शहीदको आँगनमा अचानक ओली, सम्झिए आमा छोरालाई पाल्पा लगेर लुकाएको क्षण (भिडिओ) – Nepal Press

शहीदको आँगनमा अचानक ओली, सम्झिए आमा छोरालाई पाल्पा लगेर लुकाएको क्षण (भिडिओ)

ओली घर पुगेपछि नेकपा एसबाट एमालेमै फर्किए शहीदपुत्र अपराजय

जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिवार शहीदनगर नगरपालिका वडा नम्बर ६ हडबडास्थित शहीद रामनारायण मण्डल (मुडबल)को घरमा पुग्दा एकाएक भाबुक माहोल बन्यो । यसअघि पटक पटक मण्डलको घरमा जाने ओलीको प्रयास सुरक्षा लगायतका कारणले सफल भएका थिएनन् ।

यसपटक लोसपा नेता उमाशंकर अरगरियालाई पार्टी प्रवेश गराउन शनिवार जनकपुर पुगेका ओली एकाएक बाटोमा रोकिए । उनको गाडीमा बसिन् शहीद पत्नी फुलो कुमारी देवी । ओलीले आफूसँगै शहीद पत्नीलाई राखेर घरतर्फ जान इसारा गरे । उनलाई कार्यक्रमस्थलमा लैजान आएका कार्यकर्तालाई शहीदको घरमा पुगेर आउँछु भन्दै ओली अघि बढे ।

शहीद पत्नीको परिचाय गराउँदै उनले धनुषामा तत्कालीन नेकपा माले हुँदै एमाले निर्माण गर्नेमध्येका एक अगुवा रामनारायण मण्डलको हत्यापछि परिवारलाई समेत सखाप पार्न खोजिएको स्मरण गरे । त्यसक्रममा जेठा छोरालाई पोखरीमा डुबाएर मारेपछि आफूले कान्छो छोरासहित आमालाई जोगाउन काठमाडौं लगेको बताए ।

ओलीले भने– रामनारायण मण्डल हडबडा गाविसको अध्यक्ष,उहाँको हत्या भएको थियो । उहाँको ठूलो छोरालाई पोखरीमा फालेर मारे । कान्छो छोरो बचाउन उहाँ र कान्छोलाई काठमाडौं झिकाएर उपचार गरेर पाल्पामा लुकाएर राखेँ । पछि पाल्पा बस्न सक्नुभएन र यता फर्किनुभयो ।

ओलीले पाल्पामा लुकाएर जोगाएका कान्छा छोरा अपराजय मण्डल यसबीचमा पार्टी फुट्दा नेकपा एसतिर लागेका रहेछन् । उनी शहीदनगर नगरपालिका वडा नम्बर ६ बाट नेकपा एसबाट वडाध्यक्ष उम्मेदवार भई दोस्रो भएका रहेछन् । शनिवार ओली घरमै पुगेपछि अपराजित पनि विदेहको कार्यक्रमबाट एमालेमा फर्किए ।

केही बेर आफ्ना जेलसहकर्मी समेत रहेका शहीदको घरमा बसेर ओली फर्किए भने परिवारका सदस्य वर्षौपछि आफूहरुलाई जोगाउने नेतालाई घरकै आँगनमा भेट्दा भाबुक थिए ।

नेपाल प्रेससँग कुरा गर्दै शहीदपुत्र अपराजय मण्डलले भने–केपी बा हाम्रो अभिभावक नै हो । धेरै वर्षदेखि उहाँले भेट्न पाउनुभएको थिएनछ,आज उहाँले नै हामीलाई खोज्नुभयो र घरमा आएर परिवारका सदस्यहरुसँगमात्र प्राइभेट कुरा गर्नुभयो । उहाँले मलाई र आमालाई बचाउनुभएको थियो र मेरो पढाइ गर्नुभएको थियो ।

उनका पिता रामनारायण मण्डलको हत्या २०५३ असोजमा विपक्षी दलका कार्यकर्ताले गरेका थिए । बुबाको हत्यापछि दाइको पनि पोखरीमा फालेर हत्या गरिएको थियो ।

 


प्रतिक्रिया

One thought on “शहीदको आँगनमा अचानक ओली, सम्झिए आमा छोरालाई पाल्पा लगेर लुकाएको क्षण (भिडिओ)

  1. वाड न.6 को नेकपा एमालेको लागि स्वभाग्यको कुरा हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *