भारतीय पुरुष रेसलरलाई हराएकी अस्मिता जुरेलीले राष्ट्रिय झण्डाबारे दिइन् प्रष्टीकरण – Nepal Press

भारतीय पुरुष रेसलरलाई हराएकी अस्मिता जुरेलीले राष्ट्रिय झण्डाबारे दिइन् प्रष्टीकरण

काठमाडौं । हिजो भृकुटीमण्डपमा आयोजित अन्तर्राष्ट्रिय रेस्लिङमा नेपालकी अस्मिता जुरेलीले भारतका पुरुष रेसलरलाई पराजित गर्दै वाहवाही बटुलिन् ।

रेस्लिङमा पावरभन्दा टेक्निङ प्रभावकारी हुन सक्ने प्रमाणित गर्दै उनले भारतीय रेसलरलाई चतुरतापूर्वक परास्त गरेकी थिइन् ।

तर, सो खेलका क्रममा उनले राष्ट्रिय झण्डाको अपमान गरेको भन्दै सामाजिक सञ्जालमा कतिपयले प्रतिक्रिया जनाइरहेका छन् ।

भिडन्तअघि राष्ट्रिय झण्डा फहराउँदै उनी रिङमा प्रवेश गरेकी थिइन् । रिङ परिक्रमापछि खेल सुरु हुनुअघि उनले झण्डा गुटमुट्याएर फ्याकेको भिडिओमा देखिन्छ ।

यस विषयमा प्रष्टीकरण दिँदै जुरेलीले आफूले नियतवश राष्ट्रिय झण्डाको अपमान नगरेको बताएकी छन् । झण्डा फ्याकेको नभई रिङबाट स्वयंसेवकलाई इशारा गरेर पास गरेको उनको भनाइ छ ।

‘मेरो/रिङको दूरी केही टाढा भएकाले मैले झण्डा स्वयंसेवकलाई इशारा गरी रिङबाट स्वयंसेवक समक्ष पास गरेकी थिएँ । यसलाई लिएर केहीले झण्डाको अपमान गरेको भनी गलत बुझाइ तथा टिप्पणी गरेको पाएँ । उक्त टिप्पणीमा सत्यता नभएको र उक्त गलत बुझाइ तथा झूटो प्रचारको विश्वास नगर्नुहुन यहाँहरूसमक्ष अवगत गराउन चाहन्छु,’ जुरेलीले भनेकी छन् ।

नेपाल प्रेससँग थप कुराकानी गर्दै उनले आफूबाट अञ्जानमा गल्ती हुन पुगेको बताइन् ।

‘मेरो सबै ध्यान अब हुने भिडन्ततर्फ थियो । अर्कै सुरमा झण्डालाई त्यसरी हुत्त्याउन पुगेछु,’ उनले भनिन्, ‘अञ्जानमा भएको गल्तीका लागि सबैले माफी दिनुहुनेछ भन्ने अपेक्षा गरेकी छु ।’

उनले आफू एक राष्ट्र प्रेमी नागरिक पनि भएकाले नेपालको राष्ट्रिय झण्डालाई सदैव उच्च सम्मान गर्ने बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *