिने निर्णय लिएपछि मिश्रले त्यसबेला भनेका थिए, ‘हामीले सुरु गर्न लागेको यो यात्रा केवल १०/१२ जना सांसदलाई पठाएर ‘राजनीति’ गर्नका लागि होइन । यो देशको नेतृत्व गरेर नेपाली राजनीतिको चरित्र र सिंगो देश नै रुपान्तरण गर्नका लागि हो ।’

यही भनाइबाट प्रष्ट हुन्छ कि उनी निकै ठूलो महत्वाकांक्षा बोकेर राजनीतिक मैदानमा उत्रेका थिए । देशलाई नै नेतृत्व दिने ठाउँमा पुग्नु थियो उनलाई । प्रतिभा, उर्जा र आफ्नै भिजनसहितका यी लोकप्रिय पूर्वसञ्चारकर्मीबाट जनताले पनि आशा राखेका हुन् । कुनै पनि पार्टीमा असंलग्न तटस्थ युवापुस्ता उनीतिर आकृष्ट भएका थिए । २०७४ सालको संसदीय चुनावसम्म आइपुग्दा सामाजिक सञ्जालमा मिश्रको लोकप्रियता चरमचुलीमा थियो । काठमाडौं-१ मा प्रकाशमान सिंहलाई हराएर सनसनी जित हासिल गर्ने सम्भावनाको नजिक देखिएका थिए मिश्र । तर, सामाजिक सञ्जाल र ग्राउन्ड रियालिटीमा अलिकति अन्तराल देखियो । थोरै मतले उनी चुके । मिश्रका लागि त्यो पहिलो ‘सेटब्याक’ थियो ।

२०७४ सालको चुनाव जितेको भए उनको राजनीतिक यात्रा अहिलेकोभन्दा फरक हुन सक्थ्यो । तर, काठमाडौं-१ का मतदाताले ‘ममः चाउमिन’ नै रोजेर मिश्रलाई संसद भवन पस्नबाट रोके । त्यसपछि उनी पार्टीको आकार र वजन बढाउनेतर्फ लागे, जसको पहिलो कदम थियो विवेकशील नेपाली दलसँगको एकता ।

साझा र विवेकशीलबीच २०७४ सालको साउनमा एकता भयो, जुन जनआकांक्षा अनुरुप पनि थियो । त्यसले देशमा एकप्रकारको पोजेटिभ भाइब्रेसन नल्याएको होइन । तर, एकताको मोडालिटी भने त्रुटिपूर्ण रह्यो । नेतृत्वमा समान हैसियतका दुई उच्च पद सिर्जना गरिए । एउटै पार्टीमा समानान्तर संयोजक हुँदा किचलो उत्पन्न हुनु स्वभाविक थियो र भयो ।

मिश्र र उज्ववल थापाको शक्ति संघर्षका कारण विवेकशीलले गति लिन सकेन र अन्ततः एक वर्षमै पार्टी फुट्यो । साझा र विवेकशील दुवैका नेता-कार्यकर्ता आआफ्ना गोठमा फर्किए । यो मिश्रका लागि अर्को ठूलो ‘सेटब्याक’ बन्यो । उनको राजनीतिक यात्रा ओरालो लाग्ने प्रस्थान बिन्दू थियो यो विभाजन । वैकल्पिक शक्तिको नारा दिनेहरू पनि कुर्सीकै लागि हानाथाप गर्ने ‘उही ड्याङ्का मूला रहेछन्’ भन्ने भाष्य स्थापित भयो ।

२०७६ सालमा भएको उपचुनावमा साझा र विवेकशीलले धक्का खाए । त्यसको केही समयपछि फेरि दुई पार्टी एकतामा आए । न फुटको कुनै तार्किक कारण देखिएको थियो, न पुनःएकताको । फलतः यो एकताले पहिलेको जस्तो माहोल सिर्जना गर्न सकेन ।

कार्यकर्ता पंतिलाई उत्साहित तुल्याउने तथा जनतालाई आकर्षित गर्ने गरी कुनै नविन एजेन्डा दिन नसकेर विवेकशील-साझा खिइँदै र गतिहीन बन्दै गएको अवस्था थियो । विभिन्न असन्तुष्टि देखाएर एकपछि अर्को प्रभावशाली नेताहरु पार्टीबाट छुट्टिँदै गइरहेका थिए । पार्टीमा प्राण भर्ने अरु कुनै उपाय नदेखेपछि अन्ततः मिश्रले मार्ग परिवर्तनको ‘बोल्ड डिसिजन’ लिए ।

जब मार्ग परिवर्तन गरे

‘मार्ग परिवर्तनः विचारभन्दा माथि देश’ शीर्षकमा गत वर्षको साउनमा मिश्रले एउटा दस्तावेज पार्टीमा छलफलका लागि अघि सारे, जसको पराकम्पन पार्टीभित्र मात्र सिमित रहेन । त्यस दस्तावेजमार्फत उनले संघीयता खारेज गर्नुपर्ने र धर्मनिरपेक्षतामाथि जनमतसंग्रह हुनुपर्ने पक्षमा आफूलाई उभ्याएका थिए । साथै, गणतन्त्रका विषयमा पनि आलोचनात्मक धारणा पेस गरेका थिए । दस्तावेज सार्वजनिक हुनासाथै  क्रान्तिकारी र परिवर्तनगामी कित्ताबाट उनीमाथि प्रहार सुरु भइहाल्यो । त्यो जमातले कत्ति पनि ढिलाइ नगरी उनलाई प्रतिगामीको ट्याग भिराइदिइहाल्यो ।

तर, अर्को कित्ताबाट मिश्रले बलियो समर्थन पनि पाए । संघीयता र धर्मनिरपेक्षता दिनानुदिन अलोकप्रिय बन्दै गएको परिप्रेक्षमा उनको विचारलाई जनताको ठूलो तप्काले साथ दिएकै हो । सामाजिक सञ्जालको कमाण्ड गर्ने टाठाबाठाहरु बाहेक ठूलो समुदायको सहानुभूति उनलाई मिल्यो । उनले विवेकशील-साझा पार्टीभित्र पनि दुई तिहाइ बहुमतबाट आफ्नो एजेन्डा पारित गराउन सफल भए । तर, यसले पार्टीको एउटा समूह उनीसँग मिल्नै नसक्ने गरी टाढियो ।

यहाँसम्म पनि ठीकै थियो । तर, मिश्रले जब पार्टीभित्र छलफलबिना नै राप्रपासँग एकताका लागि पहल थाले, त्यसपछि अर्को वखेडा सुरु भयो । उनले मनोमानी ढंगले पार्टी चलाउन खोजेको भन्दै नयाँ असन्तुष्ट समूह जन्मियो । यो समूहले मिश्र अल्पमतमा परेको दाबीसहित निर्वाचन आयोगमा निवेदनसमेत दियो । एक प्रकारको भाँडभैलो र अराजकतामा धकेलियो पार्टी । यसरी आफ्नै विचार समूहलाई पनि एक ढिक्का राख्न नसक्नुमा मिश्रको स्पष्ट कमजोरी झल्किन्छ ।

यही विश्रृंखलताबीच पार्टीले स्थानीय चुनावमा भाग लियो र दयनीय नतिजा भोग्यो । खराब चुनावी नतिजामा व्यक्तिगत जिम्मेवारी लिँदै अध्यक्षबाट राजीनामा दिएर मिश्रले आफ्नो नैतिक धरातल बलियो बनाए । त्यसयता उनी विवेकशील साझाको साधारण सदस्यको हैसियतमा मात्रै थिए । धेरैले उनी अब राजनीतिको मैदान छाडेर भाग्ने आँकलन पनि गरेका थिए । कति शुभचिन्तकले समेत उनलाई पुरानै पेशामा फर्किन सुझाव दिए । तर, सबैलाई जिल्याउँदै मिश्रले फेरि अर्को बोल्ड कदम चालेका छन् ।

यसअघि धर्मनिरपेक्षता र संघीयताको विरोधमा खडा भएका मिश्र गणतन्त्रको मुद्दामा भने खुल्न डराइरहेका थिए । पार्टी अध्यक्षबाट राजीनामा दिएसँगै उनले आफूलाई संवैधानिक राजसंस्थाको पक्षमा उभ्याए । सामाजिक सञ्जालमा फेरि एकपटक मिश्रमाथि प्रतिक्रियाको आँधि आयो । तर, फेरि पनि उनी डग्मगाएनन् । बरु आफ्नो राजनीतिलाई नयाँ शिराबाट अघि बढाउने निधो गर्दै उनी दक्षिणपन्थी धारको राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित हुन तयार भएका छन् ।

किन रोजे राप्रपा ?

विवेकशील-साझाको अध्यक्षबाट राजीनामा दिएपछि मिश्रसँग दुई विकल्प थिए- राजनीति छोड्ने वा अर्को पार्टीमा रोज्ने । राजसंस्थाको पक्षमा उभिएसँगै विवेकशीलका धेरै नेताहरुसँग उनको वैचारिक दूरी बढेको थियो । पहिलेदेखि साथ दिँदै आएकाहरु पनि उनको पक्षमा खुल्न सकेका थिएनन् । विवेकशीलमा उनका लागि अब कुनै स्कोप बाँकी थिएन ।

यता राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो महाधिवेशनमार्फत गत वर्षको मंसिरमा नयाँ नेतृत्वको चयन गर्यो । कमल थापालाई पन्छाउँदै राजेन्द्र लिङ्देनले पार्टीको बागडोर हासिल गरे । जनजाति समूदायको प्रतिनिधित्व गर्ने लोकप्रिय युवा नेता लिङ्देनको उदयले नै मिश्रको राप्रपामा प्रवेशको ढोका खुलेको हो । यदि कमल थापा नै अध्यक्षमा दोहोरिएको भए उनले राप्रपा रोज्ने सम्भावना न्यून थियो ।

लिङ्देन यस्ता नेता हुन्, जसका ‘हेटर्स’ निकै कम छन् । जनमानसमा राम्रो छवि भएका थोरै नेताहरुमध्ये पर्छन् उनी । कमजोर पृष्ठभूमिबाट आफ्नै बलबुतामा माथि उठेका, जातीय संकिर्णता नराख्ने तथा राष्ट्रवादी सोचको भएकाले राप्रपाबाहिर पनि उनीप्रति सहानुभूति छ । उनी साम्पद्रायिक राजनीतिमा विश्वास गर्दैनन् ।

लिङदेन नेतृत्वमा आएपछि राप्रपाले पुनर्ताजगी पाएको छ । उनले एकाफर्त ज्ञानेन्द्र शाहीजस्ता जोशिला युवाहरुलाई भित्र्याएर पार्टीको उर्जा बढाउने कोसिस गरेका छन् भने अर्कोतर्फ पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनीजस्ता भेट्रानहरुलाई पनि उचित सम्मान दिएर राखेका छन् । कमल थापा आफैं बाहिरिएपछि राप्रपामा लिङ्देनलाई चुनौती दिने अर्को कोही पनि छैन । मिश्रले पनि उनको नेतृत्वलाई सहजरुपमा स्वीकारेर राप्रपामा आउन तयार भएका हुन् ।

संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रको विपक्षमा खुलिसकेपछि राप्रपासँग मिश्रको कुनै वैचारिक अन्तराल बाँकी थिएन । एजेन्डामा समानता र नेतृत्वमा अनुकुलता पाएपछि मिश्र राप्रपासँग मिल्ने निष्कर्षमा पुगेका हुन् । उनको मूल उद्देश्य चाहीँ राष्ट्रवादी शक्तिहरुको वैचारिक ध्रुविकरण हो । कांग्रेस-एमालेको विकल्प बन्न सक्ने गरी देशमा एउटा नरम संवद्र्धनवादी शक्ति निर्माण गर्ने उनको दिर्घकालीन अभिष्ट छ ।

के छन् अवसर र चुनौती ?

देशमा जुन किसिमको राजनीतिक माहोल छ, त्यसलाई हेर्दा राप्रपा रोज्ने मिश्रको निर्णयलाई निकै साहसिक र जोखिमयुक्त मान्नुपर्छ । गणतन्त्रमाथि प्रश्न उठाउनासाथै सिधै प्रतिगामी करार गरिने देशमा घोषित राजावादी पार्टीमा प्रवेश गर्दा आफूमाथि एउटा तप्काबाट वर्षिन सक्ने गाली र लाञ्छनाबारे मिश्र पक्कै अञ्जान थिएनन् । सामाजिक सञ्जालको भेडोलखेटाइलाई धैर्यतापूर्वक सामना र प्रतिवाद गर्दै उनले राप्रपा रोजेका हुन् । यो निर्णय उनको राजनीतिक जीवनको एउटा ठूलो टर्निङ प्वाइन्टका रुपमा रहने छ ।

राप्रपामा मिश्रसँग अवसर पनि हुनेछन् र चुनौती पनि । देशमा दक्षिणपन्थी रुझानको बलियो पार्टीका लागि मैदान खालीजस्तै छ । गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताजस्ता ‘परिवर्तनका एजेन्डा’हरुलाई नरुचाउने ठूलो जनमत नेतृत्वविहीन अवस्थामा छ । राप्रपाले त्यो जनमतलाई रिझाउन किन सकिरहेको थिएन भने यसको नेतृत्वमा आशालाग्दा अनुहारहरु कम थिए । अब लिङ्देन र मिश्रको गठजोडसँगै राप्रपाले एउटा सक्षम र `सेलेवल´ नेतृत्व पाएको छ, जसले तटस्थ जनमतलाई आकर्षित गर्न सक्छ । यसको पहिलो परीक्षा आगामी चुनावमा हुनेछ ।

मिश्रले राप्रपामा वरिष्ठ उपाध्यक्षका रुपमा दोस्रो नेताको हैसियत पाएका छन् । यसको अर्थ उनी प्रतिक्षरत अध्यक्ष पनि हुन् । पार्टीभित्र आफ्नो प्रभाव र प्रभूत्व बढाउँदै लगे आउँदो महाधिवेशनसम्ममा उनी मुख्य नेतृत्वको दावेदार बन्न सक्नेछन् । यद्यपी, त्यतिञ्जेलसम्म लिङ्देनसँग समन्वय र समझदारीमा अघि बढ्नुको विकल्प भने छैन ।

राप्रपाभित्र आफूलाई स्थापित गराउन मिश्रका लागि त्यति सजिलो पनि देखिँदैन । पार्टीभित्र धेरै नेताहरु पुरानो ढर्राका छन् । विचारमा समानता नभए पनि व्यवाहारमा उनीहरुसँग मिश्रको संगति नमिल्न सक्छ । अहिल्यै केही नेताहरु उनलाई आफूभन्दा माथिको हैसियतमा ल्याएकोमा असन्तुष्ट रहेको बताइन्छ । भोलिका दिनमा पनि उनले आन्तरिक प्रहार र गुटबन्दीको सामना गर्नुपर्ने हुन सक्छ ।

मिश्रले विवेकशील साझाबाट कति नेताहरु राप्रपामा लैजान सफल हुन्छन् र उनीहरुलाई कुन तहमा एड्जस्ट गराउन सक्छन् भन्ने प्रश्न पनि महत्वपूर्ण छ । अहिलेसम्म पदाधिकारी तहमा उनीसँग जाने कसैको स्थान निश्चित नभएको बताइन्छ । केन्द्रीय समितिमा कति सदस्यहरु उनको समूहबाट हुन्छन् भन्ने तय भएको छैन । जे भए पनि राप्रपामा उनको ‘गुट’ धेरै बलियो हुन सक्ने अवस्था छैन । त्यसैले, उनले पार्टीमा प्रभाव जमाउनका लागि आम कार्यकर्ताहरुकै मन जित्न सक्नुपर्छ ।

तत्कालका लागि भने मिश्रको आगमनलाई लिएर पार्टीपंतिमा सुखद माहोल छ । कार्यकर्ताहरु हौसिएका छन् । यसले आउँदो चुनावमा निकै सकारात्मक प्रभाव पार्न सक्ने उनीहरुको आशा छ ।

रवीन्द्र मिश्रले राप्रपामा आउनुअघि नै काठमाडौं १ बाट चुनाव लड्ने मनस्थिति बनाइसकेका छन् । अब उनी सो क्षेत्रमा राप्रपाका उम्मेदवार हुने लगभग तय छ । यसअघिको चुनावी आँकडा हेरेर अहिलेको गणित अनुमान गर्न त नसकिएला तर व्यक्तिगत लोकप्रियताको मतमा राप्रपाको मत जोडिँदा उनी एक बलिया उम्मेदवारका रुपमा खडा हुनेछन् । र, यदि उनले सोचेजस्तो एमालेबाट पनि भित्री समर्थन पाए भने चुनाव जितेर संसदमा आफ्नो उपस्थिति सुनिश्चित गर्न कठिनाइ छैन । यद्यपि, राप्रपामा लाग्दा उनीसँग असन्तुष्ट बनेको गणतन्त्रवादी जमात पनि ठूलै छ ।

यदि सोचेजस्तो भयो भने राप्रपाले अबको चुनावबाट राष्ट्रिय पार्टीको मान्यता फिर्ता ल्याउनुका साथै संसदमा चौंथो शक्तिको हैसियत कायम गर्न सक्छ । त्यो अवस्थामा नयाँ सरकार निर्माणमा उसले महत्वपूर्ण भूमिका खेल्ने र आफैं सरकारमा सहभागी हुने अवसर पनि पाउनेछ । त्यो भनेको मिश्रका लागि पनि मन्त्री बनेर आफ्नो क्षमता देखाउने अवसरको ढोका खुल्नु हो ।

रवीन्द्र मिश्रसँग राजनीतिकर्मीमा हुनुपर्ने धेरै गुण छन् र केही कमजोरी पनि । उनको वाकपटुता र तार्किक क्षमता उच्च कोटीको छ । राष्ट्रिय–अन्तर्राष्ट्रिय परिवेशसँग अपडेटेड अध्ययनशील नेता हुन् उनी । राष्ट्रप्रेमी साेच र देश परिवर्तन गर्ने हुटहुटी उनकाे सबैभन्दा सबल पक्ष हाे । पछिल्लाे समय वैचारिक प्रष्टता र त्यसमा बलियाे अडान लिनसक्ने सामर्थ्य पनि उनले देखाएका छन्।

विवेकशील-साझाको नेतृत्व गर्ने क्रममा मिश्रका केही कमजोरी पनि देखापरे । सबैलाई मिलाएर लैजान नसक्ने र तानाशाही शैलीमा आफ्नो निर्णय लाद्न खोज्ने उनको कमजोरी रहेको आलोचकहरु बताउँछन् । सामाजिक सञ्जालमा उनी अत्यधिक प्रतिक्रियात्मक लाग्छन् । बेलाबखत भावनामा बहिकिएका स्टाटस र ट्विटले उनको अपरिपक्वता झल्किन्छ । अनि मिडियामा आवश्यकताभन्दा बढी छाउँदा उनलाई फाइदाभन्दा घाटा धेरै भएको हुन सक्छ । कतिपय मानिसहरु मिडियामा बारम्बार देखिने अनुहारसँग यत्तिकै ‘इरिटेड’ हुन्छन् ।

आजबाट राप्रपाका वरिष्ठ उपाध्यक्ष बन्दैछन् मिश्र । फेरि एकपटक सामाजिक सञ्जालको आँधितुफान सामना गर्नु नै छ उनले । तर, सामाजिक सञ्जालले नै देशको जनमत बोक्दैन भन्ने पटक-पटक पुष्टि भइसकेको कुरा हो । यसर्थ तालीबाट हौसिने र गालीबाट तर्सिने नगरीकन धैर्यतापूर्वक अघि बढेको खण्डमा नेपाली राजनीतिमा उनले आफ्नो बेग्लै छाप छोड्न सक्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *