सत्ता गठबन्धनसँग लोसपाको ‘च्याप्टर क्लोज’, एमालेसँग तालमेल गर्न वार्ता टोली गठन – Nepal Press

सत्ता गठबन्धनसँग लोसपाको ‘च्याप्टर क्लोज’, एमालेसँग तालमेल गर्न वार्ता टोली गठन

राजेन्द्र महतो भन्छन्- नागरिकता अध्यादेश हिजो एमालेले ल्याउँदा यिनै गठबन्धनवालाले रोकेका हुन्

जनकपुरधाम । नागरिकता विधेयकका कारण एमालेलाई मधेसमा एक्ल्याउने प्रयास भइरहेका बेला मधेसवादीमध्ये दोस्रो ठूलो दल लोकतान्त्रिक समाजवादी पार्टीले आगामी चुनावमा एमालेसँगै तालमेलको प्रयास थालेको छ । पाँच दलीय सत्ता गठबन्धनमा सामेल हुन खोजेको लोसपालाई गठबन्धनले सीट बाँडफाँटमा भाग दिन नसकेपछि एमालेसँग चुनावी तालमेलको लागि वार्ता अघि बढाउने निर्णय लोसपाले गरेको हो ।

लोसपाले एमाले लगायतका दलहरुसँग सहकार्य गर्न वरिष्ठ नेता राजेन्द्र महतोको संयोजकत्वमा समिति गठन गरेको छ । एमाले लगायतका विचार मिल्ने दल भनिए पनि लोसपाले बनाएको वार्ता टोली मुलतः एमालेसँग तालमेलका लागि नै सक्रिय रहनेछ । समितिमा शरतसिंह भण्डारी, अनिल कुमार झा, सर्वेन्द्र नाथ शुक्ल, लक्ष्मण लाल कर्ण र जितेन्द्र सोनल सदस्य छन् । शुक्ल यसअघि नै एमालेसँग तालमेलका लागि उपाध्यक्ष विष्णु पौडेल लगायतका नेताहरुसँग संवादमा छन् ।

नेकपा एमाले लगायतका अन्य विचार मिल्ने पार्टीहरुसंग सहकार्य गर्न समिति गठन गरिएको लोसपा अध्यक्ष महन्थ ठाकुरले उल्लेख गरेका छन् ।

यसअघि प्रमुख सचेतक उमाशंकर अरगरियाको नेतृत्वमा अन्य दलसंग सहकार्य गर्न लोसपाले समिति गठन गरेको थियो । तर वार्ता टोलीका संयोजक अरगरिया नेकपा एमालेमा प्रवेश गर्ने भएपछि लोसपाले महतोको संयोजकत्वमा उच्चस्तरीय समिति बनाएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर