लोसपाका ६ जना केन्द्रीय सदस्य र कपिलवस्तु जिल्ला समिति एमालेमा समाहित (तस्बिरहरू) – Nepal Press

लोसपाका ६ जना केन्द्रीय सदस्य र कपिलवस्तु जिल्ला समिति एमालेमा समाहित (तस्बिरहरू)

रूपन्देही । कपिलवस्तुमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का छ जना केन्द्रीय सदस्य र कपिलवस्तु जिल्ला समितिसहित ठूलो संख्यामा एमालेमा समाहित भएको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले उनीहरूसहित संख्यामा कार्यकर्तालाई नेकपा (एमाले) मा स्वागत गरेका छन् ।

मंगलबार कपिलवस्तुको पकडीमा आयोजित विशाल जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा लोसपाका केन्द्रीय सदस्यहरू मधुसदन शरण चौधरी, सन्तराम अग्रहरी, भगवानदास चौधरी, राजमति यादव, सरसती चमकटिया र जामवन्ती भुज (गुप्ता) एमालेमा प्रवेश गरेका हुन् ।

त्यसैगरी, लोसपाका कपिलवस्तु जिल्ला समितिका अध्यक्ष कैलाश अग्रहरी र सिङ्गो जिल्ला समितिका साथै मातहतका सबै समितिलाई पनि एमालेमा समाहित भएको घोषणा गरिएको थियो ।

नवप्रवेशीहरूलाई नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले माला र अवीर लगाई पार्टीमा स्वागत गरेका थिए । उपमहासचिव प्रदीप ज्ञवालीले हुलाकी सडक बनेसँगै तराईको मुहार फेरिएको र तराई मधेश समृद्धि कार्यक्रम, सीमा क्षेत्र विकास, राजमार्गलाई चौडा पार्ने काम, राजमार्गदेखि तराईको सदरमुकामका जिल्लालाई चार लेनको सडकमा विस्तार गर्ने काम एमाले सरकारले गरेको बताए ।

विगतमा एमाले सरकारले नागरिकता अध्यादेश ल्याएर नागरिकताको समस्या समाधान गर्न खोजेको भए पनि सेटिङमा चल्ने सर्वोच्च अदालतले रोक लगाएको स्मरण गर्दै नेता ज्ञवालीले एमाले नागरिकता समस्याको स्थायी समाधानको पक्षमा रहेको स्पष्ट पारे । जनसभामा बोल्दै नव प्रवेशी नेता चौधरीले आफू मधेशको सच्चा कार्यकर्ता भएको र देशको एक मात्र सच्चा पार्टी एमाले देखिएकाले आफूहरू सामुहिक रूपमा एमालेमा प्रवेश गरेको बताए ।

केही दिनअघि एमाले प्रवेश गरेकी निवर्तमान सांसद अमृता अग्रहरीले ३० वर्ष मधेशवादी राजनीति गरे पनि मधेशको मुक्ति एमालेबाट मात्र सम्भव देखेर हजारौं नेता कार्यकर्ता एमाले प्रवेश गरेको बताइन् ।

नेता दानबहादुर चौधरीले यतिबेला तराई मधेशमा एमालेको लहर देखेर पाँचदलीय गठबन्धन चुनाबबाट डराइरहेको बताए । यस्तै, एमाले प्रवेश गरेका लोसपाका जिल्ला अध्यक्ष कैलाश अग्रहरीले मधेशवादी दल वास्तवमै विदेशीका गोटी बनेकाले आफूहरू एमाले प्रवेश गरेर राष्ट्रहित प्रवद्र्धन गर्न तयार भएको बताए ।

नेकपा (एमाले) कपिलवस्तुका जिल्ला अध्यक्ष डम्मर शर्माको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका नेता पशुपति दयाल मिश्र, मंगलप्रसाद गुप्ता लगायतले सम्बोधन गरेका थिए ।


प्रतिक्रिया

One thought on “लोसपाका ६ जना केन्द्रीय सदस्य र कपिलवस्तु जिल्ला समिति एमालेमा समाहित (तस्बिरहरू)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर