प्रदीप ज्ञवालीकाे दाबी : आरजुलाई गठबन्धनको विश्वास नभएर समानुपातिकमा लगियो – Nepal Press

प्रदीप ज्ञवालीकाे दाबी : आरजुलाई गठबन्धनको विश्वास नभएर समानुपातिकमा लगियो

माधव नेपाललाई पार्टी फुटाएको ग्लानी आउँदो चुनावबाट हुनेछ : गोकर्ण विष्ट

रुपन्देही । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धनका नेतालाई गठबन्धनको नै विश्वास नभएको बताएका छन् । आइतबार नेकपा एमाले गुल्मी रुपन्देही सम्पर्क मञ्चले बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै ज्ञवालीले यस्तो संकट देखिएको बताएका छन् ।

‘कांग्रेसमा परिवारवाद हाबी छ, जहाँ धेरैले देउवालाई दाइ भन्छन र भाउजू आरजु । राजनीतिमा कुनै योगदानबिना भाउजूले देशका विभिन्न ठाउँबाट प्रत्यक्षमा गठबन्धनको तर्फबाट उम्मेदवार बन्ने बताए पनि गठबन्धनको विश्वास नभएको, पाँच दलीय गठबन्धनबाट चुनाव जित्न नसक्ने बुझेर समानुपातिकबाट सिट सुरक्षित गरियो, गठबन्धनका ठूला नेता भनिनेहरुले चुनाब जित्न नसकिने स्वीकार्दै समानुपातिकमा आफ्नो स्थान सुरक्षित गर्न लागेका छन्’, उनले भने ।

राष्ट्रियताको मुद्दामा, राष्ट्र निर्माणको मुद्दामा एमाले बलियो खम्बा बनेको देखेर, देशभर एमालेको पक्षमा जनलहर देखेर राष्ट्रघाती सम्झौता गर्ने, महंगी मात्रै उपहार दिने गठबन्धनको सरकार अत्तालिएको ज्ञवालीले आरोप लगाए ।

त्यस्तै, नेकपा एमालेका सचिव गोकर्ण विष्टले आसन्न संघीय र प्रदेश चुनावमा गुल्मी जिल्लामा एमालेले विजय हाँसिल गर्ने दाबी गरे । विष्टले आफूहरुको पहल र नेतृत्वमा भएका कामहरुबारे जनमानसमा आवश्यक जानकारी नहुँदा, विपक्षीले अनर्गल भ्रम फैल्याउँदा तथा मागको तुलनामा पूर्तिको अनुपात नमिल्दा केही गुनासा भएपनि गर्व गर्न लायक धेरै काम गरेको बताए । विष्टले आफूहरुको पहल र नेतृत्वमा गरेका बताउन लायक, सुनाउन लायक नमुना ठूला योजनाहरु देखि हजारौं साना योजना जुन जनताको जीवनमा प्रत्यक्ष सरोकार राख्छन् ती कामको विवरण लिएर जनताको घरघरमा पुग्ने बताए ।

‘तत्कालीन नेकपा एमालेमा केही बेमेल आयो, हामीले सहमति गरेर १० बुँदा तयार गर्यौं माधव नेपाले समर्थन गरे, अन्त्यमा के पुगेन कुनै जानकारी नदिई बाटो लागे तर उनी आज पनि पछुतो मानिरहेका छन्’, विष्टले भने । ‘गठबन्धनको सरकारले हरेक दिन अराजकता फैलाउने, मुद्दा बढाउने, राष्ट्रियता कमजोर बनाउने काम गरेको छ त्यो देखेर नेपाली जनता अत्तालिएका छन्, गठबन्धनको विकल्प गठबन्धनमै खोजी भएको छ, गठबन्धनबिरुद्ध गठबन्धन दलका नेता नै छन् किनकी गठबन्धनको राष्ट्रघातभन्दा अरु गरेन जुन कुरा सच्चा नेपालीलाई पोल्छ’, विष्टको भनाइ थियो ।

भेलालाई केन्द्रीय सदस्य दिनेश पन्थी, केन्द्रीय सदस्य जंग नेपाली, नेता गणेश खनाल, एमाले जिल्ला कमिटी अध्यक्ष बालसिंह काउछा, एमाले उपत्यका विशेष प्रदेश कमिटी सदस्य राजेन्द्र अर्याल, नेकपा एमाले गुल्मी (रुपन्देही सम्पर्क मञ्चका अध्यक्ष हेम थापालगायतले सम्बोधन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर