पल शाहको मुद्दामा अदालतका यी निष्कर्ष, जसले सन्दीपलाई मिल्नसक्छ ढाडस – Nepal Press

पल शाहको मुद्दामा अदालतका यी निष्कर्ष, जसले सन्दीपलाई मिल्नसक्छ ढाडस

काठमाडौं । अभिनेता पल शाह बालयौन दुव्र्यवहारमा दोषी ठहर भएर अढाई वर्षको जेल सजाय काटिरहेका छन् । जिल्ला अदालत नवलपरासीले उनीलाई बलात्कारको आरोपमा भने सफाइ दिएको थियो ।

जुन दिन अदालतले पललाई सजाय सुनायो, संयोगले त्यही दिन राष्ट्रिय क्रिकेट टीमका कप्तान सन्दीप लामिछानेमाथि उस्तै आरोपमा किटानी जाहेरी पर्‍यो । प्रहरीको खोजीमा रहेका सन्दीप ‘सम्पर्कविहीन’ छन् । उनलाई पक्राउ गर्न प्रहरीले इन्टरपोललाई समेत सूचित गरेको छ ।

पल शाह र सन्दीपको मुद्दामा धेरै समानताहरु भएकाले उनले पनि पलले जस्तै कम्तिमा अढाई वर्षको जेल सजाय पाउन सक्ने अनुमानहरु भइरहेका छन् । यद्यपि उनीहरुको घटनामा केही आधारभूत भिन्नताहरु पाइन्छन्, जसले गर्दा उस्तै फैसला होला भन्न सकिने अवस्था छैन । साथै, अदालत र न्यायाधीशको स्वविवेकले पनि फैसलामा अन्तर ल्याउनसक्छ ।

यसैबीच पल शाहमाथि जिल्ला अदालतले गरेको फैसलाको पूर्ण पाठ दुई दिनअघि सार्वजनिक भएको छ । यो पूर्णपाठ अध्ययन गर्दा सन्दीप लामिछाने प्रकरणमा पनि धारणा बनाउन सजिलो हुनसक्छ । पूर्ण पाठका केही निष्कर्षहरु सन्दीपलाई राहत मिल्ने खालका छन् ।

निष्कर्ष १ः बलात्कारको ठोस ‘प्रमाण’ आवश्यक

पल शाह प्रकरणमा अदालतले बलात्कार पुष्टि गर्न पर्याप्त प्रमाणहरु नभएको निष्कर्ष निकालेको छ । मिसिलमा उल्लेखित आधार र प्रमाणहरुबाट प्रतिवादीले करणीको कसूर गरेको भनी अनुमान गर्न मिल्ने अवस्था नरहेको अदालतको ठहर छ ।

अदालतमा वादी पक्षले पेश गरेको सबैभन्दा ‘बलियो’ प्रमाण भनेको पल शाहको आवाजसमेत रहेको अडियो थियो । उक्त अडियोमा आफूहरुबीच सम्बन्ध रहेको स्वीकारोक्ति जनिने भाव पलले व्यक्त गरेका थिए । तर, त्यतिले मात्रै बलात्कार ठहर गर्न अदालत तयार भएन । पीडितले नै अदालतमा इन्कारी बयान दिएको अवस्थामा अदालतले ‘ठोस’ प्रमाण खोज्यो ।

अदालतले स्पष्ट शब्दमा भनेको छ, ‘फौजदारी विवादको हकमा प्रतिवादीमाथि लगाइएको आरोप वादी पक्षबाट शंकारहित तवरबाट पुष्टि गरिएको हुनुपर्छ ।’

अदालतको यो तर्क सन्दीपलाई पनि बल मिल्नसक्छ । उनको घटनामा पनि शंकारहित तवरबाट बलात्कार पुष्टि हुने गरी बलियो प्रमाण जाहेरीकर्ताले पेश गर्नुपर्नेछ । अहिलेसम्म होटलमा प्रवेश गरेको सीसीटीभी फुटेजसम्म प्रहरीले भेटेको छ । उनीहरु एउटै कोठामा सुतेको होटलका कर्मचारीले बयान दिएका छन् । तर, यतिले मात्रै बलात्कार प्रमाणित हुने देखिन्न ।

उनीहरुबीच त्यस रात शारीरिक सम्बन्ध भएको थियो वा थिएन भन्ने मुख्य प्रश्न हो । प्रहरी स्रोतका अनुसार राति उनीहरु सुतेको कोठाभित्र कुनै होहल्ला वा रोइकराइ भएको भनेर होटलका कर्मचारीले बताएका छैनन् । पल शाहको घटनामा जस्तै यसमा पनि प्रत्यक्षदर्शी कोही नभएको अवस्था छ । त्यसैले जाहेरीकर्ता आफैंले बलात्कार वा शारीरिक सम्बन्धको प्रमाण पुर्‍याउनुपर्छ । घटना हुँदाका बखत नै जाहेरीकर्ताले कुनै तस्वीर वा भिडिओ निर्माण गरेको भए त्यो सबैभन्दा बलियो प्रमाण बन्नसक्छ । तर, अहिलेसम्म उनीबाट त्यस्तो तस्वीर/भिडिओ पेश नभएको प्रहरी स्रोतको भनाइ छ ।

निष्कर्ष २ः मेडिकल रिपोर्टमात्रै पर्याप्त हुँदैन

बलात्कार प्रमाणित हुने अर्को महत्वपूर्ण आधार भनेको पीडितको मेडिकल रिपोर्ट हो । पल शाहबाट पीडित भनिएकी नाबालिगको मेडिकल रिपोर्टमा उनको कन्याजाली च्यातिएको देखिएको थियो । तर, त्यसका आधारमा मात्रै अदालतले शारीरिक सम्बन्ध रहेको ठहर गरेन ।

फैसलामा भनिएको छ, ‘जाहेरी दरखास्त परेपछि गरिएको पीडितको शारीरिक परीक्षण प्रतिवेदनमा Hymen: Healed scratch with Hymeneal injury at 7 & 5 O’clock position भन्ने रहेको र निको भइसकेको पुरानो दाग त्यसमा रहेको भन्ने देखिन्छ । यस सम्बन्धमा पीडितको स्वास्थ्य जाँच परीक्षण गर्ने विशेषज्ञहरुले बकपत्र गर्दा योनीको कन्याजालीको 7 & 5 O’clock मा त्यसरी दाग देखिनुका धेरै कारणहरु हुन्छन् । जस्तोः साइकल चढ्दा, रुख चढ्दा, भलिबल र फुटबल खेल्दा, दौडदा उफ्रँदा, शारीरिक सम्पर्क गर्दा, हस्तमैथुन गर्दा भनी लेखाइदिएको देखिन्छ’, फैसलामा भनिएको छ ।

सन्दीपबाट पीडित भनिएकी किशोरीको पनि स्वास्थ्य परीक्षण भइसकेको छ । तर, त्यसको रिपोर्ट सार्वजनिक गरिएको छैन । यदि उनको कन्याजाली च्यातिएको रिपोर्ट आयो भने पनि त्यसले मात्रै शारीरिक सम्बन्ध पुष्टि नहुने अदालतको यो नजिरले देखाउँछ । अरु विभिन्न कारणले कन्याजाली च्यातिनसक्ने भएकाले जाहेरीकर्ताले शारीरिक सम्बन्ध भएको प्रमाणित गर्न थप प्रमाण पेश गर्नुपर्नेछ ।

निष्कर्ष ३ः मिडिया ट्रायल अस्वीकार

पलमाथि भएको फैसलामा एउटा अर्थपूर्ण भनाइ छ । बुँदा नम्बर ५० मा भनिएको छ, ‘अदालतले सडकमा उठाइएको आवाज एवं प्रदर्शन र मिडियामा भएको ट्रायललाई हेरेर निर्णयमा पुग्ने होइन । अदालतमा पेश भएको कुनै पनि विवादमा निर्णयमा पुग्न मिसिलमा पेश भएका तथ्य र प्रमाण नै निर्णयका लागि आवश्यक हुन्छ ।’

अहिले सन्दीप लामिछानेमाथि पनि एकप्रकारले आरोपीभन्दा ‘अपराधी’ कै व्यवहार भइरहेको छ । कतिपय जिम्मेवार मिडियाहरुले नै उनी दोषी प्रमाणित भइसकेको जसरी समाचार/विचारहरु प्रस्तुत गरिरहेका छन् । यस्तो मिडिया ट्रायलले अदालतको फैसला प्रभावित बन्नसक्ने चिन्ता एकथरिलाई छ । नवलपुर जिल्ला अदालतले फैसलामा लेखेको उपरोक्त धारणाले सन्दीप प्रकरणमा फैसला गर्ने न्यायाधीशलाई पनि नैतिक बल मिल्नसक्छ ।

निष्कर्ष ४ः बालयौन दुव्यर्वहार ठहर्‍याउने आधार

अदालतले पल शाहलाई बलात्कारमा सफाइ दिए पनि उनले बाल यौन दुरुपयोग गरेको ठहर गर्‍यो । यस्तो ठहर गर्नुमा उही अडियो क्लीपलाई अदालतले मुख्य आधार बनाएको छ । सार्वजनिक भएको अडियो क्लीपमा पल शाहले नाबालिगको आफूसँग सम्बन्ध रहेको स्वीकारोक्ति झल्किने भाव व्यक्त गरेका छन् ।

के पललाई जस्तै सन्दीपलाई पनि अदालतले बलात्कारमा सफाइ दिएर बालयौन दुरुपयोगमा दोषी ठहर गर्ला त ? यसका लागि पनि जाहेरीकर्ताले कुनै न कुनै प्रमाण प्रस्तुत गर्नुपर्ने हुन्छ । जस्तोः पल शाहको केसमा अडियो क्लीप थियो ।

पीडितको बयान नफेरिए ?

पल शाहले बलात्कारमा सफाइ पाउनुको एउटा मुख्य कारण थियो जाहेरीकर्ताले बयान फेर्नु । फैसलामा जाहेरीकर्ताले अदालतमा दिएको होस्टाइल बयानलाई नै न्यायाधीशहरुले स्वीकार गरेको देखिन्छ ।

सन्दीप प्रकरणमा चाहिँ पीडितले बयान फेर्ने सम्भावना नरहेको उनीनिकट स्रोतको दाबी छ । उनलाई केही महिला अधिकारवादीहरुले बयान नफेर्न निरन्तर काउन्सिलिङ गरिरहेका छन् । उनले प्रहरीलाई दिएको बयान अदालतमा पनि दोहोर्‍याउँछिन् कि दोहोर्‍याउँदिनन् भन्नेले पनि अदालतको फैसला धेरै प्रभावित हुनसक्ने देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर