अडियो क्लीप नै बन्यो पलमाथि सजायको आधार ! अदालतले प्रेम ठहर्‍यायो, यसकारण ठहर्‍याएन बलात्कार (फैसलाकाे पूर्णपाठ) – Nepal Press

अडियो क्लीप नै बन्यो पलमाथि सजायको आधार ! अदालतले प्रेम ठहर्‍यायो, यसकारण ठहर्‍याएन बलात्कार (फैसलाकाे पूर्णपाठ)

काठमाडौं । अभिनेता पल शाहलाई साढे दुई वर्षको जेल सजाय सुनाएसँगै यस फैसलालाई लिएर विभिन्न ढंगका प्रश्न उब्जेका थिए । आज फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ, जसमा ती प्रश्नहरुको जवाफ भेटिन्छ ।

अदालतले पललार्ई बलात्कारको आरोपमा सफाइ दिएको छ । तर, उनले नाबालिगमाथि यौन दुर्व्यवहार गरेको ठहर्‍याउँदै अढाइ वर्षको जेल सजाय र १० लाख रुपैयाँ क्षतिपूर्ति तिनुपर्ने फैसला गरेको हो । बलात्कार नभएको निष्कर्षमा कसरी पुग्यो त अदालत ?

फैसलामा उल्लेख भएअनुसार अदालतलाई प्राप्त प्रमाणहरु बलात्कार पुष्टि गर्नका लागि पर्याप्त भएनन् । मेडिकल रिपोर्टले पीडितको कन्याजाली च्यातिएको देखाएको भए पनि यौन सम्बन्धकै कारण च्यातिएको मान्न नसकिने न्यायाधीशको तर्क छ ।

फैसलामा भनिएको छ, ‘कुनै अपवादमा बाहेक जबरजस्ती करणीका घटनामा पीडित र पीडकबाहेक अन्य व्यक्तिहरुको त्यसमा प्रत्यक्ष संलग्नता रहेको हुँदैन । त्यसैले सामान्य अवस्थामा करणीको कसूरका प्रत्यक्षदर्शी भनेका पीडक र पीडित नै हुन् । त्यसकारण जबरजस्ती करणीको कसूरको प्रत्यक्ष प्रमाण भनेको पीडित स्वयम् नै रहने र भौतिक सवुत प्रमाणको रुपमा निजको मौकाको स्वास्थ्य जाँच प्रतिवेदन नै मुख्य रुपमा रहने हुन्छ ।’

इजलासले मिसिलबाहिर गएर अनुमानको अधारमा प्रमाण नभए पनि यसो हुन सक्ला भनि अनुमानको भरमा निर्णय नगर्ने फैसलामा उल्लेख छ । फौजदारी विवादको हकमा प्रतिवादीमाथि लगाइएको आरोप वादी पक्षबाट शंकारहित तवरले पुष्टि हुनुपर्ने अदालतको तर्क छ ।

‘यस घटनामा वादी पक्षले शंकारहित तवरबाट करणीको वारदात स्थापित भएको हो भनि स्वतन्त्र र वस्तुनिष्ट प्रमाणहरु अदालतसमक्ष पेस गर्न सकेको देखिँदैन,’ फैसलाको ठहर खण्डमा भनिएको छ, ‘अनुमानको आधारमा करणी लिनु दिनु भएको भनि तथ्य मिसिलमा आधारित नभई प्रतिवादी उपर कसूर टहर गर्न मिल्ने देखिएन ।’

कन्याजाली च्यातिएको सन्दर्भमा पिडितले नै आफू सानैबाट साइकल चलाउने र अरुलाई सिकाउने पनि गरेको भनि बयान दिएको फैसलामा उल्लेख छ ।

‘जाहेरी दरखास्त परेपछि गरिएको पीतडिको शारीरिक परीक्षण प्रतिवेदनमा Hymen: Healed scratch with Hymeneal injury at 7 & 5 O’clock position भन्ने रहेको र निको भइसकेको पुरानो दाग त्यसमा रहेको भन्ने देखिन्छ । यस सम्बन्धमा पिडितको स्वास्थ्य जाँच परीक्षण गर्ने विशेषज्ञहरुले बकपत्र गर्दा योनीको कन्याजालीको 7 & 5 O’clock मा त्यसरी दाग देखिनुका धेरै कारणहरु हुन्छन्, जस्तो, साइकल चढाउँदा, रुख चढ्दा, भलिबल फुटबल खेल्दा, दौडदा उफ्रदा, शारीरिक सम्पर्क गर्दा, हस्तमैथुन गर्दा भनि लेखाइदिएको देखिन्छ,’ फैसलामा भनिएको छ ।

प्रेम र यौन दुर्व्यवहार ठहर

अदालतले बलात्कारमा सजाय दिए पनि पल र नाबालिग प्रेमसम्वन्धमा रहेको तथा पलले नाबालिगलाई शारीरिक दुर्व्यवहार गरेको भने ठहर्‍याएको छ । यो ठहरमा अदालतले सबैभन्दा बलियो आधार बनाएको छ, अडियो क्लीपलाई । तीनै अडियो क्लीप जुन सामाजिक सञ्जालमा भाइरल भएका थिए । केही क्लीप पल आफैंले फेसबुकमा हालेका थिए ।

एउटा अडियो क्लीपमा पलले नाबालिगसँग शारीरिक सम्वन्ध रहेको स्वीकारोक्ति झल्किने संवाद रहे पनि त्यसलाई नै अदालतले ठोस प्रमाण मानेन । तर, त्यही संवादका आधारमा उनीहरुबीच प्रेम सम्बन्ध रहेको र पलले यौन दुर्व्यवहार गरेको निष्कर्ष अदालतले निकालेको हो । यसका साथै पल र नाबालिकबीच भएका केही च्याटका स्क्रिनसटलाई पनि आधार बनाइएको फैसलामा उल्लेख छ ।

‘अडियो क्लीपमा रहेको अश्लिल संवाद र प्रेमी-प्रेमिकाबीच हुने सम्बन्ध तथा कस्तो अवस्थामा विवाह गर्नुपर्ने हुन्छ भन्ने विषयसमेत समेटिएको संवादबाट मान्न र अनुमान र्ग सकिने अवस्था देखिएन,’ फैसलामा भनिएको छ ।

फैसलामा उल्लेख भएअनुसार पलले अडियो क्लीपमा भएको आवाज आफ्नो भएको स्वीकारेका छन् ।

‘यो वारदातपछि पनि पीडित र प्रतिवादीबीचमा निरन्तर एसएमएस आदानप्रदान र फोन सम्पर्कहरुसमेत हुँदै आएकोमा त्यसै क्रमको सिलसिलामा मध्ये बानेश्वरमा पीडित र प्रतिवादीहरुबीचको संवाद एवं छलफलको अडियो क्लीप बनाइएको समग्र अवस्थाले यी प्रतिवादी र पीडित प्रेमी प्रमिका जस्तो सम्बन्धमा रहे बसेको देखिन्छ ।’ फैसलामा भनिएको छ ।

नाबालिगले कसैको प्रलोभनमा परेर वा आरोपीको करिअर समाप्त पार्ने उद्देश्यले मात्र जाहेरी दिएको अनुमान गर्न नमिल्ने इजलासले जनाएको छ ।

फैसलाकाे पूर्णपाठ:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर