माल पाएर चाल नपाएका हामी: यसकारण ‘हिन्दू-बौद्ध’ राष्ट्र हुनुपर्छ नेपाल – Nepal Press
पुस्तक अंश

माल पाएर चाल नपाएका हामी: यसकारण ‘हिन्दू-बौद्ध’ राष्ट्र हुनुपर्छ नेपाल

नेपालमा ८० प्रतिशतभन्दा बढी हिन्दू छन् । यसको मूल ग्रन्थ वेदका रचयिता वेदव्यासको जन्म तनहुँको डेम्बुले (दमौली)मा भएको दाबी गरिन्छ । व्यासको साधना तथा तपस्थली व्यास गुफा सेदी र मादी नदीको दोभानमा छ । व्यासले त्यहीँ बसेर वेदलगायत महाभारतको रचना गरेको विश्वास गरिन्छ ।

वेदव्यासकी माता सत्यवतीको जन्म चाहिँ दमौलीदेखि आठ किमि पूर्व छाब्दी बाराहको मन्दिरको पश्चिमपट्टिको कुण्डमा माछाका रुपमा भएको मानिन्छ । त्यसैले उक्त कुण्डलाई मत्स्यकुण्ड भनिने गरेको बताइन्छ । पछि आमाको पूजाका लागि वेदव्यासले त्यहाँ चलाएको पूजाआजा आजसम्म पनि निरन्तर चलिरहेको स्थानीय बताउँछन् । विद्वान् योगी नरहरिनाथलगायत धर्म र संस्कृतिका कैयौं ज्ञाताले यसबारे लेखेका छन् । नेपालसँग हिन्दू धर्मका सबैजसो प्रमुख देवीदेवताको गहिरो सम्बन्ध छ ।

पछिल्लो चरणमा आएर, हिन्दूहरुको ठूलो महङ्खवको एक धाम भारतको उत्तराखण्डस्थित केदारनाथको शिर चाहिँ भक्तपुरको डोलेश्वर महादेव भएको जगद्गुरू भीमाशङ्करलिङ्ग शिवाचार्यले ०६६ सालमा विधिवत् घोषणा गरेका थिए । उत्तराखण्डमा ०७० सालमा भीषण बाढीले केदारनाथ मन्दिरमा क्षति पुर्‍याएपछि डोलेश्वर महादेवको मन्दिरमा केदारनाथको नित्य पूजा गरिएको थियो । यसरी आधुनिक नेपाल परापूर्वकालदेखि नै हिन्दू धर्मको केन्द्र रह्यो ।

नेपालमा लगभग १० प्रतिशत बौद्धमार्गी छन् । बौद्ध धर्मका जन्मदाता गौतम बुद्ध नेपालको लुम्बिनीमा शाक्य राज परिवारमा जन्मिएका थिए । उनको जन्म ६६३ इसापूर्व अर्थात् झन्डै २६ सय वर्षअगाडि भएको मानिन्छ । उनको शिक्षादीक्षा भारतीय उपमहाद्वीप हुँदै चीन, जापानलगायत पूर्व, दक्षिणपूर्व तथा मध्येएसियासम्म फैलियो । आज संसारका लगभग ५० करोड मानिस (सात प्रतिशत) ले आत्मसात् गरेको बौद्ध धर्म चौथो सबैभन्दा ठूलो धर्म हो । पहिलो, दोस्रो र तेस्रोमा क्रमशः इसाई, इस्लाम र हिन्दू धर्म पर्छन् । लुम्बिनी विश्वसम्पदा सूचीमा सूचीकृत छ । सतही तहमा कहिलेकाहीँ बुद्धको जन्मस्थानबारे विवाद गर्न खोजिए पनि त्यसलाई संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले ०५४ सालमै बुद्धको जन्मस्थलका रुपमा मान्यता दिइसकेको छ ।

नेपाल विश्वको तेस्रो र चौथो ठूलो प्राचीन धर्म, संस्कृति र सभ्यताको केन्द्र हो । यसरी बहुधर्मका लागि विश्व परिचित संसारमा अर्को एउटा मात्र केन्द्र छ, जेरूसलेम, जुन इसाई, इस्लाम र जुदेइजम सबैका लागि पवित्र मानिन्छ । तर दशकौंदेखि जेरूसलेम विश्व हिंसाको केन्द्र पनि बनेको छ । हिन्दू र बौद्ध दुई ओटा प्रमुख धर्मको केन्द्र भएर पनि नेपालमा हिन्दू र बौद्ध धर्मावलम्बीहरुबीच एकाध तदर्थ घटनाबाहेक कहिल्यै द्वन्द्व र झैझगडा भएन । कैयौं प्रसिद्ध हिन्दू मन्दिरका मूल पुजारी बौद्ध धर्मावलम्बी छन् । काठमाडौंको दक्षिणकाली, शोभाभगवती, भक्तपुरको नवदुर्गा, काभ्रेको पलाञ्चोक भगवती सबैमा वज्राचार्य (बौद्ध धर्मावलम्बी) कुलका पुजारी छन् । मनकामना मन्दिरमा मूल पुजारी मगर हुन्छन् । तर त्यहाँ वर्षमा एक पटक काठमाडौंको वज्राचार्य गएर तान्त्रिक पूजा गर्नुपर्छ । त्यो पृथ्वीनारायण शाहको पालादेखि सुरू भएको चलन हो ।

काठमाडौंको पशुपति मन्दिरमा वर्षको एक पटक धुमधामसाथ मुखः अष्टमीका दिनमा शिवलिङ्गमा पञ्चबुद्धको मुकुट (श्रीपेच) लगाएर पूजा गरिन्छ । बौद्ध धर्मावलम्बीहरुले शिवलिङ्गलाई पूजा गर्नुको अर्थ छ । बौद्ध धर्मले महादेवलाई १०८ ओटा लोकेश्वरमध्ये एउटा लोकेश्वरका रुपमा ग्रहण गरेको छ । स्वयम्भूलगायत कैयौं बौद्ध धार्मिक स्थलहरुमा ‘हरि हरि हरि वहान लोकेश्वरको’ मूर्ति देख्न सकिन्छ, जहाँ विश्णुको काँधमा अवलोकितेश्वर बसेका हुन्छन् । त्यसैगरी काठमाडौंका कैयौं महायानी, बज्रायानी विहारहरुमा गणेशको पूजा गरिन्छ, जसलाई बौद्ध धर्मले पनि विघ्नबाधा हटाउने शक्तिका रुपमा स्विकारेको छ ।

बौद्ध धर्मस्थलहरुमा तन्त्रयान, बज्रयानअन्तर्गत विभिन्न साधना-मुद्रामा राखिएका बौद्ध मूर्तिहरुको रुप र नाम हेर्दा ती हिन्दू देवीदेवता जस्तै लाग्छन् । कैयौं ठाउँमा एउटै धार्मिक परिसरमा हिन्दू र बौद्ध मूर्ति देखिन्छन् । र हिन्दू तथा बौद्ध धर्मावलम्बीहरु दुवैले ती मूर्तिहरुलाई समान आदरसाथ पूजा गर्छन् । मुस्ताङको मुक्तिनाथ मन्दिर पनि दुवै धर्मावलम्बीहरुको समान आदरको एउटा ज्वलन्त नमुना हो । हिन्दू धर्ममा अहिलेको तुलनामा पहिले अचाक्ली हिंसा हुने गर्थ्याे । त्यसमा धेरै कमी आउनुमा बुद्ध र जैन धर्मको प्रभाव भएको बताइन्छ । अहिले चाहिँ हिन्दू र बौद्ध धर्म दुवैमा ‘तन्त्र’ जोडिएका धर्मस्थलमा मात्र पशुबलि चढाइन्छ । जगत् कल्याण, स्वस्तिशान्ति, भाइचारा, चोरी नगर्नू, झुटो नबोल्नू, व्यभिचार नगर्नू जस्ता धेरै आदर्शमा दुवै धर्ममा समानता छ । व्यावहारिक, सामाजिक जीवनमा कुन चाहिँ आदर्श र सत्कर्म कसको हो भनेर छुट्याउनै गाह्रो हुन्छ । यसले दुई धर्मबीचको सम्बन्ध कति घनिष्ठ छ भन्ने पुष्टि गर्छ ।

बुद्धलाई भगवान् विष्णुको नवौं अवतार पनि भनिन्छ । यद्यपि त्यसमा बौद्ध धर्मावलम्बीहरुको विमति रहने गरेको छ । किनभने बुद्ध हुनुको अर्थ मुक्त भइसकेको अर्थात् निर्वाण प्राप्त गरिसकेको अवस्था हो, जुन फेरिफेरि आउँदैन । तर अवतारको अर्थ अस्तित्वको निरन्तरता हो । तसर्थ बौद्ध धर्मावलम्बीहरु बुद्धको अवतारको अवधारणाले बौद्ध दर्शनसँग तादात्म्य नराख्ने बताउँछन् ।

हामी नेपाली माल पाएर चाल नपाएका जाति हौं । हामीसँग उर्वर कृषि भूमि छ । तर हामी उब्जाउ गर्न सक्दैनौं । हामीसँग आठ हजार मिटरभन्दा अग्ला विश्वका आठ हिमाल छन् । हामीसँग असाधारण प्राकृतिक सौन्दर्य छ । हामीसँग जडीबुटीको भण्डार छ । हामीसँग कला, वास्तुकला र संस्कृतिको खानी छ । तर हामी त्यसको सदुपयोग गर्न जान्दैनौं । त्यसैगरी हामीले संसारका दुई प्रमुख धर्मको यो केन्द्रलाई सदुपयोग नै गर्न जानेनौं । हामीले हिन्दू र बुद्ध दर्शनबारे खोक्रा भाषण छाट्यौं । तर हामीलाई पश्चिमाहरुले पढाइदिएको धर्मनिरपेक्षताको दर्शन महान् लाग्यो । हिन्दू र बौद्ध धर्मले सिकाएको र सदियौंदेखि अभ्यास गरेर आएको ‘वसुधैव कुटुम्बकम्’ र विश्वशान्तिको भाव हामीलाई वैयक्तिक र विभाजकारी अनि धर्मनिरपेक्षता चाहिँ सर्वस्वीकार्य र अविभाजनकारी लाग्यो ।

परिणाम बिस्तारै उल्टो निस्कँदै छ । हिन्दू र बौद्धमार्गीले नेपालको ९० प्रतिशत जनसङ्ख्या ओगट्छन् । दुवै धर्म एकअर्काका पूरक हुन् । दुवैले असाधारण निरन्तरता, सौहार्दता र सहअस्तित्वका साथ धार्मिक अभ्यास गर्दै आएका छन् । सन्सारमै सौभाग्यले मात्र प्राप्त हुने यति ठूलो विशेषता हुँदाहुँदै हामीले नेपाललाई कहिले हिन्दू राष्ट्र मात्र भन्यौं, कहिले बतासिएर धर्मनिरपेक्ष भन्नमा रमायौं । तर नेपाल विश्वकै एक मात्र ‘हिन्दू-बौद्ध राष्ट्र’ हुन सक्छ भनेर कहिल्यै सोचेनौं । यो पावन भूमि, अल्प सङ्ख्यामा रहेका मुसलमान, किरात, इसाई, बोन, जैन, प्रकृतिपूजक सबै धर्मावलम्बीहरुको हो । तर यो देशको दीर्घकालीन शान्ति, स्थिरता र हित जेले गर्छ, त्यो सबै धर्मावलम्बीहरुको सबैभन्दा ठूलो धर्म हो । अन्य कतिपय देशमा जस्तै भोलि नेपालमा अशान्ति भयो भने जो जुनसुकै धर्मको भए पनि के अर्थ ?

त्यसैले नेपालको जातीय र धार्मिक बनावट, बढ्दो रुपमा संवेदनशील बन्दै गएको भूराजनीतिक अवस्थिति तथा धार्मिक पर्यटकीय दृष्टिकोण सबैबाट नेपाललाई धर्मनिरपेक्ष अथवा हिन्दू राष्ट्र बनाउनुभन्दा ‘हिन्दू-बौद्ध राष्ट्र’ बनाउनु हितकर हुनेछ । यो लगभग अविवादास्पद हुन्छ, विश्वमै विशेष हुन्छ ।

सँगसँगै ‘हिन्दू-बौद्ध राष्ट्र’को विशेष पहिचानलाई हामी परराष्ट्र सम्बन्धमा ‘सौम्य शक्ति (सफ्ट पावर)’का रुपमा पनि उपयोग गर्न सक्छौं । जतिसुकै प्रयास गरे पनि हामी हाम्रा बहादुर पितापुर्खाको समयको जस्तो सैनिक शक्तिसँग सम्बन्धित ‘शौर्य शक्ति (हार्ड पावर)’ बन्न सक्दैनौं । हामीले प्रयोग गर्ने भनेको हाम्रो शौम्य शक्ति नै हो । हिन्दू-बौद्ध राष्ट्रको विशेषताले सङ्कटका घढीमा हामीलाई पञ्चशीलको सिद्धान्त र शान्ति क्षेत्रको प्रस्तावबाट विचलित नगराउन शक्तिराष्ट्रहरुलाई अपिल गर्न पनि सघाउ पुर्‍याउँछ । त्यस्तै भारतमा संसारकै सबैभन्दा बढी ८० प्रतिशत अर्थात् एक अर्ब हिन्दू र चीनमा संसारकै सबैभन्दा बढी १८ प्रतिशत अर्थात् झन्डै २५ करोड बौद्ध धर्मावलम्बी छन् । छिमेकी देशहरुको त्यस्तो धार्मिक बनावट हिन्दू-बौद्ध राष्ट्र हुने हो भने धार्मिक पर्यटनका लागि मात्र नभई सौम्य कूटनीतिका लागि पनि अनुकूल हुनेछ ।

(विवेकशील-साझा पार्टीका पूर्वअध्यक्ष मिश्रको हालै प्रकाशित पुस्तक ‘विचारभन्दा माथि देश’ बाट साभार गरिएको एक अंश।)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *