नेपाली मुद्रा इतिहासकै कमजोर अवस्थामा, मूल्यवृद्धि आकासिने – Nepal Press

नेपाली मुद्रा इतिहासकै कमजोर अवस्थामा, मूल्यवृद्धि आकासिने

काठमाडौं । नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार शुक्रवार एक अमेरीकी डलरलाई खरिद गर्न १२९.०८ रुपैयाँ खर्च गर्नुपर्ने भएको छ ।

डलर महँगो हुनु भनेको डलरसँग नेपाली मुद्राको अवमूल्यन (डिप्रिसियसन) हो । अहिले नेपाली मुद्रा अमेरिकी डलरको तुलनामा इतिहासकै सबैभन्दा कमजोर अवस्थामा छ ।

नेपालको अर्थतन्त्र आयातमुखी अर्थतन्त्र हो । डलरको मूल्य बढेसँगै अब त्यति नै डलरको सामान आयात गर्नुपर्दा बढी नेपाली रुपैयाँ तिर्नुपर्नेछ ।

अवमूल्यनले आयात खर्च बढाउने भएकाले आयातित सामानको मूल्य पनि सोही बमोजिम बढ्ने विज्ञहरूको भनाइ छ । डलर बलियो हुँदा यसले नेपालको मूल्यवृद्धिमा प्रत्यक्ष असर गर्छ ।

नेपाल राष्ट्रबैंकका पूर्वगर्भनर दीपेन्द्र बहादुर क्षेत्री डलरको मूल्य बढ्दा महँगी बढ्ने बताउँछन् । तर अर्कोतर्फ रेमिट्यान्स भने बढाउने उनले भने । वैदेशिक रोजगारमा गएकाहरूले डलर पठाउने भएकाले त्यो नेपालमा आउँदा उच्च हुने क्षेत्रीले बताए ।

दसैँ नजिकिँदै छ । डलरको मूल्य लगातार उकालो लागिरहेको छ । यसले दशैको मुखमा हुने मूल्यवृद्धि आम उपभोक्ताको ढाड सेक्नेछ ।

नेपाल राष्ट्र बैंकका अनुसार नेपालको भारतसँग स्थिर विनिमयदर भएकाले भारतको मुद्रा कमजोर हुनेवित्तिकै नेपालमा त्यसको असर देखिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर