विश्वकपअघि एमबाप्पेलाई नखेलाउन फ्रान्सका प्रशिक्षक डेसच्याम्प्सले पीएसजीलाई गरे आग्रह – Nepal Press

विश्वकपअघि एमबाप्पेलाई नखेलाउन फ्रान्सका प्रशिक्षक डेसच्याम्प्सले पीएसजीलाई गरे आग्रह

पेरिस । फ्रान्सको राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक डिडियर डेसच्याम्प्सले कतार विश्वकप अघि केलियन एमबाप्पेलाई नखेलाउन पेरिस सेन्ट जर्मन-पीएसजीलाई आग्रह गरेका छन् ।

उनले पीएसजीका प्रशिक्षक क्रिस्टोफर गाल्टियरलाई विश्वकपअघिका केही क्लब खेलमा एमबाप्पेलाई आराम दिन अनुरोध गरेका हुन् । सन् २०१८ मा आयोजित अघिल्लो विश्वकप र गत वर्ष आयोजित यूईएफए नेसन्स लिगको उपाधि जितेको फ्रान्स पछिल्लो समय लयमा छैन ।

फ्रान्सले पछिल्ला ६ खेलमा ३ हार, २ बराबरी र एक जितको नतिजा निकालेको छ । यही प्रदर्शनका कारण फ्रान्स नेसन्स लिगमा यसपटक झन्डै रेलिगेसनमा परेको थियो । त्यसैले फ्रान्सले सबैभन्दा बढी भर गरेका एमबाप्पेलाई लिएर प्रशिक्षक डेसच्याम्प्स सचेत छन् ।

सन् २०१७ मा फ्रान्सको सिनियर राष्ट्रिय टोलीबाट डेब्यु गरेका एमबाप्पेले ५९ खेलमा २८ अन्तर्राष्ट्रिय गोल गरेका छन् । उनी गत विश्वकपका सर्वोत्कृष्ट युवा खेलाडी हुन् ।

उनले फ्रान्सको घरेलु लिगमा पछिल्ला लगातार चार सिजन सर्वाधिक गोलकर्ताको अवार्ड जितेका छन् । यो सिजन पनि एमबाप्पेले क्लबका लागि ९ खेलमा १० गोल गरेका छन् । विश्वकपको उपाधि रक्षा अभियान सुरु गर्नुअघि एमबाप्पे पूर्ण फिट भएको हेर्न चाहन्छन् डेसच्याम्प्स ।

‘मलाई थाहा छ गाल्टियर एमबाप्पेलाई खेलाउन चाहन्छन् । तर केही कम समय खेलाउँदा, आराम गर्न दिँदा त्यसले उनलाई असफल बनाउने छैन’, डेसच्याम्प्सले टेलिफुटसँग कुरा गर्दै भनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *