दुई सातामै जसपा र लोसपाका ६ सांसद एमालेमा, मधेसमा अरू पनि थपिने दाबी – Nepal Press

दुई सातामै जसपा र लोसपाका ६ सांसद एमालेमा, मधेसमा अरू पनि थपिने दाबी

काठमाडौं । २०७४ सालको आम निर्वाचनमा वाम गठबन्धन र कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै तत्कालीन संघीय समाजवादी फोरम (हाल जसपा)बाट धनुषा २ को प्रतिनिधिसभा सदस्य निर्वाचित भएका उमाशंकर अरगरिया शनिवार एमाले प्रवेश गरे ।

जसपा विभाजनपछि महन्थ ठाकुर नेतृत्वको लोसपामा रहेका संसदीय दलका प्रमुख सचेतक तथा पूर्वमन्त्री अरगरिया आफ्ना सहयोगी नेता कार्यकर्तासहित आफ्नै निर्वाचन क्षेत्रको विदेह नगरपालिकामा आयोजित कार्यक्रमबीच एमाले प्रवेश गरेका हुन् । उनीसँगै ४ हजार समर्थक प्रवेश गरेको दाबी आयोजकको छ ।

अरगरियासँगै जसपा सांसद तथा केन्द्रीय सदस्य अमृता अग्रहरी पनि एमाले प्रवेश गरिन् ।

कपिलवस्तुकी अग्रहरी यसअघि ओली निवास बालकोट पुगेर एमालेमा समाहित भइसकेकी थिइन् । उनी शनिवार धनुषा पुगेर औपचारिक प्रवेश गर्दै एमालेप्रति मधेसीमा रहेको भ्रम अब आफूहरूले तोड्ने दाबी गरिन् ।

उमाशंकर अरगरिया अघिल्लो चुनावमा एमालेमुक्त मधेस अभियानको नेतृत्व गर्थे । उनले शनिवार एमाले प्रवेश गर्दै आफूहरू विगतमा भ्रममा रहेछौँ भन्दै केपी ओलीलाई मधेसले चिन्न बाँकी रहेकोले अब एमालेमय मधेस बनाउने अभियानको नेतृत्व पनि आफूहरूले नै गर्ने बताए ।

प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल सकिँदै गर्दा दुई साताको बीचमा जसपा र लोसपाका ६ जना सांसद एमालेमा प्रवेश गरिसकेका छन् । यसअघि नै लुम्बिनी प्रदेशका दुई सांसद जसपा छाडेर एमाले प्रवेश गरेका थिए । यो संख्या यसै साता थपिने एमाले नेताहरूको दाबी छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको आयु सकिन एक दिन अगाडि मधेस प्रदेशकी जसपा सांसद डा. रीना यादव केपी ओलीको हातबाट टीका लगाएर नेकपा एमालेमा प्रवेश गरेकी थिइन् । जसपा केन्द्रीय सदस्यसमेत रहेकी यादव तत्कालीन राष्ट्रिय जनता पार्टीबाट समानुपातिक सांसद थिइन् । पार्टी विभाजनपछि उनी उपेन्द्र यादव नेतृत्वको जसपामा थिइन् ।

नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका युवा नेता सन्जिव झा लगायतसँगको छलफलपछि उनी एमालेमा प्रवेश गरेकी हुन् । पछिल्लो समय युवा नेता झाको नेतृत्वमा एमालेले मधेशका लोकप्रिय फिगरहरुलाई पार्टीमा प्रवेश गराइरहेको छ ।

सांसद रिना यादव प्रवेश गर्नुअघि जसपाकै सांसद अन्जु कुमारी यादव र रुही नाज पनि धनुषाको आमसभामा एमाले प्रवेश गरेका थिए । रुही नाज प्रतिनिधि सभा सदस्य हुन् भने अन्जु प्रदेश सभा सदस्य हुन् । उनीहरू दुवैलाई एमाले अध्यक्ष ओलीले पार्टीमा स्वागत गरे ।

मधेश प्रदेशका अर्का सांसद प्रल्हाद गिरी पनि नेकपा एमालेमा प्रवेश गरिसकेका छन् ।

पर्साबाट प्रत्यक्ष निर्वाचित गिरी केही दिनअघि अध्यक्ष ओलीलाई भेटेर एमालेमा प्रवेश गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर