ईलाका प्रहरी कार्यालय बेलवारीको नवनिर्मित भवनको उद्घाटन – Nepal Press

ईलाका प्रहरी कार्यालय बेलवारीको नवनिर्मित भवनको उद्घाटन

विराटनगर । ईलाका प्रहरी कार्यालय बेलवारीको नवनिर्मित कार्यालय भवनको उद्घाटन गरिएको छ । मंगलबार एक कार्यक्रमका बीच १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले भवनको उद्घाटन गरेका हुन् ।

भवन उद्घाटनको क्रममा कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री कार्कीले जनताको जीउधनको सुरक्षाको प्रमुख जिम्मेवार रहेको प्रहरी सुरक्षित भयो भने मात्र सयौं नागरिक सुरक्षित हुने हुँदा प्रहरी बस्ने भवन सुरक्षित र व्यवस्थित बनाउन प्रदेश सरकार हरदम तयार रहेको बताए । मन्त्री कार्कीले प्रहरी चौकीका भवन मात्रै नभएर विकासका हरेक गतिविधि संघीयता संगै चलायमान हुँदै गएको बताए ।

मोरङका प्रमुख जिल्ला अधिकारी कांशीराज दहालले सुरक्षाका लागि प्रदेश सरकारले महत्वपूर्ण काम गरेको बताए । प्रदेश सरकार आएपछि प्रहरीको सुरक्षाका साथै भवनको निर्माण तथा व्यवस्थापन अनुभूति हुने गरि गरेको बताए ।

१ नम्बर प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले २४ सै घण्टा ड्युटीमा रहनु पर्ने प्रहरी कर्मचारीहरुलाई भौतिक सुविधा सम्पन्न यस्ता भवनले थप मनोवल बढ्ने र कार्यक्षेत्रमा समेत हौसलाका साथ प्रहरी चुस्त र दुरुस्त भई नागरिकको सुरक्षामा खटिने बताए ।

प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट बिनियोजित २ करोड २९ लाख १३ हजार २ सय ७६ रुपैया २५ पैसाको लागतमा साँढे २ तले कार्यालय भवनको निर्माण भएको हो । कार्यक्रममा स्थानीय जनप्रतिनिधीहरु, नागरीक समाजका प्रमुख तथा प्रतिनिधीहरु, संचारकर्मी, स्थानीयवासी लगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर