पाकिस्तानद्वारा विकेट नगुमाई २०० रनको लक्ष्य पूरा, टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा बन्यो कीर्तिमान – Nepal Press

पाकिस्तानद्वारा विकेट नगुमाई २०० रनको लक्ष्य पूरा, टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा बन्यो कीर्तिमान

नयाँ दिल्ली। पाकिस्तानले इङ्ल्यान्डविरुद्ध बिहीबार साँझ २०० रनको लक्ष्य विकेट नगुमाई पूरा गरेर टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनायो । यसअघि यति ठूलो लक्ष्य विकेट नगुमाई पूरा भएको थिएन ।

पाकिस्तानको यो ऐतिहासिक सफलतामा कप्तान बाबर आजम र विकेटकिपर मोहम्मद रिजवान नायक बने । आजमले ६६ बलमा ११० र रिजवानले ५१ बलमा ८८ रन बनाए । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पूरा भएको सबैभन्दा ठूलो लक्ष्य भने यो होइन ।

चार वर्षअघि अस्ट्रेलियाले न्युजिल्यान्डले दिएको २४४ रनको लक्ष्य पूरा गरेको थियो । सात बल बाँकी रहँदै पाँच विकेट गुमाएर अस्ट्रेलियाले उक्त लक्ष्य भेट्टाएको थियो ।

त्यस खेलमा अस्ट्रेलियाका प्रारम्भिक ब्याट्सम्यानद्वय डीआर्की सर्टले ७६ र डेभिड वार्नरले ५९ रन बनाएका थिए । उनीहरुले पहिलो विकेटका लागि ८.३ ओभरमा १२१ रनको साझेदारी गरेका थिए ।

सन् २०१६ अगस्ट २७ तारिखमा वेस्ट इन्डिजले दिएको २४५ रनको लक्ष्य पछ्याउने क्रममा भारत एक रनले पराजित भएको थियो । भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २४४ रन जोडेको थियो । लक्ष्य पछ्याउने टोलीले बनाएको यो दोस्रो सर्वाधिक उच्च योगफल थियो ।

त्यतिवेला भारतको पालीमा केएल राहुलले ५१ बलमा ११० रन र रोहित शर्माले २८ बलमा ६२ रन बनाएका थिए । वेस्ट इन्डिजबाट एविन लेविसले ४९ बलमा १०० र जोनसन चार्ल्सले ३३ बलमा ७९ रन जोडेका थिए ।

गत जुनमा मात्र बुल्गेरियाले सर्बियाले प्रस्तुत गरेको २४३ रनको लक्ष्य पूरा गरेको थियो । बुल्गेरियाले त्यस खेलमा लक्ष्य पूरा गर्दा बनाएको २४६ रन टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा लक्ष्य पछ्याउने टोलीले बनाएको विश्व कीर्तिमान योगफल हो ।

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने विश्व कीर्तिमान भने अफगानिस्तान र चेक गणतन्त्रको नाममा छ । अफगानिस्तानले सन् २०१९ मा आयरल्यान्डविरुद्ध २७८ रन बनाएको थियो ।

सोही वर्ष चेक गणतन्त्रले टर्कीविरुद्ध पनि २७८ रन जोडेको थियो । अस्ट्रेलियाले श्रीलंकाविरुद्ध २६३, श्रीलंकाले केन्याविरुद्ध २६०, भारतले श्रीलंकाविरुद्ध २६० र चेक गणतन्त्रले बुल्गेरियाविरुद्ध २५८ रन बनाएको थियो ।

पाकिस्तानले २३२, न्युजिल्यान्डले २५४, दक्षिण अफ्रिकाले २४१ र इङ्ल्यान्डले २४१ रनसम्म बनाएको इतिहास छ। नेपालले पनि २३८ रनसम्म जोडेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर