२ महिनामा १० प्रतिशतले घट्यो व्यापार घाटा – Nepal Press

२ महिनामा १० प्रतिशतले घट्यो व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा पौने ३ खर्ब नेपाली रुपैयाँ बाहिरिएको छ । विभिन्न मालवस्तु आयातका नाममा २ खर्ब ७३ अर्ब ५९ करोड रुपैयाँ बाहिरिएको छ । यो गत वर्षको तुलनामा १३ प्रतिशतले कम हो ।

यस्तै निर्यात घटेको छ । गतवर्षको यसैअवधिको तुलनामा ३४.८८ प्रतिशतले निर्यात घटेको छ । यो दुई महिनामा २८ अर्ब ६८ करोड रुपैयाँ बराबरको निर्यात भएको भन्सार विभागले जनाएको छ ।

आयात घटेसँगै नेपालको वैदेशिक व्यापार घाटामा करिब १० प्रतिशतले कमी आएको छ । विभागले सार्वजनिक गरेको भदौ मसान्तसम्मको तथ्यांकअनुसार नेपालको विदेशसँगको व्यापार घाटा ९.४५ प्रतिशतले कम भएको हो । दुई महिनामा ३ खर्ब २ अर्बको वैदेशिक व्यापार भएको छ ।

नेपालमा सबैभन्दा बढी आयात हुने पेट्रोलियम पदार्थको आयात दुई महिनामा ५० अर्ब ८८ करोड रुपैयाँ बराबर भएको छ । यस्तै फलाम र स्टीलको आयातमा २४ अर्ब ३५ करोड रुपैयाँ बराबर, विद्युतीय सामग्रीको आयातमा १८ अर्ब २३ करोड रुपैयाँ बराबरको भएको छ ।

औषधिजन्य वस्तुको आयात १० अर्ब १७ करोड रुपैयाँ बराबरको भएको छ । वनस्पति तेल र यससँग सम्बन्धित वस्तुको आयात १९ अर्ब ८ करोड रुपैयाँ बराबरको भएको छ ।

नेपालमा सबैभन्दा बढी भारत र चीनबाट आयात हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर