अर्थले ब्याजदरको विषयमा राष्ट्र बैंकसँग गम्भीर छलफल गर्ने, के गर्छन् गभर्नर ? – Nepal Press

अर्थले ब्याजदरको विषयमा राष्ट्र बैंकसँग गम्भीर छलफल गर्ने, के गर्छन् गभर्नर ?

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बैंकहरुको ब्याजदर घटाउन नेपाल राष्ट्र बैंकसँग गम्भीर छलफल गर्ने भएका छन् । अर्थमन्त्री शर्माले एक सार्वजनिक कार्यक्रममा राष्ट्र बैंकसँग आगामी साता गम्भीर छलफल गर्ने बताएका हुन् । यसका लागि उनले अर्थ सचिवलाई निर्देशनसमेत दिइसकेका छन् ।

अहिले बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएपछि उद्योगी व्यवसायीले अर्थ मन्त्रालय गुहारेका छन् । अर्थमन्त्री उपस्थित कार्यक्रममा उद्योगी व्यवसायीले ब्याजदरका विषयमा गुनासो पोख्न छुटाउँदैनन । अहिले उनीहरुको ध्यान कसरी ब्याजदर कम गराउने भन्नेतर्फ रहेको अर्थ मन्त्रालयका अधिकारी बताउँछन् ।

उसो त अर्थ र राष्ट्र बैंकबीच सम्बन्ध सुध्रिसकेको छैन । केही दिनअघि मात्र निक्षेप तथा कर्जा सुरक्षण कोषको वार्षिकोत्सवमा अर्थमन्त्री शर्मा र गभर्नर महाप्रसाद अधिकारी उपस्थित थिए । उनीहरुको उपस्थितिले सम्बन्धमा अझै दरार देखाउँथ्यो । अर्थमन्त्री शर्माले गभर्नर अधिकारीको नमस्कारसमेत फर्काएका थिएनन् । पटक-पटक बोल्न खोज्दा पनि अर्थमन्त्रीले वास्ता गरेनन् ।

अहिले फेरि ब्याजदरकै विषयलाई लिएर आगामी साता अर्थ, राष्ट्र बैंक, उद्योगी व्यवसायी र बैंकरहरुलाई मन्त्रालयले छलफल राख्दैछ । केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत ब्याजदर बढाउन सक्ने स्पेश दिएपछि वाणिज्य बैंकहरुले यही असोज १ बाट लागू हुने गरी मुद्दती निक्षेपको ब्याजदर बढाइसकेका छन् ।

निक्षेपकै ब्याजदर १२.१३ प्रतिशत पुगिसकेको छ । रेमिट्यान्स मुद्दतीमा १५ प्रतिशत नाघेको छ । यसले कर्जाको ब्याजदर झन महंगो बनाएको छ । झण्डै १९ प्रतिशतको हाराहारीमा बैंकहरुले कर्जामा ब्याज लिइरहेका छन् । यसले उद्योगी व्यवसायीहरुले टिक्न नसकिने बताउँदै आएका छन् ।

ब्याजदर घटाएरै छाड्ने पक्षमा अर्थमन्त्री

अर्थमन्त्रीले सचिवलाई ब्याजदर घटाउन पहल गर्न निर्देशन दिइसकेका छन् । अर्थमन्त्री शर्मा उद्योगी व्यवसायीलाई रिझाएरै अघि बढ्ने पक्षमा देखिएका छन् । ब्याजदर वृद्धिको चौतर्फी आलोचनासमेत भइरहेको छ । आगामी साता गम्भीर छलफल हुने र यसबाट निष्कर्ष निकालेरै छाड्ने पक्षमा मन्त्री देखिएका छन् ।

जुन देशमा बैंकमा पैसा राखेर आम्दानी लिन पाइन्छ भने त्यो देशमा उत्पादन कसरी सम्भव होला भन्ने प्रश्न गर्दै उनले भने, ‘अहिलेको समस्या यहीनेर छ । यो समस्यालाई जसरी पनि हल गर्नुछ । किनभने बैंकमा राख्दा १२/१३ प्रतिशत आम्दानी हुन्छ । उद्योगमा लगाउँदा १० प्रतिशत आउला । त्यता १३ आउँछ भने उद्योगमा किन लगाउने भन्ने भएको छ । यता जग्गामा लगानी गर्दा दुई गुणा हुन्छ । अनि उत्पादन क्षेत्रमा किन लगानी गर्ने भन्ने जस्तो भएको छ । अब यसरी हुँदैन । नीतिहरु कडाइका साथ कार्यान्वयन गर्नुपर्ने वेला आएको छ ।’

यस विषयमा फेरि अर्थमन्त्री शर्माले गभर्नर अधिकारीलाई गुहार्नुपर्नेछ । गर्भनरलाई सरकारी सूचना चुहाएको र वर्तमान अथर्तन्त्रमा देखिएका समस्या समाधानमा ‘सिरियस’ नबनेको आरोप अर्थमन्त्रीले पहिल्यै लगाएका थिए । यही कारण देखाउँदै गभर्नरलाई निलम्बन गरिएको थियो । पछि गर्भनरले सफाइसमेत पाए । अर्थमन्त्रीले आफूलाई फसाएको भन्दै फेरि गभर्नरले अर्थमन्त्रीलाई फसाउन भूमिका खेलेको आरोप छ ।

यद्यपि, यी दुबैले सफाइ पाइसकेर आ-आफ्नो भूमिकामा फर्किसकेका छन् ।

ब्याजदरमा ब्याक होलान् त बैंक ?

६ महिनापछि ब्याजदर बढाएका बैंकहरु फेरि ब्याजदर घटाउन सहमत होलान् या नहोलान् भन्ने प्रश्न उब्जिएको छ । नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्याय ब्याजदर घटबढ हुने विषय छलफलपछि मात्र टुंगो लाग्ने बताउँछन् ।

कृषि विकास बैंकका सीईओसमेत रहेका उपाध्यायले नेपालप्रेससँगको कुराकानीमा ब्याजदर घटाउन सकिने ठाउँ हुँदा बैंकहरुलाई घटाउन कुनै समस्या नभएको प्रतिक्रिया दिए । उनले भने, ‘कसरी घटाउने भन्ने विषय छलफलमा त आउँला नि !’

बैंकहरुमा लगानीयोग्य रकमको अभाव अझै टरेको छैन । बैंकहरु निक्षेप आकर्षित गर्न ब्याजदर वृद्धिको प्रतिस्पर्धामा उत्रिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर