नेपालकै ठूलो सामुदायिक वनको निर्वाचनमा गठबन्धनलाई पराजित गर्दै एमाले विजयी – Nepal Press

नेपालकै ठूलो सामुदायिक वनको निर्वाचनमा गठबन्धनलाई पराजित गर्दै एमाले विजयी

रूपन्देही । नेपालकै ठूलो मानिएको रूपन्देहीको बुटवलस्थित चारापाला सामुदायिक वन उपभोक्ता समूहको नयाँ नेतृत्वको लागि शुक्रबार भएको निर्वाचनमा सत्ता गठबन्धनलाई पराजित गर्दै एमाले समर्थित जगतनाथ पौडेल निर्वाचित भएका छन् ।

वनको ९ औं अधिवेशनमा एमाले नेतृत्वको प्यानल नैं विजयी भएको हो । सत्तारूढ गठबन्धनबाट कांग्रेसका उम्मेदवार घनश्याम चालिसेलाई ५ मतले पराजित गर्दै अध्यक्षमा पौडेल निर्वाचित भएका हुन् ।

पौडेलले १६४ ल्याउँदा चालिसेले १५९ मत मात्र ल्याउन सके । त्यस्तैगरी उपाध्यक्षमा रामकुमार १५७ मतका साथ विजयी हुँदा प्रतिष्पर्धी १५२ मत ल्याए ।

त्यस्तैगरी सचिवमा दुर्गा पाठक पाण्डे १५८ मतका साथ विजयी भएकी छिन् । उनका प्रतिष्पर्धी रीता पौडेलले १४८ मत ल्याइन् । सहसचिवमा कमलप्रसाद अधिकारी १४३ मतका साथ विजयी हुँदा उनका प्रतिष्पर्धी रामप्रसाद पाण्डे १२४ मत ल्याउन सके । कोषाध्यक्षमा राजु गौडेल १५५ मतले विजयी भए भने उनका प्रतिष्पर्धी रुद्र प्रसाद शर्मा १३३ मत ल्याएको मुख्य निर्वाचन अधिकृत प्रकाशमणि खनालले जानकारी दिए ।

त्यस्तैगरी सदस्यमा कूलबहादुर विक, नरबहादुर विक पुनम थापा राई, कल्पना आचार्य र धन कुमारी थारू निर्वाचित भएका छन् । लेखा समितिको संयोजकमा चुडामणि पौडेल र सदस्यहरु कृष्णप्रसाद घिमिरे, राधा घिमिरे र सीता कुँवर छन् । राधा र सीताको मत बराबर आएको छ भने न्यायिक समिति संयोजकमा पूर्णप्रसाद काफ्ले र सदस्यमा जग बहादुर थारु र देवी न्यौपाने रहेका छन ।

१४ हजार उपभोक्ताबाट १६ उपसमिति अन्तर्गत छनौट भएका ३३६ जना परिषद सदस्यले मतदान गरेका थिए । जसमा ३३३ मत खसेको थियो । नवनिर्वाचितअध्यक्ष पौडेलले विकास विकाससँगै गरिबी निवारण आफ्नो प्राथामिकता रहेको बताए । वनको क्षेत्रफल १ हजार १० हेक्टर रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर