बाबरी टिम पोखरामा – Nepal Press

बाबरी टिम पोखरामा

काठमाडौं ।  असोज १४ गते रिलिज हुने चलचित्र बाबरीको प्रमोसनका लागि निर्माण टिम पोखरा पुगेको छ । असोज ५ देखि देश दौडाहामा निस्किएको ‘बाबरी’ टिमले आइतबार पोखराका दर्शकसँग साक्षात्कार गर्‍यो ।

प्रमोसन टिममा अभिनेता धिरज मगर, धिरज नाडकर, कमलमणि नेपाल, अभिनेत्री अदिति बुढाथोकी र निर्मात्री पुष्पलता बुढाथोकीलगायत थिए । पोखराका क्याम्पसहरूमा धिरज, अदिति र धिरज पुग्दा विद्यार्थीहरू सेल्फी र अटोग्राफ लिन झुम्मिएका थिए ।

दर्शक माझ कलाकारहरूले सिनेमाका हिट गीत ‘बाबरी रङ्ग’ र ‘चुलबुल चुलबुल’मा कम्मर मर्काएका थिए ।

आफ्नो दोस्रो सिनेमाको प्रचारमा खटिएका धिरज मगरले आफूहरूले एउटा राम्रो सिनेमा बनाएको र दर्शकलाई हेरिदिन आग्रह गरे ।

अभिनेत्री बुढाथोकीले लामो समयको अन्तरालपछि दर्शक माझ पुग्न पाउँदा खुसी लागेको र दर्शकको साथ पाउने अपेक्षा राखिन् ।

अर्का अभिनेता धिरज नाडकरले आफ्नो डेब्यु सिनेमा हेरेर प्रतिक्रिया दिन आग्रह गरे । टिमले यसअघि दमक र इटहरी टुर सम्पन्न गरिसकेको छ । सुरेन्द्र पौडेलको निर्देशन र सम्पादन रहेको ‘बाबरी’ले त्रिकोणात्मक प्रेमकथा भन्छ ।

सिनेमामा बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, धुर्व कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशाला गुरुङ, दिलीप गुरुङ, डिचेन्ला वान्ग्मो थुङ्गोनलगायतका कलाकारहरुको पनि अभिनय छ । गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीले निर्माण गरेको सिनेमाले बक्सअफिसमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ ।

सिजन दाहाल, मनोज त्रिपाठी, रीत बोहरा र किशोर नेपालको लेखन रहेको सिनेमामा नरेन्द्र मैनालीको छायांकन, कालीप्रसाद बाँस्कोटा, सुजन चापागाईं र अनमोल गुरुङको संगीत छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *