शेखर–गगन समूहमा तीन विकल्प प्रस्ताव, विद्रोही नेताहरु एमालेको सम्पर्कमा – Nepal Press

शेखर–गगन समूहमा तीन विकल्प प्रस्ताव, विद्रोही नेताहरु एमालेको सम्पर्कमा

देउवा र गठबन्धनलाई दियो तीन बुँदे सन्देश, प्रत्यक्ष र समानुपातिकमा ४० प्रतिशत बटमलाइन

काठमाडौं । कांग्रेसको समानुपातिकतर्फको बन्दसूची हेरेपछि डा.शेखर कोइराला समूहबाट निर्वाचित सहमहामन्त्री बद्री पाण्डेले केही मुख्य नेतासँग भने, ‘यो बिजोगमा भाग लिनुभन्दा यो चुनाव हापौं । गठबन्धनबाट बाँकी रहेको सीट शेरबहादुर दाइलाई नै पुग्दैन । यसपटक हामी चुनाव नलड्ने र रुखमा भोट हालेर बस्ने भनेर वक्तव्य जारी गरौं ।’

बद्री पाण्डेले सीमित नेताहरुका बीचमा राखेको यो प्रस्ताव शेखर-गगन थापा समूहले शनिबार काठमाडौंमा ‘न्याय र समानताका लागि’ भन्दै खबरदारी सभामा गुरुराज घिमिरे, भुपेन्द्रजंग शाही र मनोजमणि आचार्यलगायतले खुलेरै सार्वजनिक गरे । उनीहरुले देउवाको दयामा केही नेताले चुनाव लड्ने र सयौं कार्यकर्ताको खोसिने हो भने टिकट फालेर चुनावबाट बाहिरिनुपर्ने प्रस्ताव राखे ।

शेखर-गगन समूहको भेलाले के सन्देश दियो भन्ने चर्चा गर्नुभन्दा पहिले सो समूहमा भइरहेका छलफलको बारे जानकारी राख्नुपर्छ । अहिले शेखर-गगन समूह दोहोरो चेपुवामा छ । एकातिर देउवाले ४० प्रतिशत होइन १० प्रतिशतमा सीमित गर्ने संकेत समानुपातिककै सूचीबाट देखाउन थालेको छ भने अर्कोतिर आफ्नो समूहका देशभरका नेता-कार्यकर्ताको असन्तुष्टि थामिनसक्नु छ ।

समानुपातिक बन्दसूची शेखर र गगनको सहमतिमा पेश गरिएको खबरले नै सो समूहमा विद्रोह भइसकेको थियो । शेखर र गगनको क्षेत्रमा एक एकजना समानुपातिक उम्मेदवार पारेर सो समूहमै विभाजन ल्याउन खोजेको चर्चा पनि चलेको छ ।

त्यसैले गुरु र भुपेन्द्रलगायतले शनिबार आफ्नै समूहका नेताहरुलाई चेतावनीको शैलीमा भनेका छन्, ‘तपाईंहरु दुई-चार जना नेताको टिकट निश्चित छ । तर, तपाईंहरुका नाममा हाम्रो बलि चढाइन्छ भने देशव्यापी विद्रोह हुन्छ ।’

शेखर-गगन समूहका सीमित नेताको व्यवस्थापनले नहुने र ४० प्रतिशतभन्दा एक सीट पनि तल सम्झौता नगर्न उनीहरुमाथि दबाब छ । यस्तोमा शेखर समूहमा बद्री पाण्डेले राखेजस्तै तीन विकल्पमा छलफल भइरहेको नेताहरुले बताएका छन् । ती तीन विकल्प के हुन् त ? ती नेताले नेपाल प्रेसलाई यसरी बताए ।

पहिलो विकल्पः देउवाले जति सीट दिन्छन् त्यो लिने, सकेसम्म धेरै सीट लिन प्रयास गर्ने तर नदिएमा आत्मसमर्पण गर्ने ।

दोस्रो विकल्पः शेखर-गगनसहितले टिकट फिर्ता गर्ने र यसपटक हामी चुनाव लड्दैनौं, गठबन्धनका कारण सभापतिलाई आफ्नै टीम व्यवस्थापन गर्न गाह्रो भएकाले हामी रुखमा भोट हाल्छौं । तर, चुनाव लड्दैनौं भनेर वक्तव्य जारी गर्ने ।

तेस्रो विकल्पः महाधिवेशनमा आफ्नो समूहलाई सघाएका कार्यकर्ताको विद्रोहलाई साथ दिँदै देशव्यापी अलग उम्मेदवारी दिने र एमालेसँग सीटको तालमेल गर्ने ।

अहिले शेखर-गगन समूहमा यो छलफल भइरहेको छ र यसबारे देउवामात्र होइन गठबन्धनका शीर्ष नेताहरु पनि जानकार छन् । कार्यकर्ता तहबाट पहिलो र दोस्राभन्दा पनि तेस्रो विकल्पमा जान दबाब नेताहरुलाई छ । कतिपय नेताहरुले व्यक्तिगत रुपमा एमाले अध्यक्ष केपी ओलीलगायतका शीर्ष नेताहरुलाई भेटेर आफूहरु विद्रोहमा जाने भन्दै सहकार्यको प्रस्ताव राखिसकेका छन् ।

त्यसो त गठबन्धनमा सीट बाँडफाँट चलिरहेका वेला डा.शेखर कोइराला र डा. मिनेन्द्र रिजाललगायतका नेताले केपी ओलीलाई भेटेर आवश्यक पर्दा सहकार्य गर्नुपर्ने जनाउ दिइसकेका छन् । एमालेले आफू कमजोर भएका ठाउँमा वा कांग्रेसका प्रभावशाली नेताहरुले विद्रोह गर्दा गठबन्धन हार्न सक्ने ठाउँमा विद्रोही कांग्रेसलाई सघाउने सन्देश पठाइसकेको छ ।

डोटी, प्यूठान, सोलुखुम्बु, गोरखाजस्ता जिल्लाका कतिपय नेता एमालेको सम्पर्कमा पुगिसकेका छन् । तर, शेखर-गगन समूहका नेताहरुले संस्थागत रुपमै जान पर्खाएका छन् । गठबन्धनका कारण सीट खोसिने निश्चितजस्तै भएका कतिपय प्रभावशाली कांग्रेस नेताहरु एक्लै वा कर्ण मल्ल र गोविन्दराज जोशीमार्फत एमाले नेतृत्वसँग संवादमा जुटेका छन् ।

पहिलो विकल्पमा नजाने र दोस्रोभन्दा पनि तेस्रो विकल्पमा जानुपर्ने दबाब शेखर-गगनमाथि छ । किनकि चुनावमा भाग नलिने भनेर देउवालाई वाकओभर दिँदा त्यसले आफ्नो समूह समाप्त हुने भय उनीहरुलाई छ । तेस्रो विकल्पमा जाँदा देउवाले गठबन्धन रोज्ने कि कांग्रेसको एकता रोज्ने भन्ने अवस्था निम्तिनेछ र देउवाले सम्झौता गर्न बाध्य हुनेछन् भन्ने बुझाइ नेताहरुको छ ।

कांग्रेसभित्रको यो सम्भावित तीन विकल्पबारे जानकार रहेका प्रचण्ड-माधवलगायतका नेताहरुले पनि आफ्नो विकल्प ‘ट्र्याक टु’बारे सोच्न थालेका छन् । कांग्रेसको शेखर समूहले चाहेमा गठबन्धनका धेरै ठाउँमा हराउन सक्नेमा नेताहरु जानकार छन् । देउवाले भन्दैमा यसपटक विद्रोह थामिन सक्ने उनीहरुले देखेका छैनन् ।

शेखर-गगन समूह देउवालाई दबाब दिन गुरु घिमिरेले भनेजस्तो विद्रोहको चरणमा प्रवेश गर्‍यो भने त्यहाँ महाधिवेशनमा उनीहरुलाई भोट दिएकाहरुमात्र हुने छैनन् । गठबन्धनका कारण सीट खोसिने अवस्थामा देउवा समूहकै धेरै नेता-कार्यकर्ता त्यहाँ पुग्नेछन् । एमाले शेखर समूहले संस्थागत विद्रोह गरेमा चुनावी तालमेल गर्न तयार नै देखिन्छ ।

देउवाले शेखर–गगन समूहका सिमित नेतालाई टिकट दिएर बाँकी प्रभावशाली नेता भएका क्षेत्र कि त गठबन्धनलाई सुम्पिने कि जुधाउने रणनीति बनाएका छन् । उदाहरणका लागि मोरङ २ मा डा.मिनेन्द्र रिजाल वाम गठबन्धन हुँदा पनि जितेका थिए । यसपटक सुजाता कोइरालाले गिरिजाप्रसाद कोइरालाको विरासत रहेको क्षेत्रमा आफू उम्मेदवार बन्ने भन्दै देउवासँग सीट सुरक्षित गर्न मागिसकेकी छन् ।

देउवाले न त रिजाललाई हुँदैन भनेका छन् न सुजातालाई रोक्न चाहेका छन् । यस्तै ‘मुसिबत’मा अरु धेरै नेतालाई पार्ने सम्भावना छ । त्यसैले अन्तिममा इतर समूहका एक दर्जनजति नेतालाई मात्र टिकट दिएर देउवाले बाँकी सीटमा आफ्ना र महाधिवेशनपछि जोडिएका रामचन्द्र,सशांक,प्रकाशमानहरुको चित्त बुझाउने सम्भवाना छ ।

विनम्रताबाट आक्रोशको चरण

शनिबारको भेलामा शेखर समूहका नेता कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीहरू डा. रामशरण महत, अर्जुननरसिंह केसी, डा. मिनेन्द्र रिजाल, डा. चन्द्र भण्डारीलगायतका प्रभावशाली नेताहरू भने उपस्थित थिएनन् । यस्तै टिकट पाउने सम्भावना भएका नेताहरूको पनि उपस्थिति कम थियो ।

कांग्रेस नुवाकोटका पूर्वसभापति जगदीशनरसिंह केसीले अध्यक्षता गरेको कार्यक्रममा केन्द्रीय सदस्यहरू अजयबाबु सिवाकोटी, दिनेश कोइराला, प्रतिमा गौतमलगायतका नेताहरू उपस्थित थिए । भेला आयोजकमध्येका केसीले भने नेताहरुलाई त्यस भेलामा नबोलाइएको र खबरदारीका लागि आफूहरुले आयोजना गरेको बताए ।

जेसुकै भए पनि भेलाले विभिन्न किसिमका सन्देशहरू भने दिएको देखिन्छ । ती सन्देशहरूमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनका शीर्ष नेताहरूलाई विभिन्न सन्देश दिएको छ ।

भेलामा बोल्ने वक्ताहरूले आसन्न निर्वाचनका दौरानमा पार्टी सभापति देउवा र गठबन्धन दलका नेताहरू नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवका कारण आफ्नो पक्षलाई अन्याय हुने बताएका थिए । यही कारण त्यो सम्भावित अन्यायका विरुद्ध खबरदारी गर्न सभाको आयोजना गर्नुपरेको बताएका छन् ।

भेलामा खबरदारीसँगै सम्भावित ‘विद्रोह’का प्रकारहरूबारे पनि नेताहरूले चर्चा गरेका छन् । न्यायोचित निर्णय नभए विद्रोहमा जानसक्ने नेताहरूले बताएका छन् ।

देउवालाई तीन सन्देश

शेखर समूहको भेलामा बोल्ने नेताहरूले आफू अहिलेसम्म विनम्रताको चरणमा रहेकाले त्यसलाई कमजोरी नठान्न पार्टी सभापति देउवालाई चेतावनी दिएका छन् । विशेषगरी देउवालक्षित भेलामा आफ्नो पक्षमाथि अन्यायको सिलसिला नरोकिए आक्रोशपछि विद्रोहको चरणमा पुग्ने चेतावनी दिइएको छ ।

‘हाम्रो खबरदारीको चरणमा विभाजन गरेका छौं । एउटा विनम्रताको चरण, अहिले खबरदारीसभा विनम्रताको चरण हो’, युवा नेता गुरुराज घिमिरेले भने, ‘यसबाट नेताको आँखा खुलेन भने आक्रोश र विद्रोहको चरणमा पुग्नसक्छौं ।’

शेखर-गगन पक्षले महाधिवेशनमा आफ्नो पक्षले ४० प्रतिशतभन्दा बढी मत पाएकोले सोहीअनुसार पार्टीभित्र हुने नियुक्ति, जिम्मेवारी र चुनावी टिकट माग गरिरहेको छ । आसन्न निर्वाचनमा पनि प्रत्यक्ष र समानुपातिकमा आफ्नो पक्षबाट ४० प्रतिशत सीट पाउनुपर्ने दाबी शेखर पक्षको छ । यसैका लागि दबाब दिने उद्देश्यले भेला आयोजना गरिएको जनाइएको छ । सभामा बोल्ने अधिकांश नेताहरूले ४० प्रतिशतको संस्कृति वर्तमान सभापति देउवाले नै भित्र्याएको दाबी गर्दै अहिले आफूहरूले सोहीअनुसार हिस्सेदारी पाउनुपर्ने बताएका थिए ।

 

यस्तै सभापति देउवालाई दिएको अर्को सन्देश भनेको असोज ३ गते निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्दसूचीबारेको छ । जहाँ शेरबहादुर देउवा पक्षले एकलौटी गरेको शेखर पक्षको आरोप छ । शेखर-गगनलगायतका शीर्ष नेताहरूले यसबारे बोलेका छैनन् । तर, खबरदारी भेलामा भने शेखरलगायतका शीर्ष नेताले नै देउवालाई १६ गतेसम्मको बटमलाइन दिएको बताएका छन् ।

‘अस्तिमात्रै हाम्रो टीमका नेताहरू शेखर कोइराला, धनराज गुरुङ, गगन दाइलगायत बसेर निर्णय गर्नुभएको छ’, भेलामा बोल्दै तरुण दलका पूर्वमहामन्त्री भुपेन्द्रजंग शाहीले भने, ‘उहाँहरू बसेर के निर्णय गरिसक्नुभयो भने अहिलेको यो समानुपातिकको लिष्ट १६ गते अगाडि नै परिवर्तन भएन भने, खारेज भएन भने, हाम्रा साथीहरूलाई ४० प्रतिशतभन्दा बढी हिस्सा दिएर राखिएन भने झुक्किएर परेका हाम्रा नाम पनि काटियोस् ।’

गठबन्धनका अन्य दललाई दिएका तीन सन्देश

समूहका नेता कोइरालाले सीट बाँडफाँटमा कांग्रेसलाई १०० सीटभन्दा तल खुम्च्याउन खोजे गठबन्धनको मर्म नजोगिने बताउँदै आएका छन् । कांग्रेसले १०० सीट नपाए बहुमत नआउने र ८०/८२ सीटका लागि गठबन्धन नै नचाहिने उनले बताउँदै आएका छन् ।

कांग्रेसलाई १०० सीटभन्दा तल राखे पार्टीभित्रका आकांक्षीको व्यवस्थापन गर्न गाह्रो पर्ने र त्यसो भए गठबन्धन दललाई पनि असर पर्ने बताउँदै आएका थिए ।

कोइरालाको यो आशंका जस्तै उनको पक्षले १०० सीट नपाए आफ्नो पक्षका नेता उम्मेदवार हुनसक्ने क्षेत्र गठबन्धनका अन्य दलले पाउने सम्भावना छ । यही कारण यो पक्ष गठबन्धनका दलहरू नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चामाथि पनि खनिएको छ ।

भेलाले कांग्रेसलाई खुम्च्याएर गठबन्धनका अन्य दलहरूले धेरै सीट जित्ने सपना पूरा नहुने, बालुवाटारमा घण्टौं बैठक बसेर सभापति देउवालाई दबाब बढाएरमात्रै जित्न नसकिने सन्देश दिएका छन् ।

‘गठबन्धनको अर्को प्रमुख घटकका अध्यक्ष प्रचण्डजी, सँगसँगै माधवजी, उपेन्द्रजी र चित्रबहादुर हो कि दुर्गा पौडेल हो उहाँलाई म भन्न चाहन्छु’, सभामा युवा नेता घिमिरेले भने, ‘खबरदारी केवल शेरबहादुर दाइलाई मात्र छैन । नेपाली कांग्रेसबाट बढीभन्दा बढी सीट लिँदैमा, नेपाली कांग्रेसबाट बढीभन्दा बढी संसदीय क्षेत्र लिँदैमा निर्वाचन जित्ने ग्यारेन्टी तपाईंसँग छैन । हेक्का राख्नुस् बालुवाटारमा मिटिङ बस्दैमा, आफ्नो सन्देश पठाउँदैमा घण्टौंघण्टा छलफल गर्दैमा निर्वाचनमा मागे जति सीट पाइँदैन र पाए जति जितिँदैन ।’

यसबाहेक कांग्रेसभित्रको आन्तरिक आयाम नबुझी टाउका जोडेर जीत हासिल गर्न सकिन्छ भन्ने भ्रम त्याग्न उनले आग्रह गरे ।

यस्तै कांग्रेसका अर्का नेता भरत खड्काले कांग्रेसको टिकटमा हस्तक्षेप नगर्न प्रचण्ड र माधव नेपाललाई चेतावनी दिए । ‘मेरो टिकट बाँड्ने प्रचण्डजी वाह ! हाम्रो टिकट प्रचण्ड जी बाँड्नुहुन्छ, माधवजी बाँड्नुहुन्छ’, उनले भने, ‘हाम्रो टिकट त पार्टी सभापति शेरबहादुर देउवाजीले बाँड्ने हो नि ! प्रचण्ड र माधवजीले बाँडे त्यसको मूल्य नराम्ररी चुकाउनुपर्ला !’

विद्रोहका तीन विकल्प

खबरदारी सभामा बोल्ने अधिकांश वक्ताहरूले पार्टी सभापति देउवा र सत्ता गठबन्धनको रवैया हेर्दा आफ्नो पक्षका माग सम्बोधन हुने र न्याय हुने सम्भावना कम रहेको पनि दाबी गरेका छन् । यही कारण विद्रोहको तयारीमा जुट्न प्रस्ताव पनि भेलाबाटै गरेका छन् ।

‘यहाँभित्र न्याय हुँदैन । त्यो पर्खाइमा जाने हो भने ढिला हुन्छ । ढिलाइ गरे पार्टी विघटनतर्फ पनि जान सक्छ’, भेलामा सम्बोधन गर्दै नेता खड्काले भने, ‘त्यसैले हाम्रो पक्षले ७७ जिल्लामै उम्मेदवारी दिने निर्णय गर्नुपर्छ ।’

यस्तै अन्य केही नेताले आफ्नो समूहले पार्टीभित्र ४० प्रतिशत सीट समानुपातिक र प्रत्यक्ष दुवैतिर नपाए चुनाव बहिस्कार गर्नेसम्म जानुपर्ने बताए ।

कार्यक्रम सञ्चालन गरिरहेका युवा नेता डिल्लीराम सुवेदीले संसदीय बोर्डको बैठक घेर्नेदेखि लिएर केन्द्रीय कार्यालयमा आमरण अनसन र रिले अनसन बस्नेसम्मका आन्दोलनमा जानुपर्ने प्रस्ताव गरे ।

यस्तै समूहबाट न्यायिक ढंगबाट उम्मेदवारी नभए टिकट फिक्स भएका नेताले पनि टिकट फ्याँक्नुपर्ने प्रस्ताव उठेको छ ।

‘शेखर कोइराला, गगन थापा, धनराज गुरुङ, बद्री पाण्डेहरूले मात्र टिकट पाएर हुन्छ ? तपाईंहरूका कारण हाम्रो भविष्य समाप्त हुँदैछ’, भेलामा बोल्दै तरुण दलका पूर्वमहामन्त्री शाहीले भने, ‘यदि समानुपातिक सूची खारेज गरेर बराबरी सीट नदिए र ४० प्रतिशतभन्दा एक सीट पनि कम दिए शेखर, गगन र धनराजलगायतले चुनाव लड्दिन भन्नुपर्छ, टिकट फालेर आउनुपर्छ । देउवाहरु एक्लै चुनाव लडून् ।’

यस्तो अवस्थामा ७७ वटै जिल्लामा बागी उम्मेदवारी दिने, समूहबाट कोही नउठेर रुखमा मात्र मतदान गर्ने तथा गठबन्धनका अन्य दललाई उम्मेदवारी नदिने र समानुपातिक तर्फमात्र मतदान गर्नेसम्मका आवाज भेलामा उठेको छ ।


प्रतिक्रिया

One thought on “शेखर–गगन समूहमा तीन विकल्प प्रस्ताव, विद्रोही नेताहरु एमालेको सम्पर्कमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर