आफ्ना प्राथमिकताका क्षेत्र सुनिश्चित गरेर विदेशी सहयोग लिनुपर्छ : माओवादी सचिव कार्की – Nepal Press

आफ्ना प्राथमिकताका क्षेत्र सुनिश्चित गरेर विदेशी सहयोग लिनुपर्छ : माओवादी सचिव कार्की

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सचिव राम कार्कीले नेपालले आफ्ना प्राथमिकताका क्षेत्र सुनिश्चित गरेर मात्रै विदेशी सहयोग लिनुपर्नेमा जोड दिएका छन् । चीनले अगाडि सारेको ‘बिआरआई’परियोजना विश्व व्यवस्थालाई परिमार्जन गर्न ल्याइएको बताउँदै उनले यस्तो बताएका हुन् ।

शुक्रबार संघीय राजधानी काठमाडौंको संवाद डबलीमा लेखक भानु भण्डारीद्धारा लिखित ‘भूराजनीति’ नामक पुस्तक विमोचन गर्दै पूर्व सञ्चारमन्त्री कार्कीले चीनले पुँजीवादी व्यवस्थामा आफ्नो भूमिका मात्रै नखोजेर त्यसलाई परिमार्जित गर्न खोजिरहेको बताए । तर, उसका प्रतिद्वन्दीले आजको विश्व व्यवस्थालाई चीनले धराशाही बनाउन खोजेको आरोपसहित घेराबन्दी गर्न थालेको उनको भनाई थियो ।

कार्कीले नेपालले परम्परागत राजनीतिक मान्यतालाई तोड्नुपर्ने बताएका छन् । नेपालको परराष्ट्र नीति भनेको घरेलु नीति भएको भन्दै त्यसको प्रभाव बाहिरपर्ने उनले बताए ।

उनले भने, ‘नेपाल जुन भौगोलिक अवस्थितिमा छ, त्यसका राम्रा र नराम्रा दुबै पक्ष छन् । मुख्य कुरा भनेको नेपालले कस्तो परराष्ट्र नीति बनाउँछ भन्ने कुरा हो । घरेलु नीतिको विस्तारित रुप नै परराष्ट्रनीति हो । नेपालले स्वतन्त्र परराष्ट्र नीति बनाउनुपर्छ ।’ विगतमा भूराजनीतिको गाँठो परेको बेला नेपालले शान्ति क्षेत्रको क्षेत्रको प्रस्ताव ल्याएको बताउँदै पुनः त्यही अवस्था आएको बताए ।

विगतको भन्दा दक्षिण एसियामा जटिल राजनीतिक अवस्था सिर्जना भएको बताउँदै कार्कीले भने, ‘आज दक्षिण एसियामा जटिल अवस्था सिर्जना भएको छ । अमेरिका आफ्नो बर्चस्व कायम राख्न चाहन्छ र त्यसलाई विस्तार गर्न चाहन्छ । बर्चस्व कायम राख्न र विस्तार गर्न अमेरिकाले चीनलाई बाधक देखेको छ । अर्कोतिर आफ्नो उद्देश्यका लागि अमेरिकाले भारतलाई रणनीतिक साझेदार बनाउन खोजेको छ । हाम्रा दक्षिणको छिमेकी अमेरिकाको साझेदार बन्ने र उत्तरको छिमेकी अमेरिकाको विरोधी बन्ने अवस्था सिर्जना भएको छ । यस्तो अवस्थामा नेपालले आफ्नो सार्वभौमसत्तालाई सुनिश्चित गर्नको लागि स्वतन्त्रताको नीति लिनुपर्छ ।’

कार्यक्रममा बोल्दै कार्कीले नेपालमा २०४६ सालयता यो वा त्यो बहानामा पुँजीवादी व्यवस्था चलिरहेको बताउँदै त्यसलाई ब्रेकथ्रु गर्नुपर्ने बताए ।


प्रतिक्रिया

One thought on “आफ्ना प्राथमिकताका क्षेत्र सुनिश्चित गरेर विदेशी सहयोग लिनुपर्छ : माओवादी सचिव कार्की

  1. भारतले जे ल्याए पनि लिईहाल्नुपर्छ भनछन यिनले । चीनले गर्ने सहयोग चाहिँ राम्रै भए पनि स्विकारदैनन र भाँज‍ो हाल्छन् । यस्तैलाई भन्ने हो भारतीय दलाल र दुतावासबाट रकम बुझ्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर