बलायरबाट विस्थापित हुन लागेका भण्डारी भन्छन्- देउवाले मलाई अन्याय गर्नुहुन्न होला – Nepal Press
नेपाल टक

बलायरबाट विस्थापित हुन लागेका भण्डारी भन्छन्- देउवाले मलाई अन्याय गर्नुहुन्न होला

देउवाका समकक्षी सुनिल भण्डारी भन्छन्- यो निर्वाचन नै मेरो अन्तिम हो

कैलाली । सत्ता गठबन्धनका दलमा अझैसम्म सीट बाँडफाँटमा कुरो मिलेको छैन । ५ वटा निर्वाचन क्षेत्र रहेको कैलालीमा अहिलेसम्म १ र ५ नम्बर क्षेत्र नेपाली कांग्रेसले पाउने करिब निश्चित जस्तै छ । ३ नम्बर क्षेत्र माओवादीले पाउने करिब निश्चित हुँदा पनि कांग्रेसका स्थानीय नेताहरू प्रधानमन्त्रीलाई दबाब दिन काठमाडौँ पुगेका छन् । क्षेत्र नम्बर ४ र २ मध्ये २ मा कांग्रेस र माओवादीको दाबी छ भने क्षेत्र नम्बर ४ मा त्रिपक्षीय दाबी छ ।

पछिल्लो समय डोटी निर्वाचन क्षेत्र भएका कांग्रेस प्रदेश सभापति वीरबहादुर बलायरलाई कैलाली ४ मा ल्याउने विबषयमा छलफल भइरहेको छ । डोटीमा यसअघि निर्वाचित नेकपा एकीकृत समाजवादीका प्रेम आले नै पुनः उम्मेदवार हुने निश्चित छ । तर, कैलाली क्षेत्र नम्बर ४ बाट सिफारिस भएका कांग्रेस नेताहरूले यसको विरोध गरिरहेका छन् ।

यहाँ देउवाका समकक्षी सुनिल भण्डारी, नैनसिंह महर, प्रकाश बम, भोजराज भट्ट, प्रदीपराज जोशी, डा. लक्ष्मीराज पाठकको नाम सिफारिस भएको छ । अघिल्लो पटक यहाँ लेखराज भट्टसँग १० हजार ३९९ मतले पराजित भएका भण्डारी अहिलेपनि सम्भावित उम्मेदवार हुन् । तर, प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले यस क्षेत्रमा प्रदेश सभापति बलायरलाई उतार्ने भनेपछि भण्डारी पनि ठाउँ खाली गर्न बाध्य हुने देखिएको छ । तर, त्यस्तो अवस्था प्रधानमन्त्रीले एउटा क्षेत्रको व्यक्तिलाई व्यवस्थापन गर्न अर्कै क्षेत्रको सम्भावित उम्मेदवारमाथि अन्याय गर्ने सम्भावना नरहेको भण्डारीको भनाइ ।

प्रस्तुत छ कैलाली क्षेत्र नम्बर ४ का सम्भावित उम्मेदवार सुनिल भण्डारीसँग नेपालप्रेसले गरेको कुराकानीः

– तपाईं अघिल्लोपल्ट लड्नुभएको क्षेत्रमा डोटीबाट वीरबहादुर बलायरलाई ल्याउने कुरा बाहिर आएको छ । के यो सत्य हो ?

यसमा कुनै सत्यता छैन । अघिल्लो पटक कम्युनिष्टहरुको आँधीबेहेरी थियो । त्यो वेला म त्यहाँ लडेको हो । अहिले पनि त्यहाँका जनताले मलाई उम्मेदवार होस् भन्ने चाहना राखेका छन् ।

म अहिलेको मेरो क्षेत्रभन्दा बाहिर कुनै पनि हालतमा जाँदैन । अरू साथीहरूको व्यवस्थापन जसो जहाँ गर्ने हो त्यो नेताको कुरा हो ।

– त्यहाँका नागरिकले त तपाईंलाई रुचाएका होलान् । तर, नेतृत्वले त रुचाएनन् नि ! तपाईंको क्षेत्रमा प्रदेश सभापतिलाई लडाउने कुरा निश्चित जस्तै हो भनिएको छ ।

त्यो सूचना सुन्नमा आएको छ । मलाई त त्यो विश्वास लाग्दैन । सभापतिजीले मलाई अन्याय गर्नुहुन्छ जस्तो लाग्दैन । म सभापतिजीको समकक्षी कार्यकर्ता हुँ । यो पार्टीमा मेरो योगदानको विषयमा उहाँलाई राम्रोसँग थाहा छ । मेरो निर्वाचन क्षेत्रमा अर्कै उम्मेदवार खडा गरेर पार्टी सभापतिजीले मप्रति अन्याय गर्नुहुन्छ जस्तो मलाई लाग्दैन ।

– तपाईंको निर्वाचन क्षेत्र खास ५ हो । अघिल्लो पटक त्यहाँ आरजु राणालाई टिकट दिन तपाईंलाई ४ मा झारिएको थियो । अहिले तपाईंलाई ५ मा जान किन डर लागिरहेको हो ?

५ मा मैले डराउनुपर्ने कुनै कारण नै छैन । हरेक चुनावमा व्यक्तिगत स्वार्थको लागि निर्वाचन क्षेत्र परिवर्तन गर्नुहुँदैन भन्ने मेरो मान्यता हो ।

– प्रदेश सभापतिलाई करिब तपाईंको क्षेत्र जिम्मा लगाउने निश्चित जस्तै भइसकेको छ । त्यो अवस्थामा तपाईं के गर्नुहुन्छ ?

पार्टीले निर्णय गर्न बाँकी छ । त्यसैले अहिले म धेरै कुरामा टिप्पणी गर्ने पक्षमा छैन । म पार्टीको निर्णयलाई पर्खेर बसेको छु । त्यस्तो भएमा मसँग भएका विकल्पहरू प्रयोग गर्छु ।

– तपाईंसँग के कस्ता विकल्पहरू छन् ?

(हाँस्दै) त्यो सबै विकल्पका विषयमा त निर्णय आएपछि कुरा गरौँला नि !

– प्रधानमन्त्री तथा पार्टी सभापति तपाईंको समकक्षी हुनुहुन्छ । यो विषयमा केही कुरा भएको छैन ?

मैले यहाँसँग आफ्नो कुरा स्पष्टसँग राखे । सभापतिज्यू म पहिले चुनाव लडेको व्यक्ति हुँ । यो पालि पनि मेरो चुनाव लड्ने इच्छा छ । यो निर्वाचन नै मेरो अन्तिम हो । मैले त्यसैको निम्ति त्यसैको लागि पाँच वर्ष खटेको छु, मलाई सहयोग गर्नुहोला भनेको छु । उहाँले साधारणतया सबैलाई भन्ने भाषा हुन्छ हुन्छ भन्नुभयो । त्यही कुरा हो त्यसपछि अरू भेटघाट भएको छैन ।

– यदि तपाईंले टिकट पाउनुभयो भने पुरानै प्रतिस्पर्धीसँग फेरि तपाईंको भेट हुने सम्भावना छ । अघिल्लो पटक १० हजार बढी मतले हारेको तपाईं यस पटक जित्छु भन्ने आशा छ त ?

तत्कालीन परिस्थितिमा एक्कासि म त्यहाँ गएको थिएँ । मलाई टिकट दिएर त्यहाँ पठाइसकेपछि पार्टीको निर्णयलाई स्वीकार गरेर त्यहाँ गएको हुँ । त्यहाँ निर्वाचन लडे । वास्तवमा मेरो घर, निर्वाचन क्षेत्र र कार्यक्षेत्र कैलाली ५ हो । एकदमै प्रतिकूल अवस्था, पार्टीभित्रको गुटबन्दी हुँदा पनि जनताले मलाई धेरै माया गर्नुभएको थियो । त्यो वेला कांग्रेसले कहिल्यै पनि प्राप्त नगरेको मत मैले पाएको छु । अहिले परिस्थिति राम्रो छ । गठबन्धनको आसमा मात्रै चुनाव जित्छु भन्ने मेरो कुरा होइन । मलाई त्यहाँका जनताप्रति धेरै विश्वास छ । यो नै मैले चुनाव जित्ने आधार हुन् ।

चुनाव भनेको आवधिक रुपमा गरिने मतदानका रुपमा मात्रै बुझ्न हुँदैन । अङ्कले कुनै समय पार्टी हारे पनि त्यो क्षेत्रको नागरिकको जनजीवनमा कांग्रेसको अवस्था कस्तो छ भन्ने कुराले अर्थ राख्छ ।

– कांग्रेसले क्षेत्र नं ५ मा उम्मेदवार खोजिरहेको छ । त्यहाँ जानुहुन्न ?

(प्रश्न पूरा हुन नपाउँदै) नो नो नो । यो हुनै सक्दैन । अहिले मेरो नैतिक प्रश्न छ । मेरो नैतिक दायित्वप्रति म इमानदार हुनुपर्छ । म अहिलेको मेरो क्षेत्रभन्दा बाहिर कुनै पनि हालतमा जाँदैन । अरू साथीहरूको व्यवस्थापन जसो जहाँ गर्ने हो त्यो नेताको कुरा हो ।

– समाजवादी र माओवादी केन्द्रबाट पनि तपाईंको क्षेत्रमा दाबी भएको छ । कांग्रेसबाहेक अन्य पार्टीले पाउने सम्भावना कति छ ?

गठबन्धनको अन्तिम टुङ्गो नलाग्दासम्म यो कुरा भन्न सकिँदैन । तर, एउटा कुरा मैले भन्नै पर्छ । ४ नम्बर र ५ नम्बर भनेको हाम्रो आधार क्षेत्र भएको ठाउँ हो । यी दुई क्षेत्रबाट हामीले नेपालको प्रजातान्त्रिक आन्दोलनको बिजारोपण गरेका थियौं सुदूरपश्चिम प्रदेशभित्र । त्यसो हुँदा यहाँका जनताका कांग्रेस प्रति र प्रजातन्त्र प्रति प्रतिबद्धता छ । यसलाई कायम राख्नुपर्ने कांग्रेसको कर्तव्य पनि हो । मलाई लाग्दैन कांग्रेसले कुनै गल्ती गरेर यो दुई सीटमा सम्झौता गर्ला जस्तो मलाई लाग्दैन ।

– अघिल्लो पटक तपाईं १० हजार बढीले हार्नुभयो, पहिले मेयर र उपमेयर दुबै गुमाएको क्षेत्रमा अहिले कांग्रेसले मेयर जित्न सक्यो गठबन्धन हुँदा पनि उपप्रमुख एमाले आयो । कसरी यो क्षेत्र कांग्रेसको गढ होला र ?

चुनाव भनेको आवधिक रुपमा गरिने मतदानका रुपमा मात्रै बुझ्न हुँदैन । अङ्कले कुनै समय पार्टी हारे पनि त्यो क्षेत्रको नागरिकको जनजीवनमा कांग्रेसको अवस्था कस्तो छ भन्ने कुराले अर्थ राख्छ । मेरो अध्ययनअनुसार अझै पनि भन्छु त्यो सबै दृष्टिकोणले कांग्रेसको क्षेत्र हो । तर, समय र गतिअनुसारको निर्वाचनको परिणाम तलमाथि हुनसक्छ ।

– अहिले जो लडे पनि कांग्रेसले जित्छ भन्ने तपाईंको दाबी हो ?

हो, त्यो दाबीमात्र होइन । त्यो सत्य पनि हो । अहिले गठबन्धनको हिसाबले पनि केही मत हामीसँग धेरै छ । त्यसो भएको हुँदा कांग्रेसको उम्मेदवार जित्ने सम्भावना प्रवल छ । त्यसैले त सबै साथीहरू हानथाप गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर