डोटीमा गठबन्धन नचाहिने कांग्रेसका ९ वटै पालिका सभापतिको निष्कर्ष, केन्द्रले पेले प्रचार र मतदान नगर्ने – Nepal Press

डोटीमा गठबन्धन नचाहिने कांग्रेसका ९ वटै पालिका सभापतिको निष्कर्ष, केन्द्रले पेले प्रचार र मतदान नगर्ने

कैलाली । कांग्रेसबाहेक अन्य दलले टिकट पाए गठबन्धन नगर्ने बैतडी कांग्रेसले गरेको निर्णयको भोलिपल्टै डोटी कांग्रेसले पनि जिल्लामा गठबन्धन गर्न आवश्यक नरहेको निर्णय गरेको छ ।

मंगलबार सदरमुकाम दिपायल सिलगढीमा बसेको डोटीका ९ वटै स्थानीय तहका सभापतिहरूको बैठकले जिल्लामा नेपाली कांग्रेस एक्लै निर्वाचनमा होमिँदा पनि बलियो रहेको भन्दै गठबन्धनका उम्मेदवारलाई भोट नहाल्ने निर्णय गरेको हो । गत स्थानीय तहमा पनि केन्द्रको निर्णयविरुद्ध कांग्रेस एक्लै निर्वाचनमा होमिएको र त्यसमा सफल भएको कांग्रेसको दाबी छ । एक्लाएक्ले लड्दा यहाँको ९ पालिकामध्ये साढे सातमा जितेको निर्णयमा उल्लेख गरिएको छ ।

स्थानीय तहमा पनि सफल भएको भन्दै यसपटक पनि यहाँ गठबन्धन नगर्न केन्द्रलाई दबाब दिने उद्देश्यले यहाँका सबै पालिकाका सभापतिहरूको बैठकले गठबन्धनको विरुद्धमा सर्वसम्मत निर्णय गरेका हुन् ।

‘गएको स्थानीय निर्वाचनमा पनि केन्द्रीय कमिटीको निर्णयविरुद्ध जाँदा डोटीका ९ मध्ये साढे ७ स्थानीय तहमा कांग्रेसले सफलता पाएको सर्वविदितै छ’, बैठकले गरेको निर्णयमा भनिएको छ, ‘डोटी कांग्रेस गठबन्धनका विरुद्धमा रही केन्द्रीय नेतृत्वलाई दबाब सृजना गर्न सर्वसम्मत निर्णय गरियो ।’

पार्टीको केन्द्रीय समितिले गर्ने प्रचारमा पनि आफूहरूको संलग्नता नरहने तथा गठबन्धनका उम्मेदवारलाई मतदान नगर्ने उनीहरूको निर्णय नै गरेका छन् । जिल्लाका ९ वटै पालिकाका सभापतिहरू गठबन्धन नगर्ने पक्षमा रहेको निर्णयमा भनिएको छ ।

यसअघि नै जिल्ला कार्यसमितिले पनि गठबन्धन स्वीकार नगर्ने निर्णय गरिसकेको छ । कांग्रेसको भ्रातृ सङ्गठन तरुण दलले पनि प्रेस विज्ञप्ति जारी गर्दै गठबन्धन स्वीकार गर्न नसकिने जनाएको थियो ।

एउटा मात्र निर्वाचन क्षेत्र रहेको डोटीमा सत्ता गठबन्धनमा अहिलेसम्म कसले पाउने भन्ने निश्चित भइसकेको छैन तर, उच्च स्रोतका अनुसार प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा वा नेकपा (एकीकृत समाजवादी)का प्रेम आलेले दिन तयार भइसकेका छन् । यहाँ कांग्रेसका प्रदेश सभापति तथा पूर्वमन्त्री वीर बहादुर बलायर र मुख्यमन्त्री त्रिलोचन भट्टले पनि दाबी गरेका छन् । प्रधानमन्त्री तथा पार्टी सभापति निकट मानिएका बलायरलाई देउवाले कैलाली ४ र ५ मध्ये रोज्न भनेपछि यहाँ आलेले पाउने करिब निश्चित भइसकेको छ ।

तर, कांग्रेस बलियो रहेको डोटीका नेताहरू गठबन्धनको विरोधमा उत्रिएपछि आलेलाई संकट पर्ने देखिन्छ । २०७४ सालको निर्वाचनमा प्रतिनिधिसभातर्फ कांग्रेसका बलायरलाई आलेले १ हजार ६३२ मत अन्तरले पराजित गरेका थिए । ७४ मा बलायर हराएका आले २०७० सालमा डोटी–२ बाट सांसद बनेका थिए । त्यो बेला बलायर डोटी-१ बाट विजयी भएका थिए ।

स्थानीय तहमा वडाध्यक्षले पाएको मतमा यो क्षेत्र नेपाली कांग्रेस निकै अगाडि छ । कांग्रेस ३४ हजार ४७ मत पाउँदा एमाले २४ हजार ९१६ पाएको छ । त्यसैले माओवादीले ७ हजार ७८९, नेकपा एकीकृत समाजवादीले ३ हजार २०५र राप्रपाले ९८७ मत पाएको छ ।

देउवाले बलायरलाई विकल्प दिए पनि बलायरसँगै उम्मेदवारको लागि सिफारिस भएकाहरू भने अहिले गठबन्धनको विरोधमा छन् । असोज ८ गते नेपाली कांग्रेस नेता भरत खड्काले शेखर कोइराला समूहले ७७ वटै जिल्लामा उम्मेदवारी दिने हैसियत राख्नुपर्ने बताएका थिए । बलायरसँगै खड्का पनि यो क्षेत्रबाट प्रतिनिधि सभा निर्वाचनमा होमिने तयारीमा छन् । उनी यसअघि प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

शेखर समूहले काठमाडौँमा आयोजना गरेको खबरदारी सभामा खड्काले ७७ वटै जिल्लामा उम्मेदवारी दिने हैसियत राख्नुपर्ने बताएको केही दिनमा उनकै जिल्लमा गठबन्धन नगर्ने निर्णयलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।


प्रतिक्रिया

One thought on “डोटीमा गठबन्धन नचाहिने कांग्रेसका ९ वटै पालिका सभापतिको निष्कर्ष, केन्द्रले पेले प्रचार र मतदान नगर्ने

  1. सही निर्णय । म त तपाईहरूको निर्णयको सम्मान गर्छु र काँगरेसका अरू जिल्लाका नेताहरूलाई पनि यस्तै निर्णय गर्न अनुरोध गर्छु ।

Leave a Reply to ksp pyl Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर