पदमुक्त सभामुखले गराएका निर्णय कार्यन्वयन नगर्न महासचिवलाई राष्ट्रियसभा अध्यक्षको निर्देशन – Nepal Press

पदमुक्त सभामुखले गराएका निर्णय कार्यन्वयन नगर्न महासचिवलाई राष्ट्रियसभा अध्यक्षको निर्देशन

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले कानून बमोजिम पदमुक्त भइसकेका सभामुख अग्नि सापकोटा र उपसभामुख पुष्पा भुसालले आफू अनुपस्थित भएको बेला व्यवस्थापन समितिको बैठक बोलाएर गरेका निर्णय कार्यन्वयन नगर्न संसद सचिवालयलाई निर्देशन दिएका छन् ।

अध्यक्ष तिमल्सिनाको निजी सचिवालयबाट उपसचिव सुशीला आचार्यले आइतबार संसदका महासचिव डा. भरतराज गौतमलाई पत्र लेखी असोज ५ गते बसेको संघीय संसद सचिवालयको सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले गरेका निर्णय कार्यन्वयन नगर्न जानकारी गराएकी छन् ।

अध्यक्ष तिमल्सिना पनि व्यवस्थापन समितिमा हुन्छन् । तर उनी पर्वत गएको मौकामा पदमुक्त सभामुखको निर्देशनमा महासचिव गौतमले बैठक बोलाएर कर्मचारी पदस्थापन, विदेश अध्ययन विदा स्वीकृति लगायतका विभिन्न निर्णय गराएका थिए ।

अध्यक्ष तिमल्सिनाले सभामुख र उपसभामुख पदमुक्त भए नभएको बारे निर्वाचन आयोगलाई समेत पत्राचार गरेका छन् । आयोगले उम्मेदवारी मनोनयनको अघिल्लो दिनसम्ममात्र पदमा रहने भन्दै समानुपातिकको बन्दसूची पेश हुने दिनलाई डेडलाइन मानेर जवाफ पठाएको छ ।

अध्यक्ष तिमल्सिनाको तर्फबाट महासचिव गौतमलाई पठाइएको पत्रमा पनि प्रतिनिधिसभाका पदाधिकारी तथा सदस्यहरुको कार्यकाल सकिएकाले पदमुक्त सभामुखले गरेका निर्णय कार्यन्वयन गर्न गराउन उपयुक्त नदेखिएको उल्लेख छ ।


प्रतिक्रिया

One thought on “पदमुक्त सभामुखले गराएका निर्णय कार्यन्वयन नगर्न महासचिवलाई राष्ट्रियसभा अध्यक्षको निर्देशन

  1. सभनमुख त सभामुख जस्तो नै भएन नि । पार्टीको झोले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर