१८औं ओभरमा २४ रन खर्चिएको पाकिस्तान यसरी तीन रनले विजयी भयो – Nepal Press

१८औं ओभरमा २४ रन खर्चिएको पाकिस्तान यसरी तीन रनले विजयी भयो

काठमाडौं । पाकिस्तानले इङल्यान्डविरुद्ध जारी सात खेलको टी-२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत शनिबार भएको चौथो खेलमा ३ रनको रोमाञ्चक जित हात पारेको छ ।

कराँचीमा भएको खेलमा एक सय ६७ रनको लक्ष्य पछ्याएको इङल्यान्डले १९.२ ओभरमा सबै विकेट गुमाएर एक सय ६३ रन मात्र जोड्न सक्यो । इङल्यान्डलाई अन्तिम ओभरमा ४ रन आवश्यक थियो भने एक विकेट मात्र बाँकी थियो । मोहम्मद वासिमले पहिलो बलमा रन दिएनन् भने दोस्रो बलमा रिसी टोप्ली रन आउट भए ।

त्यसअघि १८ औं ओभरमा २४ रन जोडेको इङल्यान्ड खेलमा फर्कने सक्ने देखिएको थियो । तर, १९ औँ ओभरमा पाकिस्तानका ह्यारिस रौफले शानदार बलिङ गरे । उक्त ओभरमा पहिलो बलमा उनले रन दिएनन् भने दोस्रो बलमा चार रन खर्चिएका थिए । तर, तेस्रो र चौथो बलमा इङल्यान्डले लगातार विकेट गुमायो । लयमा रहेका लायम दसन ३४ रनमा आउट भए भने ओली स्टोन गोल्डेन डक आउट भए। ओभरका बाँकी दुई बलमा रौफले एक रनमात्र दिए ।

इङल्यान्डको पालीमा ह्यारी ब्रुकले ३४, लायम दसमले ३४, बेन डकेटले ३३ र मोइन अलीले २९ रन बनाएका थिए। पाकिस्तानका रौफ र मोहम्मद नवाजले तीन तीन र मोहम्मद हस्नैनले दुई विकेट लिए । पाकिस्तानको पालीमा फेरि एकपटक मोहम्मद रिजवानले शानदार प्रदर्शन गरे । उनले ८८ रन जोडे । बाबर आजमले पनि ३६ रन बनाए । उनीहरूले पहिलो विकेटका लागि ११.५ ओभरमा ९७ रनको साझेदारी गरेका थिए ।

रिजवानले पछिल्ला पाँच टी-२० मा चौथोपटक अर्धसतक बनाएका हुन् । उनी हाल टी-२० ब्याट्सम्यानको विश्व वरीयतामा पहिलो नम्बरमा छन्। पाकिस्तानको यो रोमाञ्चक जितसँगै सात खेलको शृंखला २-२ को बराबरीमा पुगेको छ । पहिलो र तेस्रो खेल इङ्ल्यान्ड तथा दोस्रो खेल पाकिस्तानले जितेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर