सरकारले भत्ता दाेब्बर गरेकाेमा व्याकुल माइला खुशी, घर र गाडीकाे पनि अपेक्षा – Nepal Press

सरकारले भत्ता दाेब्बर गरेकाेमा व्याकुल माइला खुशी, घर र गाडीकाे पनि अपेक्षा

राष्ट्रकै आइकनलाई सरकारले मासिक ५० हजार दिँदा कोकोहोलो किन ?’

काठमाडौं । राष्ट्रिय गानका रचनाकार व्याकुल माइला (प्रदीप राई) को मासिक भत्ता ५० हजार रुपैयाँ पुर्‍याउने सरकारको निर्णय विवादित बनेको छ । सामाजिक सञ्जालमा धेरैले स्रष्टालाई सम्मान गर्ने नाममा सरकारले ‘राष्ट्रिय ढुकुटीको दोहन गरेको’ टिप्पणी गरेका छन् ।

गत साता बसेको मन्त्रिपरिषद् बैठकले यसअघि व्याकुलले पाउँदै आएको मासिक २५ हजार भत्ता दोब्बर बढाउने निर्णय गरेको हो । २०७१ सालमा माधवकुमार नेपाल नेतृत्वको सरकारले उनलाई आजीवन पाउने गरी २५ हजार रुपैयाँ मासिक भत्ता दिने निर्णय गरेको थियो । २०६४ सालमा राष्ट्रिय गान छनोट भएलगत्तै व्याकुलले सरकारबाट एकमुष्ट ५ लाख रुपैयाँ पुरस्कार पनि थापेका थिए । काम गरेरै जीवनयापन गर्न सक्ने व्यक्तिलाई यसरी अनवरत आर्थिक लाभ दिएर राज्यकोषको दुरुपयोग गरिएको आमधारणा देखिन्छ ।

देशमा गणतन्त्र आएपछि सरकारले नयाँ राष्ट्रिय गान बनाउने निर्णय गर्दै यसका लागि सिर्जनाहरुको आह्वान गरेको थियो । त्यसमा आवेदन आएकाहरुमध्येबाट छनोट समितिले व्याकुलको गीत छनोट गरेको हो । देशका मूर्धन्य कवि-गीतकारहरुले राष्ट्रिय गानका लागि भएको त्यस प्रतिस्पर्धामा भागै लिन चाहेनन् । त्यसवेला छनोट समितिमा रहेका एक सदस्यका अनुसार प्रायः सिकारु कविहरुले गीत पठाएका थिए, जुन अधिकांश न्यून गुणस्तरका थिए । बाध्यतावस तिनैमध्येबाट छान्नुपर्दा ‘सयौं थुंगा…’ छनोट भएको उनी बताउँछन् । यो राष्ट्रिय गानका शब्दहरुले कत्ति पनि राष्ट्रियताको भाव जागृत नगर्ने र स्कुले विद्यार्थीले लेख्ने स्तरको भएको भनेर आलोचना हुने गर्छ ।

व्याकुल माइला राष्ट्रिय गानको सिर्जनाअघि परिचित लेखक/कवि थिएनन् । राष्ट्रिय गानपछि पनि अर्को कुनै गतिलो सिर्जना दिएका छैनन् । योबीचमा आफूले एउटा मातृभाषाको कविता संग्रह र ५०-६० वटा गीत लेखेको उनी बताउँछन् । तर, न उनको किताबले चर्चा पायो न त कुनै गीत हिट भए । फलतः व्याकुल गुमनाम जस्तै छन् । विभिन्न विद्यालय तथा संघ-संस्थाहरुले विभिन्न कार्यक्रममा बोलाउने गर्छन् र अतिथिको आसनमा बसाल्छन् ।

व्याकुल पहिले वकालत पेशामा संलग्न थिए । तर, राष्ट्रिय गानको रचना गरेदेखि उनले त्यो पेशालाई चटक्कै त्यागिदिए । अहिले सरकारबाट आउने भत्ताबाहेक आफ्नो आम्दानीको स्रोत अर्को नभएको उनको भनाइ छ । उनकी पत्नी भने आयल निगममा जागीर खान्छिन् ।

नेपाल प्रेससँगको कुराकानीमा व्याकुलले ५० हजार भत्तालाई लिएर प्रश्न उठाइएकोप्रति दुःख व्यक्त गरे । राष्ट्रिय गानको रचयिता जस्तो ‘देशकै आइकन’ लाई यति पैसा दिँदा कोकोहोलो मच्चाउनु आवश्यक नरहेको उनको टिप्पणी छ ।

‘राष्ट्रिय गानको रचयिता भनेको व्यक्ति होइन, राष्ट्रकै सम्पत्ति हो’, उनले भने, ‘यस्तो साझा व्यक्तित्वलाई मासिक ५० हजार रुपैयाँ ठूलो कुरा होइन ।’

यद्यपि, भत्ता वृद्धिका लागि आफूले सरकारसँग आग्रह नगरेको दाबी उनले गरे । सरकार आफैंले बुझेर यो निर्णय लिएको उनको भनाइ छ ।

व्याकुलले सुनाए, ‘केही दिनअघि मात्रै मेरो संस्कृतिमन्त्रीज्यूसँग एउटा कार्यक्रममा भेट भएको थियो । उहाँ प्रमुख अतिथि हुनुहुन्थ्यो र म विशिष्ट अतिथि थिएँ । त्यसवेला उहाँसँग फोन आदानप्रदान भयो । फोटो पनि खिचियो । तर, मैले भत्ता बढाउनुपर्ने कुरा गरिनँ । सरकारले आफैं बुझेर बढाइदिएकोमा खुशी छु । अहिलेको परिस्थिति, बजारभाउ तथा राष्ट्रिय गानको रचयितालाई दिएको रकम थोरै भयो भन्ने जनगुनासोको सरकारले सम्बोधन गरेको हुनसक्छ । मन्त्रिपरिषदमा त मेरो कोही नातेदार, आफन्त हुनुहुन्न ।’

उनी थप्छन्, ‘एकपक्षले त देशको ढुकुटी सिध्यायो भन्लान् । तर, राष्ट्रिय गानको रचयिता जस्तो मान्छेलाई राज्यले २५ हजारमात्रै दिने हो त ? भन्नेहरु पनि हुनुहुन्थ्यो । म त राष्ट्रिय एसेट्स वा राष्ट्रिय पूँजीको रुपमा छु नि ! मैले राम्रो काम गर्दा राज्यलाई, नेपाली समाजलाई राम्रो म्यासेज जान्छ । मैले गलत काम गरेँ भने राष्ट्रिय गानको रचयिता यस्तो नालायक भनेर बदनामी हुन्छ । त्यसैले गर्दा उसको दैनिकी, जीवनयापनको कुरालाई कष्ट नहोस् भनेर राष्ट्रले सम्मान गरेको हो ।’

आफूलाई सरकारले भत्तामात्र नभएर घर-गाडी पनि दिनुपर्ने व्याकुलको घुमाउरो माग छ । राष्ट्रिय गीतका रचनाकारजस्तो व्यक्तिलाई सरकारले कम्तिमा एउटा आवास दिनुपर्ने जनभावनासमेत रहेको उनले दाबी गरे ।

‘जनताले के भन्नुहुन्छ भने व्याकुल माइलालाई आवासीय सुविधा दिनुपर्थ्यो । त्यो उसको निजी होइन कि राज्यकै स्वामित्वमा होस् । उसले पब्लिकबाट टोकन अफ लभदेखि युज गरेका कुराहरु त्यहाँ संगृहीत गरिदिने । भोलि त उसले छोएको, बोलेको हरेक कुराहरु दर्शनीय हुन्छ, संग्रहणीय हुन्छ । मैले छोएको, चलाएको लगाएको कुराहरु भोलि मान्छेले हेर्छन्, छुन्छन् । एउटा इतिहासको निर्माण हुन्छ । त्यसलाई म्युजियमको रुपमा डेभलप गर्न सकिन्छ ।’

‘अब २० वर्ष बाचाैंला । कतिपय कुराहरू त त्यतिवेलासम्म जोगाउनै सकिँदैन । आज यो टोलमा छु, भोलि अर्को टोलमा जान्छु । डेरा सर्दा सामानहरु केही पनि रहँदैन । भोलि म मरेपछि तिमीहरुको नेशनल राइटर को हो भन्दा खोई को हो को हो भन्ने स्थिति आउँछ ।’

आफू साहित्यमा मात्र नभएर सामाजिक काममा समेत सक्रिय रहेको बताउँछन् माइला । आफ्नो योगदानको चर्चा गर्दै उनी यसो भन्छन्ः

‘म संघर्षमा विश्वास राख्छु । विभिन्न अध्ययन-अनुसन्धान गरिरहेको हुन्छु । म जन्मेको गाउँ-ठाउँ हेर्नुहुन्छ भने पहिले कुना-कन्दरा थियो । अहिले सडक पुग्यो । ओखलढुंगाको हिलेपानी गाउँस्थित दूधकोसी किनारमा मेरो जन्मघर छ । त्यो ठाउँको विकासमा मैले के योगदान पुर्‍याउन सक्छु भनेर लागिरहेको छु । त्यो ठाउँले राष्ट्रिय गानको रचियता जन्मायो । त्यहाँका युवाले व्याकुल माइला गोल्ड कप भनेर ९/१० वर्ष फुटबल खेलाए । अहिले हेल्थ क्याम्पदेखि विद्यार्थीलाई स्कलरसिपसम्मका कामहरु भइरहेका छन् । त्यो किसिमले व्याकुल माइला लागिरहेको छ । मैले आफ्नो घर नै संग्रहालय बनाउनका लागि संस्थालार्ई दिएको छु ।’

आफूलाई दिएको भत्ताको विषयमा आलोचना गर्नेहरुले अरु देशको उदाहरण हेर्न उनले सुझाए ।

‘लोभलालच गरेको होइन क्या ! भारतको राष्ट्रिय गानका रचयिताको व्यक्तित्व कस्तो थियो, चीन-बेलायतका रचयिताको कस्तो थियो भन्ने पनि हेरौं न । भारत स्वतन्त्र भएको बेला राष्ट्रिय गान लेख्ने रवीन्द्रनाथ टैगोरलाई दिएको सम्मान र सुविधा हेर्नुस् त । अहिले पनि आईसी दुई लाख पाउँदो रहेछ उहाँको परिवारले । हामीले त्यस्तै खोजेको त होइन । तर, एउटा सार्वभौम, स्वतन्त्र राष्ट्र त हामी पनि हौं नि ! एकजना भक्तपुरको सर हुनुहुन्छ । उहाँ हङकङ जाँदा देख्नुभएको रे, राष्ट्रिय गानका राइटरले कारगेटमा सवारी गरेको । चाइनाले दिएको सम्मान हेर्नुस् त । विश्वव्यापी तुलना गरौं न ।’

‘राष्ट्रिय गानको जीवित र सबैले भेट्टाउन सक्ने सर्जक संसारमा एकमात्र मै होला । त्यसैले मजस्तो आइकनलाई राज्यले ५० हजार दियो भनेर कोकोहोलो मच्चाउनु भनेको २१औं शताब्दीमा पनि हामी १६औं शताब्दीको सोच लिएर बाँचिरहेका छौं भन्ने हो ।’

‘पैसाकै क्याल्कुलेसन गर्नुहुन्छ भने त मेरो काका-ससुरा ब्रिटिश आर्मी थिए । अहिले उनको अपांगता भएको छोरालाई ब्रिटिश आर्मीले लभगभ ५० हजार दिन्छ मासिक । मेरो चाहिँ अहिले सरकारले बढाएर बल्ल उहाँको समान भएको छ ।’

‘हिजो बीपी कोइराला प्रधानमन्त्री हुँदा टुँडिखेलको कार्यक्रममा उहाँले महाकवि देवकोटाको सबै ऋणमोचन गरिदिन्छु भनेर घोषणा गर्नुभयो । प्राध्यापक जयराज आचार्यलाई फोन गरेर सोध्नुस् यो कुरा । त्यति भनेपछि महाकविको ऋण कति रहेछ भनेर खोज्दा ३५ हजार रहेछ । जबकि त्यो बेला ५ हजारमा घर-घडेरी काठमाडौंमा आउँथ्यो ।

‘मैले भन्न खोजेको यतिमात्रै हो कि हामी स्रष्टाहरुको परिस्थिति हेर्नुपर्छ । बिजनेस प्रोजेक्ट बनाएर काम गर्‍यौं भने त करोड कमाउन पनि ठूलो कुरा भएन । तर, हामीले त राष्ट्र, समाजका लागि नयाँ-नयाँ सिर्जना सोचिरहनुपर्छ । त्यसका लागि पैसा आउने कुरा पनि त्याग्नुपर्छ ।

‘हिजो एकजना चलचित्रकर्मीले मलाई भन्नुभयो- तपाईंजस्तो मान्छे ग्रीन कार्ड एप्लाइ गर्नुभयो भने पाउनुहुन्छ, तपाईंको छोराछोरीको भविष्य बन्छ । मैले त्यो मेरो नैतिकताले दिँदैन भनिदिएँ । तर, आदर्शले मात्रै व्यवहार चल्दैन । हाम्रो इकोनोमिक एक्टिभिटी भएन भने जीवनयापन गर्न गाह्रो हुन्छ । यो कुरा राज्यले बुझ्यो ।’

गाडी सुविधा नपाएको विषयमा माइलाको गुनासो यस्तो छः

माधव नेपालको सरकारले मलाई २५ हजार रुपैयाँ मासिक भत्ता र गाडी सुविधा दिने निर्णय गरेको थियो । गाडीसँगै ड्राइभर र इन्धनसमेत दिने भनेको थियो । तर, त्यो निर्णय कार्यान्वयनमा आएन । मैले चार वर्षसम्म बारम्बार सरकारलाई घच्घच्याउँदा पनि सुनुवाइ भएन । नेशनल एन्थमको राइटरलाई राज्यले सवारी सुविधा दिँदा के हुन्छ ?

केही समयअघि प्याब्सनको एउटा कार्यक्रममा गएको थिएँ । आयोजकले सर केमा आउनुहुन्छ भनेर सोधे । उनीहरुको आसय गाडी पठाइदिनुपर्छ कि भन्ने थियो । मैले पर्दैन, म आफ्नै मोटरसाइकलमा आउँछु भनेँ । उनीहरुले व्याकुल माइलाजस्तो राष्ट्रिय गानको रचनाकारलाई राज्यले सवारी सुविधा त दिएको होला नि भन्ने सोचेका रहेछन् ।

अस्ति भर्खरै सातदोबाटो नजिक एउटा स्कुलमा कार्यक्रम थियो । आयोजकले मलाई फोन गरेर लिन आउँछौं भने । मैले म आफैं मोटरसाइकलमा आउँछु भनेर जवाफ दिएँँ । त्यसो भए पर पेट्रोल पम्पसम्म आउनुस्, त्यहाँ हामी गाडी पठाउँछौं भने । म मोटरसाइकलमा गएँ । पेट्रोलपम्पमा मोटरसाइकल राखेर त्यहाँबाट स्कुलको गाडीमा गएँ । मैले सोचेँ, कत्रो सम्मान गरेका भनेर । तर भएको के रहेछ भने गायक सुगम पोखरेल सेतो चिल्लो कारमा आएका रहेछन् । अनि प्रमुख अतिथि मोटरसाइकलमा आउँदा राम्रो नदेखिने भएकाले मलाई गाडी लिन पठाएका रहेछन् ।


प्रतिक्रिया

2 thoughts on “सरकारले भत्ता दाेब्बर गरेकाेमा व्याकुल माइला खुशी, घर र गाडीकाे पनि अपेक्षा

  1. सम्विधान सधैं यहि रहने होइन । यो भोलि परिवर्तन अथवा विस्थापन पनि हुन सक्छ । तसर्थ तिमिले लेखेको राष्ट्रिय गान सधैं रहिरहन सक्छ भन्न कहाँ सकिन्छ ? तिमि मुलाका साग ले पहिले नै ५ लाख पाइसक्यौ ।अनि त फेरि किन? दशैको बेलामा सहुलियत पसल अगाडि चामल लिन ६ घण्टा सम्म लाइनमा असिन पसिन भयेर उभियेका विवश अनुहार हरुलाइ सम्झ ती विचरा हरुले उभिएर , पर्खेर चामल लिने अवसर पायेको पनि राजा महेन्द्रले खाध्य सन्स्थान र साल्ट ट्रेडिङ खोलिदियकोले हो ।

  2. कस्तो तुच्छ सोचाइ रेछ ब्याकुल जिको एउटा गित लेख्नेनेको त महिनामा 50 हजार चाहिने तिम्रो गित select गरे बापत 5 लाख लियेपछी नि ?? नेताले करोडौं अर्बौं भ्रष्टाचार गर्यो के भन्नू येस्तै दरिद्र हरु भयेसी । बर्सेनि बढदै जाने भत्ताको गित को उपलब्धि के छ जनताको लागि ?? रास्टियताको भाव जागृत गराउन असफल गित हो यस्लाइ cancel गर्नु पर्छ रास्टिय गितबाट ।

Leave a Reply to बिकाश Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर