दशैंमा जाने घर छैन, आफ्नो जात-थर छैन ! (भिडिओसहित) – Nepal Press

दशैंमा जाने घर छैन, आफ्नो जात-थर छैन ! (भिडिओसहित)

घर नहुनुको मतलब बस्ने ठाउँ नहुनु होइन । बाआमा नहुनुको मतलब ममता र माया नपाउनु पनि होइन । थर नहुनु भनेको पहिचानै नहुनु पनि होइन ।

यी तीनैथोक नभएकाहरुसँग पनि जिन्दगीमा धेरै थोक हुन्छ । उनीहरुसँग सपना हुन्छ । सानातिना रहर हुन्छन् । कसैगरी पनि हिँड्नैपर्ने एक स्वप्नील यात्रा पनि हुन्छ ।

१८ वर्षीय राजेश ओने यिनैमध्ये एक हुन् । राजेशसँग धेरै जनाको ठेगाना थाहा छ । आफ्नै घरको ठेगानामात्रै थाहा छैन । धेरै मान्छेका बाआमा हुन्छन् भन्ने थाहा छ । तर, उनको आफ्नै बाआमा छैनन् । प्रायः सबैका जात र थर हुन्छन् भन्ने पनि याद छ उनलाई । तर, उनको आफ्नै जात र थर छैन ।

उनले पाएको थर ‘ओने’ ओसिड नेपाल नामक संस्थाले दिएको हो । सीडीओ कार्यालयमार्फत् अनाथ करार गरेपछि राजेशले आफ्नो थर पाए, ‘ओने’ । जो उसको जीवनको अति प्रिय चिजहरुमध्ये एक हो । यही नामबाट उनले नागरिकता पाउनेछन् ।

अहिले १२ कक्षामा म्यानेजमेन्ट पढ्दैछन् राजेश । ओसिड नेपाल आश्रममा आएको पनि १५ वर्ष भयो । ३ वर्षको हुँदा आइपुगेका राजेशलाई थाहा छैन, ‘म यहाँ कसरी आइपुगेँ ?’

दशैं सुरु भएको छ । मान्छेहरु बाआमाको आशीर्वाद लिन घर फिर्न थालेको देखेका छन् उनले । सहरका पसलहरुमा बाआमाको हात समातेर सपिङमा निस्किएका बालबच्चा पनि देखेका छन् । तर, त्यस्ता दृश्यले पनि राजेशलाई छुँदैन । बाको काँध र आमाको काख कस्तो हुन्छ ? उनलाई थाहा छैन । बाआमा हुन्छन् भन्ने त थाहा छ उनलाई । तर, बाआमाको माया र ममता कस्तो हुन्छ थाहा छैन । ओसिडको अफिसमा पढिरहेको अवस्थामा भेटिएका राजेश भन्छन्, ‘मेरो त घर नै यही हो । दशैं यही मनाउँछौं ।’

राजेशलाई घर खोज्नु पनि छैन । बाआमा खोज्नु पनि छैन । किनभने उनलाई थाहा छ, जीवनमा उनी सबैथोक पाउन सक्षम छन् । तर, आफ्नो असली बाआमाको ठेगाना सम्भव छैन । उनलाई नभेटिने चिज खोज्ने चाहना पनि छैन ।

राजेश जस्तै अर्का पात्र हुन्, हिमाल ओने । १४ वर्षीय हिमालको पृष्ठभूमि पनि राजेशको भन्दा फरक छैन । दुईतीन महिनाको हुँदा ओसिड नेपालमा आइपुगेका हिमाल अहिले ७ कक्षामा पढ्छन् । हिमालसँग माया र ममताको जेजति स्मृतिहरु छन्, ती सबै ओसिड नेपालसँग जोडिएका छन् । उनका सम्झनाहरु ओसिड नेपालसँगै ठोक्किएका छन् । यही संस्थाबाट जस्तो न्यानो पाए, त्यति नै काफी छ हिमाललाई ।

१५ वर्षीया सोनी ओनेलाई त बाआमा भेटौं जस्तो पनि लाग्दैन । आफ्नो नाम कसले सोनी राखिदियो, त्यो पनि थाहा छैन उनलाई । ९ कक्षामा पढिरहेकी छन् । पेन्टिङमा रुचि छ । चित्रहरु बनाउँछिन् । कहिले कसरी ओसिड आइपुगेकी थिइन्, उनलाई थाहै छैन ।

दशैं कसरी मनाउने भन्दा उनको जवाफ हुन्छ, ‘रमाइलो गर्ने, खेल्ने । घुम्ने । मासुभात खाने । टीका लगाउने ।’ ओसिड नेपालका पदाधिकारीहरुले दशैंको दिन उनीहरुलाई टीका लगाइदिन्छन् । आशीर्वाद दिन्छन् ।

मिडियामा सेलिब्रेटीहरुले ‘सानोमा पाएको दक्षिणा’ शीर्षकमा बोलेका कुराहरु आइरहेका छन् । बाल्यकालीन स्मृति र मामाघरका प्रसंगहरु आइरहेका छन् । तर, हिमाल, सोनीहरुलाई न दक्षिणा न त मामाघर ! बरु सोनी भन्छिन्, ‘घर थाहा छैन । यहाँ कतिवेला आएँ त्यो पनि थाहा छैन । तर, दशैं रमाइलो गरेर मनाउँछौं ।’

ओसिडमा प्रायः अधिकांशलाई घरको ठेगाना थाहा नभए पनि १३ वर्षीय सुदीपसिंह लामालाई भने आफ्नो घरको ठेगाना थाहा छ । ६ कक्षामा पढ्दै गरेका सुदीपको घर काभ्रे हो । घरमा उसको शारीरिक रुपमा अशक्त बा छन् । छ वर्षअघि ओसिडमा आइपुगेका सुदीपको आमा बितेको पाँच वर्ष भयो ।

सुदीपको भाइ वीरसिंह लामा पनि पाँचै वर्षका भए । वीरसिंह पनि ओसिडमै छन् । दुई महिनाको हुँदा ओसिडमा आइपुगेका वीरसिंह अहिले मज्जाले गीत गाउन सक्छन् । युकेजीमा पढ्दैछन् ।

चार वर्षअघि सुदीपसिंह आफ्नो घर काभ्रे गएका थिए । दशैं मनाएर ओसिड नै फिरे । घरको जर्जर आर्थिक अवस्था र पढ्ने हुटहुटीले भाइलाई लिएर फेरि ओसिड आइपुगे । अहिले त ओसिड नै घरजस्तो लाग्ने बताउँछन् सुदीपसिंह ।

एक वर्षको हुँदा ओसिड आइपुगेकी निलम ओने पनि हिमाल र राजेशजस्तै हुन् । उनलाई आफू कहाँबाट आएको भनेर थाहा छैन । तर, भन्छिन्, ‘पछि ठूलो भएपछि, पैसा कमाएपछि घर र बाआमा खोज्ने मन छ । कहिलेकाहीँ परिवार भए हुन्थ्यो भन्ने लाग्छ ।’

ओसिडमै हुर्किएर आफ्नै असली थरबाट नागरिकता पाएकामध्ये एक हुन् प्यूठानकी मधु घर्ती । उनी भर्खरैमात्र गाउँमा गएर नागरिकता बनाएर फिरेकी छन् । सानै हुँदा आएकी मधु अहिले १२ कक्षा पास गरेर बेकरीको ट्रेनिङ सिकिरहेकी छन् । भन्छिन्, ‘नागरिकता बनाएँ । अब बेकरीको ट्रेनिङ सकाएर आफैं आत्मनिर्भर हुन्छु ।’

दशैंको छेकोमा सबैको एकै योजना हो, सँगै रहेर रमाइलो गर्ने । खाने । खेल्ने । घुम्न जाने । यसभन्दा पर आश्रमका यी बालबालिकाले दशैं देखेकै छैनन् । ओसिडको कम्पाउण्डभित्रै उनीहरुले दशैं सेलिब्रेट गर्दैछन् ।

र, यी सबैलाई माया र ममताको खाँचो हुन नदिने साझा आमा हुन् नैना चौधरी । कैलालीकी नैनाले ओसिडमा दुई तीन महिनादेखि वर्षदिनका शिशुहरुको गुमुत सोहोरेर हुर्काउन थालेको पनि २० वर्ष भयो । कति हुर्किएर गए, कति हुर्किंदैछन् ।

पहिला धनगढीमा पनि ओसिडको शाखा हुँदा त्यहाँ काम गरिन् । पछि काठमाडौं सिफ्ट भइन् । यो २० वर्षमा उनले सयौं बच्चा हुर्काइन् । दुई महिनाको रातो शिशुदेखि दुई वर्षको बच्चासम्मलाई हुर्काइन् । कतिले त छाडेर गइसके पनि ।

नैना भन्छिन्, ‘यहाँ कतिपय बच्चा हुर्किएर गए । गएपछि गएको गयै गर्छन्, सम्झंदैनन् । मलाई चाहिँ सबैको सम्झना आउँछ । एकदमै माया लाग्छ । म आफैंले गुमुत सोहोरेर हुर्काएका बच्चाहरुको माया त लागिहाल्छ नि !’

अहिले भएकामध्ये १५ वर्षीया सोनी ओने दुई महिनामा आएकी थिइन् । १४ वर्षीय हिमाल ओने तीन महिनाका थिए । पाँच वर्षीय वीरसिंह पनि दुई महिनाका थिए । शिव ओने डेढ वर्षका थिए ।

४५ वर्षीया नैनाले आफ्नै बालबच्चा जन्माइनन् । विवाह गरिनन् । आश्रमका बालबच्चाले ‘ममी’ भनेर सम्बोधन गर्छन् । त्यही सम्बोधन नै काफी छ उनलाई जीवनमा मुस्कुराउन ।

नैना भन्छिन्, ‘यिनीहरुले पनि छाडेर जान्छन् भोलिपर्सि । म आमा भएँ यिनीहरुले नै गर्दा । मैले विवाह गरिनँ । यिनीहरु मेरा बालबच्चा हुन् । हुर्किएर गएका बच्चाहरु सम्झिँदा त उनीहरुले पनि आफ्नो जीवन बनाउनुपर्छ । अहिलेकाहरु पनि जाँदैछन् विस्तारै । त्यो दिन आउँदैछ ।’

कहिलेकाहीँ ओसिड छाडेर गएकाहरुसँग बाटामा भेट हुन्छ नैनाको । उनीहरुले ‘कता हो ममी’ भनेर सोध्छन् । त्यति नै काफी छ नैनालाई । ओसिड छाडेर गएकाहरु काम पर्दामात्रै भित्र छिर्छन् । गइसकेकाहरुले फोन पनि गर्दैनन् उनलाई । तैपनि भेट्दाखेरि राम्रोसँग बोलिदिए पुग्छ नैनालाई ।

भन्छिन्, ‘यहाँ बच्चाहरुसँगै दशैं मनाएको धेरै भयो । मैले गु धोएर हुर्काएका यिनीहरु पनि एकदिन छाडेर जान्छन् भनेर चाहिँ पीर लाग्छ । तर, जानु पनि पर्छ । जिन्दगी त बाँच्नुपर्छ ।’

आश्रममा अनन्त गुरुङ, प्रिया ओनेलगायत १४ जना बालबालिका छन् । ओसिडका अध्यक्ष विभोरलाल श्रेष्ठका अनुसार एक जनालाई चाहिँ साइक्रेटिक प्यासेन्ट भएर मेरिनोल नेपाल भन्ने संस्थामा राखिएको छ ।

सन् १९९९ मा विभोरलालहरु यो संस्था सुरु गर्नुअगावै सामाजिक काममा सक्रिय थिए । वर्षमा एक–डेढ लाख खर्च गरिरहेकै थिए । पछि ६ जना जति साथीभाइ मिलेर डेढ लाखको दरले जम्मा गरेर प्रत्यक्ष रुपमा बच्चाहरुका लागि काम किन नगर्ने भनेर सुरु गरेको बताउँछन् विभोरलाल । अहिले भने आर्थिक व्यवस्थापनमा थोरै गाह्रो भएको उनको भनाइ छ ।

विभोरलाल भन्छन्, ‘पहिला हेल्पिङ ह्यान्ड्स थुप्रो थियो । लोकल साथीहरु थिए । पछि ह्याभ अ नाइस डे प्रोगाम ल्यायौं । बर्थडे, वार्षिकी हामीमाझ आएर गर्ने कार्यक्रम । त्यसरी ३६५ सदस्य पुर्‍याउन सक्यौं भने आर्थिक बोझ नहुने भयो । बालबालिकाले प्रार्थना गरेरै खान्छ भने त्योभन्दा ठूलो कुरा छैन भनेर पनि काम गर्‍यौं ।’

विभोरलालको अनुभव छ, समाज सेवामा जिम्मेवारी लिएका साथीहरु सक्रिय भएसम्म त्यो चल्छ । तर, साथीहरु सबैको गति फरक हुनासाथ तलमाथि भइहाल्छ । विभोरलालको यो दोस्रो कार्यकाल हो अध्यक्षको रुपमा । हरेक तीन वर्षमा नेतृत्व फेरिने गरेको छ संस्थामा । विभोरलाल भन्छन्, ‘समाज सेवा भन्ने चिज आत्मसन्तुष्टि जसले लिनसक्छ, उसले गर्ने हो । नत्र अवगाल धेरै आउँछ ।’

अहिले चाहिँ संस्थाका सदस्यहरुसँग महिनाको एक हजार जम्मा गरेर स्वनिर्भर अभियान चलाइरहेका छन् । उनी थप्छन्, ‘आत्मसन्तुष्टिका लागि जोखिम लिएन भने के समाज सेवा गर्नु र !’

अहिले १४ जना बालबालिका छन् । विभोरलालका अनुसार एक समय १४० जनासम्म पुगेका थिए । बढीजसो द्वन्द्वकालमा अलपत्र पारेका बच्चाहरु थिए । पछि शान्ति सम्झौतापछि बाआमा आए, आआफ्ना बच्चा लिएर गए ।

कानूनअनुसार बच्चाहरु १८ वर्ष पुगेपछि संस्थामा राख्न मिल्दैन । तर, विभोरलालहरुले जोखिम लिएर राखेका छन् । ६ महिनाको बच्चा ल्याएर हुर्काएपछि कमसेकम आत्मनिर्भर होस् भन्ने उद्देश्य रहेको बताउँछन् विभोरलाल । सीप र ज्ञान सिकिसकेपछि काम खोजिदिने काम पनि संस्थाले नै गर्छ ।

विभोरलालका अनुसार विशेष गरी गरीबीले थला परेका बच्चाहरु संस्थामा आउँछन् । कुमारी आमाबाट जन्मिएका बच्चाहरु पनि आउँछन् । अफेयर चलिरहँदा प्रेमीको मृत्यु हुनु, परिवारले स्वीकृति नदिएकाले अलपत्र परेका बच्चाहरु पनि संस्थाको सम्पर्कमा आउने गरेका छन् ।

ओसिड नेपालले अहिले ‘ओने’ जात दिएर नागरिकता पनि बनाइदिने गरेको छ । विभोरलाल भन्छन्, ‘ओने थरमा नागरिकता बनाउन स्वीकृति पाउनका लागि हामीले जिल्ला प्रशासनमा सम्बन्धित हाकिमसँग धेरै टेबल टक गर्नुपर्‍यो । जसको केही खुलेकै हुँदैन, त्यस्तो बच्चाको जन्मदर्ता गराउँछौं । नभएकाहरुबारे तीनपटक सूचना निकाल्छौं । कसैको दाबी नआएपछि सीडीओले अनाथ करार गरिदिन्छ । अनि नागरिकताको प्रक्रिया सुरु हुन्छ ।

अहिलेसम्म दुईजनाले ओने थरबाट नागरिकता लिइसकेका छन् । पछिल्लो समय नागरिकता विधेयकका कारण सीडीओले अलि पछि आउनु भनेको बताउँछन् विभोरलाल । यसवर्ष पनि दशैं पहिला जसरी नै मनाउने योजनामा छ संस्था । बालबालिकालाई टीका लगाइदिएर, घुमाउन लगेर दशैं मनाउने योजनामा छन् विभोरलाल ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *