नेपाली नर्सलाई बेलायत पठाउन ‘दलाल’ लाग्न थालेपछि मन्त्रालयले दियो कारबाहीको चेतावनी – Nepal Press

नेपाली नर्सलाई बेलायत पठाउन ‘दलाल’ लाग्न थालेपछि मन्त्रालयले दियो कारबाहीको चेतावनी

काठमाडौं । श्रम मन्त्रालयले नेपाली नर्सलाई बेलायत पठाउन दलाल लागेपछि कारबाही गर्ने चेतावनी दिएको छ । मंगलबार मन्त्रालयका सहसचिव एवम् प्रवक्ता डण्डुराज घिमिरेले विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन् ।

केही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्रपत्रिकाहरुमा नेपाली नर्सहरुलाई बेलायतमा रोजगारीका लागि सरकारका अधिकारीहरुसँग समन्वय गराइदिन्छु भन्दै झुटो आश्वासन दिएर ठगी गरेकोप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको घिमिरेले जनाएका छन् । यस्ता कार्यले सुरक्षित र व्यवस्थित आप्रवसान नीति कार्यान्वयनमा जटिलता आउने भन्दै संलग्न व्यक्ति वा संस्थालाई यस्तो कार्य नगर्न र नगराउन मन्त्रालयले सचेत पनि गराएको छ । अन्यथा, वैदैशिक रोजगार ऐन, २०६४ र अन्य सम्वद्ध कानूनबमोजिम कडा कारबाही हुने विज्ञप्तिमा स्पष्ट पारिएको छ ।

बेलायतमा नेपाली नर्सलाई रोजगारीका लागि पठाउन विषयमा बेलायत सरकार सम्बद्ध अधिकारीहरुसँग निरन्तर वार्ता गरी कार्यान्वयन ढाँचालाई अन्तिम रुप दिने कार्य भइरहेको प्रवक्ता घिमिरेले उल्लेख गरेका छन् ।

त्यस्तै, कार्यान्वयन प्रोटोकललाई नेपाल सरकारले स्वीकृत गरेपछि नेपाली स्वास्थ्यकर्मीहरुलाई बेलायतमा रोजगारी प्रदान गर्दा कुनै पनि शुल्क नलाग्ने र छनौट पैक्रिया पारदर्शी तवरले बेलायत सरकारको स्वास्थ्य तथा सामाजिक सेवा मन्त्रालयल र नेपालको वैदेशिक रोजगार विभागबाट संयुक्त रुपमा कार्यान्वयन हुने विज्ञप्तिमा भनिएको छ । जसका लागि वैदेशिक रोजगार विभागमा एक छुट्टै कार्यान्वयन इकाईसमेत स्थापना गरिएको प्रवक्ता घिमिरेले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर