गृहमन्त्रीले श्रीमतीलाई समानुपातिकमा राखेपछि कार्यकर्ताको विरोध- तपाईँलाई प्रत्यक्षमा जिताउन सकिँदैन – Nepal Press

गृहमन्त्रीले श्रीमतीलाई समानुपातिकमा राखेपछि कार्यकर्ताको विरोध- तपाईँलाई प्रत्यक्षमा जिताउन सकिँदैन

रुपन्देही । नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाणले गठबन्धनमा आफूलाई सुरक्षित गर्दै श्रीमतीलाई समानुपातिक सूचीको प्राथमिकतामा राखेपछि पार्टी पंक्तिमै आलोचना सुरू भएको छ ।

खाण आफैं ७४ मा समानुपातिकमा बसेका थिए । शनिबार रुपन्देही आएर उनले सबैले टिकट पाउन असम्भव रहेको भन्दै धैर्य गरेर पालो पर्खन कार्यकर्तालाई निर्देशन दिएका थिए । तर, सोही दिन उनकी श्रीमती मञ्जु खाणको नाम प्रधानमन्त्रीपत्नी डा. आरजु राणासँगै प्राथमिकताका साथ समेटिएको लिष्ट नै बाहिरियो ।

सामाजिक सञ्जालमा उनकै कार्यकर्ताले यो नाम नसच्चाए रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचन जिताउन नसक्ने चेतावनी दिन थालेका छन् ।

‘बालकृष्ण दाइले त्याग गर्नुपर्छ, सबैले उम्मेदारीको टिकट पाउन सकिँदैन भन्दै हुनुहुन्थ्यो, मैले भने दाइ मञ्जु भाउजूको नाम बन्दसूचीबाट हटाउन भन्नुहोला हजुरलाई हामी ज्यानको बाजी लगाएर जिताउने छौं, जय नेपाल’, उनका शुभचिन्तक टिकाराम बन्जाडेले सामाजिक सञ्जालमा लेखेका छन् ।

लेखक रामेश्वरी पन्तले नेता खाणले टिकट नपाए बुद्धजस्तै शान्ति बन्न सिक्न कांग्रेस नेताहरूलाई दिएको निर्देशनप्रति व्यङ्य गर्दै लेखेकी छन्, ‘चिची मेरो हातमा, तिमी बन बुद्ध ।’

नेपाल प्रेस युनियनका केन्द्रीय लेखा समिति सदस्य घनश्याम पौडेलले गृहमन्त्रीको त्यागसम्बन्धी निर्देशनको समाचार नै सार्वजनिक गरेर लेखेका छन्, ‘हो त्याग चाहिन्छ, नेपालमा समानुपातिक विधि श्रीमती राख्न बनाइएको हो, त्यसैले त्याग चाहिन्छ ।’

उनले पत्नीलाई समानुपातिकमा सेट गरेपछि गृहमन्त्रीले नेताकार्यकर्तालाई त्याग चाहिन्छ भनेर अर्ती दिएको उल्लेख गरेका छन् ।

समृद्धि सरोकार केन्द्रका अध्यक्ष गणेश घिमिरेले जनताले पठाएको समानुपातिकको अवसर, बिरालोका हात सिद्राको नासो नबनाउन आग्रह गर्दै जसका लागि भनेर पठाएको हो उसैलाई दिनुपर्ने र हकको पाउर बाटैमा खान नहुने बताएका छन् ।

अघिल्लो निर्वाचनमा गठबन्धन भएपछि नेता खाण समानुपातिक सुरक्षित मानेर आफ्नो क्षेत्रमा राप्रपाका दीपक बोहरालाई सघाएका थिए । बोहरा एमाले नेता घनश्याम भुसालसँग पराजित भएका थिए । अहिले सो क्षेत्रमा एमाले कमजोर भएको र गठबन्धनको समेत साथमा चुनाव जित्ने स्थानीय निर्वाचनको अंकगणित लिएर रुपन्देही-३ मा प्रत्यक्ष निर्वाचन लड्न खाण एकलरूपमा सिफारिस भएका छन् । भने रुपन्देही- २ मा पनि उनीसहित ४ नेताको सिफारिस भएको छ ।


प्रतिक्रिया

One thought on “गृहमन्त्रीले श्रीमतीलाई समानुपातिकमा राखेपछि कार्यकर्ताको विरोध- तपाईँलाई प्रत्यक्षमा जिताउन सकिँदैन

  1. आफू प्रत्यक्ष, श्रीमती समानुपातिक, छोराछोरी प्रदेश …… । यसैको लागि त राजनीति गरेको ।

Leave a Reply to ksp pyl Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर