भरत खड्का भन्छन्- शेखर समूहले ७७ जिल्लामा उम्मेदवारी दिने हैसियत राख्नुपर्छ (भिडिओ) – Nepal Press

भरत खड्का भन्छन्- शेखर समूहले ७७ जिल्लामा उम्मेदवारी दिने हैसियत राख्नुपर्छ (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसको नेता भरत खड्काले शेखर कोइराला समूहले ७७ वटै जिल्लामा उम्मेदवारी दिने हैसियत राख्नुपर्ने बताएका छन् ।

शेखर समूहले आज काठमाडौंमा आयोजना गरेको खबरदारी सभामा बोल्दै उनले पार्टीभित्र अहिलेको अवस्थामा न्याय नहुने भन्दै यस्तो बताएका हुन् ।

‘यहाँभित्र न्याय हुँदैन । त्यो पर्खाइमा जाने हो भने ढिला हुन्छ । ढिलाइ गरे पार्टी विघटनतर्फ पनि जान सक्छ,’ उनले भने,‘त्यसैले हामीले ७७ जिल्लामै उम्मेदवारी दिने निर्णय गर्नुपर्छ ।’

अहिले पार्टीको टिकट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको हातमा रहेको भनेर नेता खड्काले कटाक्ष गरे ।

‘मेरो टिकट बाँड्ने प्रचण्ड जी वाह । हाम्रो टिकट प्रचण्ड जी बाँड्नुहुन्छ, माधवजी बाँड्नुहुन्छ । हाम्रो टिकट त पार्टी सभापति शेरबहादुर देउवाजीले बाँड्ने हो नि,’ उनले भने ।

पार्टी सभापति देउवासँग अझै पनि समय रहेको बताउँदै उनले पार्टी एक ढिक्का बनाएर लैजान आग्रह गरे । पार्टी एक ढिक्का भए गठबन्धन पनि नचाहिने उनको भनाई छ ।

उनले भने, ‘पार्टी सभापतिज्यूसँग अहिले पनि समय छ, पार्टीलाई एकताबद्ध बनाएर अगाडि लगेर जाने हो भने ठाउँ छ । यदि त्यो भएन भने यो टिमले बाहिर आएर ७७ वटै जिल्लामा उम्मेदवारी दिने हैसियत राखोस् ।’


प्रतिक्रिया

One thought on “भरत खड्का भन्छन्- शेखर समूहले ७७ जिल्लामा उम्मेदवारी दिने हैसियत राख्नुपर्छ (भिडिओ)

  1. जनयुद्व भनेर काँग्रेस नै सिध्याउने अनि अहिले पनि टिकटको नाममा काँग्रेस नै सिध्याउने प्रचण्ड काँग्रेसका नेता भएपछि वास्तविक काँग्रेसको हालत त यस्तै हुन नै भयो । देउवालाई पार्टी चाहिदैन आफूले पाउनुपर्यो । पहिला पनि पार्टी फुटाएकालाई पार्टीको के माया ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर