युवाहरूलाई ओलीले भने- एमालेविरुद्ध मिडिया र सामाजिक सञ्जालबाट प्रहार हुँदैछ, अरिंगाल बनेर ध्वस्त पार्नुहोस् (भिडिओ) – Nepal Press

युवाहरूलाई ओलीले भने- एमालेविरुद्ध मिडिया र सामाजिक सञ्जालबाट प्रहार हुँदैछ, अरिंगाल बनेर ध्वस्त पार्नुहोस् (भिडिओ)

‘५० वर्षअघिको बैँस निकालेर अधिनायकवाद विरुद्ध लड्न तयार छु’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीविरुद्ध भ्रम फैलाउनेहरूमाथि अरिंगाल भएर खनिन युवा पंतिलार्ई निर्देशन दिएका छन् । मिडिया र सोसल मिडिया प्रयोग गरेर एमालेमाथि प्रहार हुन सक्ने भन्दै उनले सचेत गराए ।

आज पार्टीको भातृ संगठन युवा संघ नेपालको राष्ट्रिय प्रचार भेलामा बोल्दै ओलीले पार्टीका युवाहरूले बाहिरबाट भइरहेको आक्रमणको सशक्त प्रतिवाद नगरेको गुनासो गरेका थिए ।

उनले भने, ‘कहिले साइबर सेना, कहिले साइबर सर्कल भन्या सुन्छु । तर न सेना बन्यो न सर्कल बन्यो । अस्ति भर्खर पार्टीका एक जना नेताविरुद्ध धूमधामको आक्रमण भयो । तर, कोही बोल्दै बोलेन । मानिलिऊँ उ एक्लै छ जस्तो परिस्थिति सिर्जना भयो । कतिपय त आफ्नै साथीहरू पनि विपक्षीको भड्काउमा लागे ।’

ठूलो बलिदानी र संघर्षपछि ल्याएको लोकतन्त्र एक–दुईजनाको लहडको विषय हुन नसक्ने ओलीले बताए ।

‘एक–दुईजनालाई लहड चल्यो भने कानून मिचेर चल्न पाइन्छ ? उनीहरूका यस्ता क्रियाकलापको विरुद्ध हामी नबोल्ने हो भने को बोल्छ ? त्यस कारण कडा प्रहार जरुरी छ । अधिनायकवादी, तानाशाही व्यवहार सरकारले देखाउँछ भने, गठबन्धनको धम्की देखाउँछ भने जहिलेसुकै लड्न तयार हुनुपर्छ ।’

आफूले विगतमा पार्टीका युवालाई अरिंगल भएर जाइलाग्न दिएको निर्देशन पनि ओलीले सम्झिए ।

‘मैले त्यसो भन्दा मान्छेहरूलाई के के न भयो । अहिले पनि भन्छु, अरिंगल लगाउने नै हो । हाम्राविरुद्ध सारा सञ्चारमाध्यम लगाउनुहुन्छ, झुसे बारुला भएर खनिनुहुन्छ भने हामी अरिंगाल बन्न नहुने ? हाम्रा विरुद्ध फैलाउने झूट, भ्रम र गलत प्रचारलाई अरिंगल बनेरै ध्वस्त पार्नुपर्छ । फेरि ६ महिना कराउन् यिनीहरू । एमालेको युवा पंति अरिंगाल हो । कराइराखुन्,’ ओलीले भने ।

अहिले पनि अधिनायकवादका विरुद्ध लड्नका लागि आफूसँग युवा जोश रहेको उनले बताए । विगतमा आफूले जुंगा कालो हुन थालेको कुरा गर्दा मानिसहरू डराएको पनि टिप्पणी गरे ।

‘मेरो जुंगा कालो कालो हुन थाल्या छ भन्दा यति डराए कि दुई चार महिना जुंगाको पछाडि कुदे । मैले कालो त दल्या थिएन । अहिले पनि म भन्छु लोकतन्त्रको रक्षाका लागि लड्नुपर्‍यो भने मेरो उमेर ५० वर्ष अगाडि फर्किन्छ । ५० वर्षअगाडिको बैंश निकालेर अधिनायकवादका विरुद्ध लड्न तयार छु । जस्तासुकै परिस्थितिको सामना गर्न तयार छु । यो देशको लागि बलिदान हुन अहिले पनि तयार छु ।’ ओलीले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर