भरत र विमलको होड : कसले पहिला भेट्टाउला नीराजन र हरिलाई ? – Nepal Press

भरत र विमलको होड : कसले पहिला भेट्टाउला नीराजन र हरिलाई ?

काठमाडौं। अन्तर्राष्ट्रिय फुटबलमा हरि खड्काले बनाएको १९ वर्ष लामो कीर्तिमान अझै तोडिएको छैन । खड्का नेपालका लागि सिनियर अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी हुन् ।

उनले नेपाली टोलीबाट ४१ खेलमा १३ गोल गरेका थिए । सन् २००८ मा हरिको उक्त कीर्तिमान नीराजन रायमाझीले बराबरी गरेपनि तोड्न भने सकेनन् ।

माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा नीराजनले पाकिस्तानविरुद्ध गोल गर्दै हरिको नाममा रहेको राष्ट्रिय कीर्तिमान बराबरी गरेका थिए। यसबीचमा राष्ट्रिय टोलीमा दर्जनौँ खेलाडीको ओहोरदोहोर भयो तर यी दुई खेलाडीको नाममा रहेको कीर्तिमान तोडिन सकेको छैन ।

पछिल्लो समय नेपालले नियमित रूपमा अन्तर्राष्ट्रिय फुटबल खेलिरहेपनि गोलको खडेरी देखिन्छ । नेपालले मङ्गलवार मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा बंगलादेशसँग खेल्दै छ, दशरथ रंगशालामा ।

नजिक भरत र विमल

नीराजन र हरिको नाममा रहेको राष्ट्रिय कीर्तिमान तोड्न सक्ने नजिकको खेलाडीमा भरत खवास र विमल घर्तीमगर देखिन्छन् । ११ गोल गरेका जुमानु राई र १० गोल गरेका अनिल गुरुङले सन्न्यास लिइसकेका छन् ।

भरत खवासले पनि नेपाली टोलीबाट १० गोल गरेका छन् । सन् २००८ मा सिनियर राष्ट्रिय टोलीबाट डेब्यु गरेका भरत पछिल्लो समय राष्ट्रिय टोलीमा ओहोरदोहोर भइरहेका छन् ।

उनले नियमित रूपमा स्थान बनाउन सकेका छैनन्। भरतले अन्तिम पटक सन् २०१९ को सेप्टेम्बरमा अन्तर्राष्ट्रिय गोल गरेका थिए।

बंगलादेशमा भएको साफ च्याम्पियनसिपअन्तर्गत भुटानविरुद्ध उनले उक्त गोल गरेका थिए। त्यसयता गोल गर्न सकिरहेका छैनन्।

बंगलादेशविरुद्ध मङ्गलवार हुने मैत्रीपूर्ण खेलमा पनि भरत टोलीमा छैनन्। भरतले नेपालबाट ५७ खेल खेलेका छन्। विमलले ३९ खेलमा ९ गोल गरेका छन्। उनले सन् २०१२ मा सिनियर राष्ट्रिय टोलीबाट डेब्यु गरेपनि केही समय चोटका कारण मैदानबाहिर रहेका थिए।

विमलले गत जनवरीमा दशरथ रंगशालामा मरिससविरुद्ध भएको मैत्रीपूर्ण खेलमा गोल गरेका थिए। त्यतिबेला उनी नेपाली टोलीबाट ४ वर्षपछि गोल गर्न सफल भएका थिए।

विमलसहित हाल नेपाली टोलीमा रहेका खेलाडीमध्ये अन्जन विष्टले ५१ खेलमा ७ गोल गरेका छन्। टोलीबाहिर रहेका नवयुग श्रेष्ठले पनि ४० खेलमा ७ गोल गरेका छन्।

गोलको खडेरी

नेपालले पछिल्ला ५ अन्तर्राष्ट्रिय खेलमा केवल एक गोल गरेको छ भने १७ गोल ब्यहोरेको छ। नेपालले पछिल्ला लगातार ५ अन्तर्राष्ट्रिय खेलमा हार ब्यहोरेको छ।

सन् २०२० यता नेपालले खेलेका २१ खेलमा ६ जित, १२ हार र ३ बराबरी खेलेको छ। बंगलादेशसँग नेपालले खेलेका पछिल्ला चार खेलमा एक जित र तीन बराबरीको नतिजा निकालेको छ।

यीमध्ये दुई खेल गोलरहित बराबरी र एउटा खेल १(१ गोलको बराबरीमा सकिएको थियो। नेपालले गत चैतमा भएको मैत्रीपूर्ण खेल भने २(१ गोलले जितेको थियो।

यी दुई टोली अन्तिम पटक एक वर्षअघि साफ च्याम्पियनसिपको समूहगत चरणमा भिडेका थिए जुन खेल १(१ गोलको बराबरीमा सकिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *