रवीन्द्र मिश्रद्वारा विवेकशील साझा परित्याग, नरम संवर्द्धनवादी शक्ति निर्माणको उद्घोष – Nepal Press

रवीन्द्र मिश्रद्वारा विवेकशील साझा परित्याग, नरम संवर्द्धनवादी शक्ति निर्माणको उद्घोष

केही वर्ष माओवादी पेण्डुलम हुने तर समयक्रममा हराउने मिश्रको विश्लेषण

काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएका छन् । मिश्रले अध्यक्ष समीक्षा बास्कोटासमक्ष राजीनामा दिएका हुन् ।

मिश्रले सामाजिक सञ्जाल फेसबुकमा एउटा भावुक तस्बिरसहित राजीनामा पत्र पोस्ट गरेका छन् । उनले आफू करिब एक वर्षदेखि नेपालमा वृहत र विश्वासिलो ‘नरम संवर्द्धनवादी (मडरेट कन्जरभेटिभ)’ राष्ट्रवादी शक्तिको निर्माणका लागि राजनीतिक ध्रुविकरणको प्रयासमा लागिरहेको र जसमा पहिलो पाइलाले मूर्त रुप लिन लागेको भन्दै विवेकशील साझा त्यागेको बताएका छन् ।

मिश्रले लेखेका छन्, ‘मैले पार्टी नै परिवर्तन गर्नु पर्ने भएकोले आजकै मितिदेखि लागू हुने गरि मैले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु ।’

यो आफ्ना लागि जीवनकै एउटा कठीनतम निर्णय भएको मिश्रले उल्लेख गरेका छन् । ‘लामो गृहकार्यपछि आफैँले नेतृत्व गरेको साझा, र पछि, विवेकशील साझा पार्टीलाई, मार्ग परिवर्तन गरेर, फरक दृष्टिकोण बोक्ने साथीहरूको जिम्मा लगाउँदै ‘घर’ छोडेर हिँड्नु निश्चय पनि सहज विषय होइन’, उनले उल्लेख गरेका छन् ।

राजनीति र पार्टीको प्रधान उद्देश्य राष्ट्रहित भएको उनले नेपाली राजनीतिमा, अब दुई ध्रुवमा, तीनवटा प्रमुख पार्टी रहने दाबी गरे ।

‘बायाँ ध्रुव’ मा नेपाली कांग्रेस र नेकपा एमाले रहने छन्, जसको प्रणालीगत दृष्टिकोणमा समानता रहे पनि कार्यनीतिहरूमा केही अन्तर हुने मिश्रले प्रक्षेपण गरेका छन् । ‍यी दुईकोबीचमा केही वर्ष माओवादी पेण्डुलम झैँ कहिले यता, कहिले उता गरिरहने तर समयक्रममा त्यो कि ‍साँगुरिँदै जानेछ कि राजनीतिबाटै हराउने मिश्रको विश्लेषण छ ।

नेपाली कांग्रेस र एमालेको विपरित ‘दायाँ ध्रुव’मा ‘नरम संवर्द्धनवादी (मडरेट कन्जरभेटिभ)’ शक्ति रहने मिश्रको आशा छ । जसका लागि आफूले प्रयास गरिरहेको उनले बताएका छन् ।

उनले आफू पार्टीबाट टाढा रहेपनि विवेकशीलका कार्यकर्ताप्रतिको आफ्नो भावना, स्नेह र सम्मानका कुनै कमी नआउने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर